दाङमा सर्प महोत्सव गरिँदै



दाङ ।

तुलसीपुरमा सर्पको संरक्षण र वातावरण सन्तुलन कायम राख्नका लागि सर्प महोत्सवको आयोजना गरिने भएको छ । ‘हामी संरक्षणको लागि काम गछौँ’ नामक संस्थाले सो महोत्सवको आयोजना गर्न लागेको हो । महोत्सव कात्तिक ८, ९ र १० गते राप्ती शान्ति उद्यानमा हुनेछ ।

यस क्रममा विभिन्न कार्यक्रमहरूको आयोजना गरिनेछ, जसमा विषालु सर्पहरूको प्रदर्शन, विषालु र अविषालु सर्पको पहिचान गर्ने तरिका र मानव–सर्पबीचको द्वन्द्व न्यूनीकरणका उपायहरू समावेश हुनेछन् ।

प्रमुख गतिविधिहरूमा सर्पबाट बच्ने उपायहरूको जानकारी र सर्पले टोकेपछि प्राथमिक उपचारका बारेमा सर्पदंशमै काम गरेका चिकित्सकहरूको सचेतना कार्यक्रम पनि हुनेछ । यसले सहभागीलाई सर्पदंशको प्रभाव र उपचार प्रक्रियाबारे ज्ञान लिने अवसर प्रदान गर्नेछ ।

महोत्सवको उद्देश्य मानव र वन्यजन्तु बीचको सम्बन्धमा सचेतना ल्याउनु र सर्पको महत्वलाई बुझाउनु रहेको सर्प उद्धारकर्ता तथा अभियन्ता प्रभात भण्डारीले जानकारी दिए ।

सर्प महोत्सवमा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर र दंगीशरण गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८ देखि माथिका विद्यार्थीहरू, स्थानीय पालिका, वडा र टोलका प्रतिनिधिहरूलाई विषालु र अविषालु सर्पको पहिचान गराइनेछ ।

महोत्सवमा २० हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ, जसले स्थानीय समुदायमा सर्पको संरक्षण र त्यसको महत्वबारे जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकले लक्ष्य लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ३ गते शनिबार