कला संस्कृति जोगाउन नेपालगन्जमा महोत्सव गरिदैँ



नेपालगन्ज ।

आउँदो कात्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म नेपालगन्जमा प्रथम कृषि पर्यटन व्यापारिक संरक्षण तथा संस्कृति प्रवर्धन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेको आयोजनामा महोत्सव हुन गइरहेको हो । आयोजनाले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर नेपालगन्जस्थित वाटर पार्कमा महोत्सव हुने जानकारी दिएको थियो ।

‘विश्वभरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाइ राखौँ भेषभूषा, भाषा, संस्कृति’ भन्ने मूल नाराका साथ नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवर्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्पो २०८१’ आयोजना गर्न लागिएको हो । महोत्सव मुल आयोजक समितिका संयोजक डम्बरबहादुर थापाले आदिवासी जनजातिहरूको भेषभूषा, संस्कृती, भाषा संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए ।

‘आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा लगायतका सम्बन्धित सबै कुराहरू पछिल्लो समयमा हराउँदै जान थालेका छन्’ उनले भने, ‘यसलाई संरक्षण, जगेर्ना र प्रवर्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपालगन्जमा महोत्सव आयोजना गर्न लागिएको हो ।’

कला तथा संस्कृति संरक्षणसहित संस्थाको भवन निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूले मनोरञ्जन प्रदान गरिने उनले बताए ।

आयोजकका अनुसार महोत्सवमा लुम्बिनी प्रदेशका सबै जिल्लाका आदिवासी जनजाति थारू लगायतका समुदायले आफ्नो उत्पादन तथा आफ्नो संस्कृतिलाई प्रदर्शन गर्न पाउनेछन् । महोत्सवमा २ सय ५० भन्दा बढी औद्योगिक तथा व्यापारीक स्टलहरू रहने बताइएको छ ।
संयोजक थापामगरले जातिय खाना प्रदर्शनी सहभागिताका लागि स्टल निःशुल्क रूपमा उपलब्ध गराइने बताए । कला, संस्कृति सम्बन्धि पौराणिक कला जातिय भेषभूषाको प्रदर्शन, कृषि पर्यटन हस्तकलासहित स्टलहरू समेत रहने उनले जानकारी दिए ।

महोत्सवको तयारीको लागि विभिन्न उपसमितिहरू समेत बनाइएको छ । महोत्सव सफल पार्नका लागि अध्यक्ष डम्बरबहादुर थापा मगरको संयोजकत्वमा मूल आयोजक समिति र सचिव राजन रानामगरको संयोजकत्वमा सचिवालय गठन गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कृष्ण पुनमगरको संयोजकत्वमा सल्लाहकार उपसमिति, भूपेन्द्र पुनमगरको संयोजकत्वमा सुरक्षा उपसमिति, अजय पुनमगर (गोपाल)को संयोजकत्वमा आर्थिक उपसमिति, सङ्गीता चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गनबहादुर गुरुङको संयोजकत्वमा झाँकी ¥याली व्यवस्थापन उपसमिति, सुन्दर गुरुङको संयोजकत्वमा सांस्कृतिक उपसमिति, आइत पुनमगरको संयोजकत्वमा खानेपानी तथा शौचालय उपसमिति, जनक पहराई मगरको संयोजकत्वमा स्वयंसेवक उपसमिति र अशोक थापामगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार