नेपालगन्जमा प्रादेशिक व्यापार महोत्सव हुने



नेपालगन्ज ।

नेपालगन्ज उद्योग वाणिज्य संघले प्रादेशिक व्यापार महोत्सवको आयोजना गर्ने भएको छ । ‘उद्योग व्यापार कृषि जडिबुटी र पर्यटन व्यावसायीक उद्धमशाला तथा कला संस्कृति प्रवर्धन’ भन्ने मुल नाराको साथ प्रादेशिक व्यापार महोत्सव गर्न लागेको हो ।

महोत्सवको बारेमा जानकारी दिन संघले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । आगामी पुस ४ गतेदेखि १६ गतेसम्म नेपालगन्ज कारकाँदोस्थित सडक डिभिजन परिसरमा महोत्सवको आयोजना गरेको संघका अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए ।

यो नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको व्यापार महोत्सवको ९औँ संस्करण रहेको छ । संघका अध्यक्ष धामीले महोत्सवलाई यसअघिभन्दा भव्य र व्यवस्थित तरिकाले सञ्चालन गर्ने तयारी भइरहेको दाबी गरे ।

‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै यस महोत्सवको आयोजना गरिएको छ । तीनवटै प्रदेशका फरक–फरक कला संस्कृतिसहित स्वदेशी उत्पादनलाई बजारीकरण गराउने हाम्रो प्रमुख लक्ष्य रहेको छ’ उनले पत्रकार सम्मेलनमा भने ।

नेपाली उत्पादनलाई बजारीकरण गर्न यस्तो व्यापारिक मेला महोत्सवहरूको निकै जरूरत रहेको पनि संघका अध्यक्ष धामीले दाबी गरे । संघले गर्न लागेको महोत्सवमा आदिवासी जनजाति थारू लगायत समुदायको भाषा, संस्कृति, भेषभूषा, घरेलु उत्पादन संरक्षण तथा प्रवर्धन हुने उनले बताए ।

महोत्सवमा तीनवटै प्रदेशका औद्योगिक तथा व्यापारिक स्टलहरू राखिनेछ । जसमा लत्ताकपडा, खाद्यान्न, सवारीसाधन, घरेलु उत्पादन सामाग्री लगायतको प्रदर्शनी हुनेछ । यसका साथै कला संस्कृती, जातीय भेषभूषाको प्रदर्शन, कृषि, पर्यटन, हस्तकला, धार्मिक पर्यटकीय स्थल, जातीय खाना प्रदर्शनी, मनोरञ्जनात्मक खेलका साधनहरू राखिने संघले जनाएको छ ।

पश्चिम नेपाललाई केन्द्रित गरि आयोजना गरिने महोत्सवमा तीन लाख बढी मानिसहरू सहभागी हुने अनुमान गरिएको अध्यक्ष धामीले बताए । उनका अनुसार यसका साथै नेपालगन्जमा रहेका उद्योग व्यवसाय कलकारखानाहरूमा २५/३० जनाको समूह बनाएर भ्रमण समेत गराउने योजना रहेको छ ।

‘विगतमा केही महोत्सव आयोजकहरूले लागत तथा आयको कुनै विवरण सार्वजनिक नगर्दा विवादस्पद भएको कुरालाई मध्यनजर गर्दै हामीले महोत्सवबाट हुने सम्पूर्ण आर्थिक कारोबारको पत्रकार सम्मेलनमार्फत जानकारी गराउने वाचा समेत गर्दछौँ,’ अध्यक्ष धामीले भने ।

१२ दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाली चलचित्र तथा अन्य क्षेत्रका दर्जन बढी कलाकारहरू, मनोरञ्जनकर्ता, कवि, मोडेलहरूको प्रस्तुति रहने संघले जनाएको छ । जसमध्ये चर्चित अभिनेता पल शाह, गायिका ज्योती थापा मगर, रचना रिमाल, प्रीति आले, खुमन अधिकारी, कृष्ण रेउले, सोनु चौधरी, दुर्गेश थापा, संगीता चितौरे, रामजी खाँड, अञ्जली अधिकारी, मञ्जु भट्टराई, शिव परियार लगायतहरूको प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार