व्यक्तिको प्रवृत्ति निर्माणका लागि समाज एउटा महत्वपूर्ण पक्ष हो । समाजले व्यक्तिको सिकाइको निम्ति विश्वविद्यालयको काम गरिरहेको हुन्छ । समाजमा के गरेर को मानिसले प्रतिष्ठा र सम्मान प्राप्त गरेको छ भन्ने कुराले हरेक व्यक्तिलाई त्यही सम्मान र प्रतिष्ठा कमाउने बाटोमा प्रत्यक्ष वा परोक्ष रूपमा मार्गनिर्देशन गरिरहेको हुन्छ । दृष्टान्त दिएर भन्नुपर्दा यदि कुनै समाजमा पैसालाई सबैथोक मानिन्छ भने त्यहाँका मानिसहरू जे जस्तो गरेर पनि पैसा र सम्पत्ति कमाउनतिर लागिरहेका हुन्छन् ।
जीतबहादुर शाह ।
हाम्रो घरनजिकैको रङ पसलकी साहुनीलाई पसलको कामको बारेमा सबै कुराको जानकारी छ । कम्प्युटरबाट सफ्टवेयर खोलेर रङ बनाउने फर्मुला हेर्न आउँछ । त्यही अनुसार रङ बनाउन आउँछ । सामानको बिल काट्न आउँछ । हिसाब निकाल्न आउँछ । ग्राहकलाई कुनमा कति प्रतिशत छुट दिनुपर्छ त्यो पनि जानकारी छ । त्यो अनुसारको पढाइलेखाइ पनि छ । तथापि उनी हरेक कुरा आफ्नो पति वा साहुजीलाई नसोधी केही गर्दिनन् । बिल पनि देखाउँछिन् ।
रङ पनि देखाउँछिन् । टाढा भएको अवस्थामा फोन गरेर पनि आफूले गर्दै गरेको कुरामा अनुमति माग्छिन् । मलाई साहुनीको बानी ठिकै पनि लाग्यो । तथापि साहुजीले भने त्यस्तो गर्दैनन् । उनले आफूले गरेको कुरा पत्नी वा साहुनीलाई रुजु गराउनु आवश्यक ठान्दैनन् । क्षमतामा सबैै समान जस्तै भए पनि साहुनी कमजोर ठान्दिरहिछन् आफूलाई । त्योभन्दा पनि कमजोर ठानिँदोरहेछ साहुनीलाई । साहुजी भने सक्षम ठान्दारहेछन् आफूलाई । अर्थात सक्षम ठानिँदोरहेछ साहुजीलाई । यो मामलामा नजानिँदो तरिकाले महिला हिंसाको गन्ध आउँदो रहेछ ।
यो भनेको प्रवृृत्ति रहेछ । कुनै वस्तु, व्यक्ति वा घटनाप्रतिको दृष्टिकोण रहेछ । कसैप्रति गरिने विश्वास र व्यवहारको समग्र शृंखला रहेछ । साहुनीले आफूले गरेको काम आफूलाई ठीक छ भन्ने लागेपछि रुजु नगराए पनि हुन्थ्यो । त्यसमा साहुजीले मैले हेर्नु पर्देन भनेर तिमीले गरेको ठीक भन्दिए पनि हुन्थ्यो । तथापि साहुजीले त्यसो पनि भन्दैनन् र साहुनीले नसोधी पनि गर्दिनन् । सुरुसुरुमा यो सानोतिनो बानी जस्तो भए पनि पछि यो डरलाग्दो प्रवृत्तिको रूपमा देखिँदो रहेछ । यही कुरा व्यक्तिगत स्वतन्त्रतासँग गाँसिँदो रहेछ ।
यही कुराले नियमकानुनको धज्जीसमेत उडाउँदो रहेछ । कतिपय अफिस र विद्यालयहरूमा पत्नीले जागिर गर्छिन् र तलब थाप्न पति जान्छन् । पछि आफूलाई पैसाको काम प¥यो भने अनुनय विनय गर्दै पतिलाई खुसी बनाएर माग्नुपर्ने हुन्छ । यी सबै कुरा कतै नलेखिए पनि चलिरहेका छन् सनातनदेखि । गैरकानुनी भनिएका कुराहरू पनि हाकाहाकी चलिरहेका छन् समाजमा । यो सबै मूल्य, मान्यता र विश्वासको खेल रहेछ । यो सबै समग्रमा प्रवृत्तिको खेल रहेछ ।
प्रवृत्तिलाई बाहिरबाट देखिने गरी दुई किसिमले पनि व्याख्या गरेका छन् विद्वानहरूले । प्रवृत्तिलाई महासागरमा देखिने हिमशिला जस्तै भनेर पनि व्याख्या गर्ने गरिन्छ । जो हिमशिला कुल भागको १० प्रतिशत बाहिर देखिन्छ भने ९० प्रतिशत खण्ड लुकेर बस्छ । त्यही लुकेर बसेको खण्डले बाहिर देखिएको खण्डलाई निर्देश गर्दछ । मान्छे कुरा एउटा गर्छन्, काम भने अर्कै गर्छन् ।
मान्छे बाहिर एउटा देखिन्छन्, भित्रभित्रै भने अर्कै हुन्छन् । अति मिल्ने भनेर विश्वास गरेका साथीहरू विश्वास गरेजस्ता हुँदैनन् । अप्ठ्यारो पर्दा सहयोग गर्ला भनेर विश्वास गरिएको व्यक्ति त आइपर्दा रमितेमा परिणत भइरहेको हुन्छ । कतिपय भित्रभित्र भ्रष्टहरू बाहिर भलादमी जस्ता देखिन्छन् । चोरहरू पनि चरित्रवान जस्ता देखिन्छन् । बलात्कारमा लिप्तहरू पनि विवेकशील जस्ता देखिन्छन् । यी सवै प्रवृत्तिका प्रपञ्चहरू रहेछन् ।
सन्दर्भ साहित्यहरूतिर दृष्टि लगाउँदा प्रवृत्तिगत हिसाबले व्यक्तिहरू चार किसिम हुन्छन्– सकारात्मक, नकारात्मक, तटस्थ र छद्मभेषी । सकारात्मक प्रवृत्तिका व्यक्तिहरू कुनै पनि विषयको राम्रा पक्षलाई जोड दिन्छन् । त्यस्ता मानिसहरू आत्मविश्वासले भरिएका
हुन्छन् । आफ्नो काममा जिम्मेवार, खुसी र प्रतिबद्ध हुन्छन् । नकारात्मक सोचका व्यक्तिहरूको सबैभन्दा पहिले कुनै पनि कुराको नराम्रोमा पक्षमा आँखा पर्छ । यस्ता मानिसहरू रिसाहा र शंकालु हुन्छन् ।
निराशा र कुण्ठाका सिकार पनि यिनै हुन्छन् । तटस्थ प्रवृत्तिका मानिसहरूको भने कुनै एउटा विषय, व्यक्ति वा घटनाप्रति निश्चित सोच र धारणा हँुदैन । समयअनुसार उनीहरू त्यो मामलामा आफूलाई बदल्छन् । छद्मभेषी प्रवृत्ति (क्ष्पपभल बततष्तगमभ) का व्यक्तिहरू भने बाहिर चिल्लो पोत्छन् । मिठा कुरा गरेर मक्ख पार्छन् । भित्रभत्र भने छुरा चलाउँछन् । यस्ता मानिसहरू सबैभन्दा खतरनाक हुन्छन् । यस्तैको आज बिगबिगी पनि बढ्दो छ ।
व्यक्तिले प्रवृत्ति जन्मजात बोकेर ल्याउँदैन । जन्मेपछि निर्माण हुन थाल्छ । प्रवृत्ति निर्माणमा उसको अनुभव, सिकाइ र सामाजिक तत्वले असर पारिरहेको हुन्छ । उसले के देख्छ, के भोग्छ र अरूबाट कस्तो व्यवहार पाउँछ, त्यसबाट उसको प्रवृत्तिका इट्टाहरू थपिने काम भइरहेको
हुन्छ । काममा ठग्ने, झुटो कुरा बोल्ने र अरूलाई अपशब्द बोल्ने कुरा उसले परिवारका सदस्यहरूबाटै अनुभव र अवलोकन गरेर तदनुरुपको प्रवृत्ति निर्माणका लागि धारणा बनाइरहेको हुन्छ । अनुभव र भोगाइ सँगसँगै सिकाइ पनि भइरहेको हुन्छ ।
राम्रो काम सिकेर उसलाई माया, सम्मान र प्रोत्साहन प्राप्त भइरहेको हुन्छ भने राम्रो कुरा सिक्छ । त्यसको विपरीत राम्रो काम गरेर उसलाई पीडा र अपमान प्राप्त हुन्छ भने ऊ राम्रो काम गर्नतिर अभिप्रेरित हुँदैन । सिकाइमा उत्प्रेरणा र सम्बलनले उसलाई के सिक्ने र के नसिक्ने कुरामा मार्गनिर्देशन गरिरहेको हुन्छ ।
व्यक्तिको प्रवृत्ति निर्माणका लागि समाज एउटा महत्वपूर्ण पक्ष हो । समाजले व्यक्तिको सिकाइको निम्ति विश्वविद्यालयको काम गरिरहेको
हुन्छ । समाजमा के गरेर को मानिसले प्रतिष्ठा र सम्मान प्राप्त गरेको छ भन्ने कुराले हरेक व्यक्तिलाई त्यही सम्मान र प्रतिष्ठा कमाउने बाटोमा प्रत्यक्ष वा परोक्ष रूपमा मार्गनिर्देशन गरिरहेको हुन्छ । दृष्टान्त दिएर भन्नुपर्दा यदि कुनै समाजमा पैसालाई सबैथोक मानिन्छ भने त्यहाँका मानिसहरू जे जस्तो गरेर पनि पैसा र सम्पत्ति कमाउनतिर लागिरहेका हुन्छन् । तर जहाँ अरूको भलाइ र हितका निम्ति समर्पित मानिसहरूको सम्मान हुन्छ त्यहाँका मानिसहरू अरूको खुसी र भलाइका निम्ति नै समर्पित हुन सिकिरहेका हुन्छन् ।
हाम्रो समाजमा अहिले गतिलो कुरा सिक्नका लागि अनुकरणीय मानिसहरू भेट्नु भनेको फलामका चिउरासरह भइरहेको अवस्था छ । धनसम्पत्तिलाई साधनको रूपमा भन्दा पनि साध्यको रूपमा स्वीकार गरेर मानिसहरू अघि बढिरहेका छन् । जुनसुकै पेसा, वर्ग र समुदायका मानिसहरूको साझा लक्ष्य नै त्यही बनेको छ । अनाचार, दुराचार, भ्रष्टाचार, पापाचार जे गरेर पनि मानिस सम्पत्ति जोड्नतिर लागिरहेको छ । समाजमा काम गरिरहेका डाक्टर, इञ्जिनियर, राजनीतिकर्मी, समाजसेवी, शिक्षक, पत्रकार, कर्मचारी आदिइत्यादि नाम जे दिए पनि सबैको नजर सम्पत्ति आर्जनमा छ ।
यहाँसम्मका कि धर्मका ठेकेदारहरूले समेत सम्पत्ति दान गरेपछि गरेको पाप पखालिन्छ भन्ने दर्शनको व्याख्या गर्दै हिँहिरहेका छन् । समाज यस्तो भएपछि यस्तो समाजबाट कस्तो कुरा सिकिन्छ, कस्तो प्रवृत्तिको निर्माण हुन्छ, सबै कुरा स्वयम्सिद्ध भएको अवस्था छ । प्रवृत्तिलाई परिवर्तन गर्न सकिन्छ । परिवर्तन गर्न भने त्यति सजिलो छैन । पहिलो कुरा त परिवर्तन गर्नका लागि सिकाइका सिद्धान्तहरू त्यही किसिमले प्रयोग गरिनुपर्दछ । भन्नुको मतलब राम्रो कुरा सिक्नका लागि अभिप्रेरित गर्ने वातावरण हुनुपर्दछ । राम्रो कुरा सिक्नका लागि सिकाउने ठाउँमा रहेकाहरू रोलमोडल हुन सक्नुपर्दछ ।
भ्रष्टाचार गरेपछि अख्तियारमा सरुवा हुने होइन कि अख्तियारको हिरासतमा जानुपर्छ भन्ने कुरा व्यक्तिले सिक्ने गरी अवसरको सिर्जना गर्नुपर्दछ । चाकरी गर्ने गणेश प्रवृत्तिका मानिस होइन कि परिश्रम गर्ने कुमार प्रवृत्तिका मानिसहरू सम्मानित भएको महसुस गर्न
पाउनुपर्दछ । यसका साथै प्रवृत्ति परिवर्तनका लागि प्रचारप्रसारको सिद्धान्तलाई पनि अनुकूल बनाएर अघि बढाउनुपर्दछ ।
भन्नुको मतलब, राम्रा प्रवृत्तिहरूको हाइलाइट गरिनुपर्दछ । त्यस्ता प्रवृत्तिहरूले सम्मान र प्रतिष्ठा आर्जन गरेका कुराहरू मिडियाहरूमा आउनुपर्दछ । कुनै प्रवृत्तिलाई आत्मसात् र अवलम्बन गर्दा मानिसले दुःख र हैरानीको सामना गर्नुपर्छ भने त्यो प्रवृत्ति व्यक्तिले छोड्न चाहन्छ । यसलाई प्रवृत्ति परिवर्तनको असहजताको सिद्धान्त भनिन्छ ।
मांसाहारी परिवारमा आएपछि शाकाहारी पनि क्रमशः मांसहारी हुन बाध्य हुन्छ । अल्छी र अगतिलाहरूको समाजमा आएपछि केही गरौँ भन्ने ऊर्जावान व्यक्ति पनि अल्छी र अगतिलो हुन थाल्छन् । यस सम्बन्धमा व्यवस्थापनका पिता भनेर पहिचान बनाएका पिटर ड्रकरको भनाइ फेरि पनि सम्झिन मन लाग्यो– ‘संस्थामा काम गर्ने मानिसहरूले आफ्नो संस्थामा कसले के काम गरेर पुरष्कार र सम्मान पाइरहेको छ भन्ने कुरा टुलुटुलु हेरिरहेका हुन्छन् । यदि त्यो सम्मान र पुरष्कार अल्छी, कामचोर र अनावश्यक रूपमा टाठोबाठोले पायो भने संस्थाका मानिसहरू पनि क्रमशः अल्छी, कामचोर र अनावश्यक रूपमा टाठोबाठो हुन थाल्छन् ।’
हाम्रो देशको समस्या नै यही हो । विद्यालयमा भर्खर नयाँ नियुक्ति लिएर गएको ऊर्जावान शिक्षक विद्यालयभित्र र बाहिरको वातावरणले क्रमशः ऊर्जाहीन हुन थाल्छन् । सरकारी कार्यालयमा पनि त्यही हो । संघसंस्थाहरूमा पनि त्यही हो । जसलाई हेरे पनि र जता हेरे पनि मन बुझाउने ठाउँ देखिँदैन । पहिले पहिले राजनीतिक सिद्धान्त र दलको आधारमा स्वभाव र प्रवृत्ति फरक हुन्छ भन्थे । अब त सबै एकैनासे । कुन दलको र कुन राजनीतिक सिद्धान्तको हो भन्नका लागि त व्यवहार हेरेर नहुने । यसका लागि पर्समा भएको सदस्यता हेर्नु पर्ने । सत्ता र सरकारको अवस्था पनि त्यस्तै ।
कामको आधारमा यो वा त्यो भन्नै गाह्रो । यस्तो अवस्थामा प्रवृत्तिमा सुधारका लागि कडा किसिमले प्रस्तुत हुनुपर्दछ, जापानीहरूले प्रतिपादन गरेको काइजान अर्थात ‘डु अर डाइ’को सिद्धान्त जस्तै । माओले अघि बढाएको साँस्कृतिक क्रान्ति जस्तै । अन्यथा कथनीमा जे भने पनि करनीमा बदलाव आउन सकेन भने यहाँ केहीवाला हुने देखिँदैन ।
प्रतिक्रिया दिनुहोस्