‘रविलाई हतारमा पक्रेर सरकारले दोषी उम्काउन खोज्यो’



जुम्ला ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई हतारमा पक्रेर सरकारले दोषीलाई उम्काउन खोजेको आरोप लगाएका छन् । नेकपा (माओवादी केन्द्र) जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा सोमबार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भुटानी शरणार्थी काण्डका आरोपित समातिन थालेपछि आफ्नो सरकार ढालिएको दाबी गरे । भ्रष्टाचारविरुद्ध कडा कदम चालेपछि सरकार ढालिएको उनले बताए । ‘मेरो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्व कडा कदम चाल्यो । धमाधम भ्रष्टाचारी पक्रिन थाल्यो । भुटानी शरणार्थी काण्डका आरोपित समातिन थालेपछि सरकार ढालियो । त्यसले बुढानीलकण्ठ र बालकोट डराए । रातारात सरकार ढालियो,’ प्रचण्डले भने ।

वर्तमान सरकार उल्टो दिशामा हिँडिरहेको आरोप लगाउँदै प्रचण्डले संसारभर कतै पनि दुई ठूला दल मिलेर सरकार बनाएको इतिहास नभएको उनले दाबी गरे । उनले भने, ‘दुई ठूला दल मिलेपछि तेस्रो दल सरकारबाट बाहिएको हो, लोकतन्त्रमा यस्तो हुँदैन । अन्य देशमा पनि दुई ठूला दल मिलेको इतिहास छैन ।’

अध्यक्ष प्रचण्डले आफूले सरकारबाट सुरु गरेको यो अभियान अब पार्टीको तर्फबाट अघि बढाउने बताए । ‘सुशासनको पक्ष र भ्रष्टाचारको विरुद्धमा निकै ठूलो अभियान सुरु गरिएको छ’, उनले भने, ‘नेपालको इतिहासमा नै पहिलोपटक सबैभन्दा माथिल्लो तहमा रहेका नेता र कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने र हिरासतमा लिने प्रक्रिया सुरु भएको थियो, यो पहिलो रेकर्ड नै बनेको छ ।’

भौतिक पूर्वाधार निर्माणको सवालमा आफूले तिनैपटक प्रधानमन्त्री हुँदा महत्वपूर्ण थालनी गरेको उनले बताए । पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण करिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको र तेस्रोपटक प्रधानमन्त्री हुँदा भारतसँग दश वर्षमा दश हजार मेगावाट विद्युत् बिक्रीलगायतका ऐतिहासिक समझदारीमा हस्ताक्षर गरेको दाबी गरे ।

उनले सामाजिक न्यायको पक्षमा देशभित्र र विदेशमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्नेदेखि हजारौँ नागरिकता विहीनतालाई नागरिकता प्रदान गर्ने, वर्षौंदेखिको मिटरब्याजको समस्या कानुन बनाएर नै अन्त्य गर्नेलगायतका कामले जनतामा नयाँ उत्साह पैदा भएको बताएका थिए ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार