कोहलपुरमा शवदाह गृह बनाउने तयारी



कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिणी खोलाको संगमस्थलमा आधुनिक प्रविधियुक्त कोहलपुर शवदाह गृहको शिलान्यास गरिएको छ । करिब १ करोड २५ लाख रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको शवदाह गृह निर्माण तीन–चार महिनाभित्रै गरिसक्ने लक्ष्य लिइएको छ ।

कोहलपुर ।

अन्ततः कोहलपुर नगरपालिकाले कोहलपुर नगरपालिका–११ स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा शवदाह गृह बनाउने भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले आइतबार सो शवदाह गृहको शिलान्यास गरेका हुन् ।

शवदाह गृहको शिलान्यास गर्दै नगर प्रमुख आचार्यले कोहलपुर नगरबासीको लामो समयदेखिको साझा एजेन्डाको रूपमा रहेको शवदाह गृह निर्माण कार्य सुरु भएको जानकारी दिए ।

‘कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिणी खोलाको संगमस्थलमा आधुनिक प्रविधियुक्त कोहलपुर शवदाह गृहको शिलान्यास भएको छ,’ उनले भने, ‘शवदाह गृह निर्माणसँगै करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्म पुग्नुपर्ने झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने विश्वास लिएका छौँ ।’

कोहलपुर क्षेत्रमा एउटा शवदाह गृहको अनिवार्य आवश्यकता बोध गरेर उपयुक्त स्थानको खोजी भइरहे पनि उपयुक्त स्थानको पहिचान हुन नसक्दा लामो समयसम्म सो कामले गति लिन सकेको थिएन । कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहको संयोजकत्वमा सर्वपक्षीय समिति बनाएर नगरपालिकाले शवदाह गृह निर्माणका लागि उपयुक्त स्थानको खोजी गरिरहेको थियो । सो समितिकै सिफारिसका आधारमा सो स्थान पहिचान भएको नगर प्रमुख आचार्यले बताए ।

करिब १ करोड २५ लाख रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए । कोहलपुर शवदाह गृह निर्माणका लागि नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा कोहलपुुरका व्यवसायी चक्र अधिकारीलाई संयोजक तोकिएको छ । अधिकारीको संयोजकत्वमा सर्वपक्षीय समिति बनाएर शवदाह गृहको निर्माण थालिएको नगर प्रमुख आचार्यले बताए ।

सोका लागि कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ भने नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण सहयोग लिइने जनाइएको छ । निर्माणका लागि आवश्यक अरू रकम विभिन्न सामाजिक तथा वित्तीय संस्थाहरूबाट जुटाउने अभियान सुरु गरिएको नगर प्रमुख आचार्यको भनाइ छ ।

‘सकभर विभिन्न सामाजिक संघसंस्था र वित्तीय संस्थाहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न लगाई आवश्यक रकम जुटाउने प्रक्रियामा हामी छौँ,’ नगर प्रमुख आचार्यले भने, ‘यसका लागि केही संस्थाले रकम कबुल पनि गरिसकेका छन् ।’ तीन–चार महिनाभित्रै सो शवदाह गृह निर्माण भइसक्ने नगर प्रमुख आचार्यले जानकारी दिए ।

निर्माण समितिका संयोजक अधिकारीले आर्थिक सहयोग जुटाउने क्रममा आफूले विभिन्न बैंक तथा वित्तीय संस्थासँग कुरा गरिरहेको जानकारी दिए । ‘एभरेस्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘ग्लोबल आइएमई बैंक, गोल्छा गु्रपलगायतसँग मेरो कुरा भइरहेको छ ।’

दु्रतगतिमा काम अघि बढाइने संयोजक अधिकारीले दाबी गरे । पुस मसान्तभित्रै काम सक्ने गरी आफूहरूले तयारी गरिरहेको उनले जानकारी दिए । शवदाह गृह निर्माण समितिका संयोजक अधिकारीको पहलमा एभरेस्ट बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

चाँडै सोे रकम निर्माण समितिको बैंक खातामा उपलब्ध हुने संयोजक अधिकारीले जानकारी दिए । संयोजक अधिकारीकै अगुवाइमा अन्य वित्तीय संस्थाहरूमा समेत आर्थिक सहयोगका लागि समन्वय भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार