नेपालगन्जमा बजारको सहज पहुँच र भारतीय बजारमा गएर किनमेल गर्ने प्रवृत्तिले नेपालगन्जमा सञ्चालित सुपथ मूल्य पसलमा सर्वसाधारणको आकर्षण देखिएको छैन । त्यसका साथै पसलमा चामल मात्र बिक्रीमा राखिएकाले पनि ग्राहकहरूको आकर्षण बढ्न नसकेको देखिन्छ ।
नेपालगन्ज ।
चाडबाडमा आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले नेपालगन्जमा सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल प्रभावकारी देखिएको छैन । चाडपर्वहरूलाई लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेपालगन्ज शाखाले असोज ७ गते आइतबारबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चामल मात्रै बिक्रीमा राखिएको छ ।
प्रतिकिलो ५ रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ । माघेसङ्क्रान्ति पर्वसम्म सञ्चालन हुने गरी सुपथ मूल्यमा चामल बिक्री सुरु गरिएकोमा सोमबारसम्म २२ क्विन्टल चामल बिक्री भएको कार्यालयले जनाएको छ । बढीमा दुई सय क्विन्टल चामल मात्रै छुटमा बिक्री गर्ने स्वीकृति प्राप्त भएको शाखा प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।
नेपालगन्जमा सुपथ मूल्य सञ्चालनमा आएको पछिल्ला तीन वर्षमा एक वर्षमा मात्रै तोकिएको कोटाभन्दा बढी चामल बिक्री भएको छ । बाँकी दुई वर्षमा कोटाजति पनि चामल बिक्री भएको तथ्यांकले देखाउँदैन । आर्थिक वर्ष २०७८/०७९ मा एक सय क्विन्टलको कोटा तोकिएकोमा ३ दशमलव ६ क्विन्टल चामल मात्रै बिक्री भएको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा एक सय क्विन्टलको कोटा तोकिएकोमा एक सय ६८ दशमलव ५५ क्विन्टल चामल बिक्री भयो । गत आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो वर्षको बिक्रीका आधारमा दुई सय क्विन्टलको कोटा तोकिएकोमा एक सय ५७ क्विन्टल मात्रै चामल बिक्री भएको थियो । यस आर्थिक वर्षमा भने तोकिएको कोटा पूरा हुने दाबी शाखा प्रमुख लामिछानेले गरे ।
नेपालगन्जमा बजारको सहज पहुँच र भारतीय बजारमा गएर किनमेल गर्ने प्रवृत्तिले सुपथ मूल्य पसलमा सर्वसाधारणको आकर्षण नदेखिएको लामिछानेको भनाइ छ । यसका साथै चामल मात्रै नभएर दाल, गेडागुडी र चिनीलगायतका उत्पादनहरू राखेमा पनि आकर्षण बढ्नसक्ने उनले बताए । त्यसका लागि केन्द्रमा अनुरोध गरे पनि यसवर्ष पनि चामल मात्रै बिक्री गर्ने निर्देशन आएको उनले जानकारी दिए ।
नेपालगन्जमा सुपथ मूल्यमा चार किसिमको चामल बिक्रीमा राखिएको छ । जसमा अरुवा मोटा चामल प्रतिकिलो ५८ रुपैयाँ, अरुवा मध्यम ६० रुपैयाँ प्रतिकिलोे, अरुवा सोना मन्सुली ६० रुपैयाँ र स्टिम जिरा मसिनो चामल ८९ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ । जुन मूल्य तुलनात्मक रूपमा बजार मूल्यमा सस्तो हो ।
कम्पनीले सुर्खेत, दाङ, काठमाडौँलगायतका स्थानमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा भने चामलका साथै दाल, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीलगायतका उत्पादनहरू राखिएका छन् ।
काठमाडौँलगातका स्थानका सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतका उत्पादनमा प्रतिकिलो सात रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
नेपालगन्जमै साल्ट टे«डिङ कम्पनीले चिनी, नुन र दुग्ध विकास संस्थानद्वारा उत्पादित घ्यू छुट मूल्यमा बिक्रीमा राखेको छ । तर, चिनीको छुट दिँदाको मूल्य पनि बजार मूल्यभन्दा झन्डै १० रुपैयाँ महँगो छ । नुनमा २ रुपैयाँ छुट गरी २४ रुपैयाँ प्रतिकिलो, चिनीमा ५ रुपैयाँ छुट गरी एक सय दुई रुपैयाँ प्रतिकिलो र घ्यूमा २५ रुपैयाँ छुट गरी ६ सय रुपैयाँ आधा किलोका दरले बिक्री गरिरहेको छ ।
महँगो भएको हुँदा चिनीको बिक्री नगन्य मात्रामा मात्रै भइरहेको छ । सल्फर प्रयोग नगरिएको र उच्च गुणस्तरको चिनी भएकाले बजारभन्दा महँगो भएको साल्ट ट्रेडिङको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्