हुम्लाको ताँजाकोटमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु



सुर्खेत ।

माटोको ढिस्कोमा पुरिएर हुम्लाको ताँजाकोट गाउँपालिका रोजगार शाखाका प्राविधिकसहित दुई जनाको मृत्यु भएको छ ।

दसैँका लागि घर लिपपोत गर्नका लागि माटो खन्ने क्रममा ढिस्को खस्दा त्यसमा पुरिएर बुधबार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार माथिबाट माटोको ढिस्को खस्दा अन्य एक जना घाइते भएका छन् ।

ताँजाकोट गाउँपालिका–३ को राम गाउँमा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुबेदीले जानकारी दिए ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका रोजगार शाखाका प्राविधिक २४ वर्षीय धु्रव शाही र सोही वडाकी करिब २४ वर्षीया मनसरा मल्ल रहेको उनले बताए । माटोको ढिस्कोमै पुरिएर सो वडाका वर्ष २६ का लालबहादुर शाही घाइते भएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार