लुम्बिनीमा विपद्बाट साढे एक करोडको क्षती



बाँके ।

पछिल्लो चार दिनमा लुम्बिनी प्रदेशमा भएका विपद्का घटनाबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

बाढी, पहिरो तथा डुवानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार जानकारी दिएको हो । प्रदेशभरी भएका विपद्का ३२ वटा घटनामा एक करोड ४३ लाख बराबरको क्षती भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपद्का घटना घटेका थिए । यो अवधिमा अधिक वर्षा, पहिरो, बाढी तथा डुवानका घटना घटेका हुन् । यो अवधिमा विपद्मा परेर ३ जनाको मुत्यु, २ जना घाइते र एक जना वेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले बताए ।

बाढीमा परेर रूपन्देहीमा दुई जना र पानीमा डुबेर बाँकेमा एक जनाको मृत्यु भएको थियो । यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ । ३ वटा सरकारी भवनमा आंशिक क्षती पुगेको छ । ७ वटा गोठमा पनि क्षती पुगेको मन्त्रालयले जनाएको छ ।

लुम्बिनीसरकारले प्राकृतिक विपद्को सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् अघि, विपद्को वेलामा र विपद्पछिको अवस्थालाई ध्यानमा राखेर प्रतिकार्यका योजना अघि बढाउन निर्देशन दिएका थिए । सोही अनुसार समुदाय, प्रहरी प्रशासन र स्वयंमसेवकहरू परिचालन भएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार