टिंकर सडकमा काम गर्ने मजदुर ढुंगा लागेर गम्भीर घाइते



दार्चुला ।

नेपालको त्रिदेशीय सीमा क्षेत्रमा नेपाली सेनाद्वारा निर्माण भईरहेको तिंकर सडकमा मजदुरी गरिरहेका एक जना ढुंगा लागेर गम्भीर घाईते भएका छन् ।

सोमबार दिउँसो सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका–६ पालङका २२ वर्षिय धनप्रसाद डागी घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दार्चुला–टिंकर सडकखण्ड अन्तर्गतको ब्यास गाउँपालिका–२ आतुङती क्षेत्रमा माथिबाट आएको ढुंगा लागेर मजदुर घाइते भएका छन् । दिउँसो २ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट आएको ढुंगा लागेर उनी गम्भीर घाइते भएका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए ।

घाइते डाँगीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाईतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमबार