नेपालगन्ज ।
मौसम प्रतिकूलताका कारण ठप्प भएको कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाको हवाई उडान आइतबारबाट सुरु भएको छ । नेपालगन्ज विमानस्थलबाट कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्ला र सुदूरपश्चिमको बाजुरामा हुँदै आएका हवाई उडान बुधबारदेखि रोकिएका थिए ।
मौसममा सुधार आएकोसँगै आइतबार हुम्लाको सिमिकोटबाहेक सबै जिल्लाका विमानस्थलहरूमा हवाई उडान भएको नेपालगन्ज विमानस्थल कार्यालयका सूचना अधिकारी धिरेन्द्र रिजालले जानकारी दिए । मौसम अनुकूल भएमा सोमबारदेखि सिमिकोटमा पनि उडान हुने उनले बताए ।
बुधबारदेखि उडान रोकिँदा अलपत्र परेका यात्रुहरूलाई विमान कम्पनीहरूले पालैपालो उडान गर्न थालेका छन् । चाडबाडको समय भएको र सडक मार्ग पनि बिग्रेकोले कर्णालीको पहाडी र हिमाली जिल्लामा जाने यात्रुहरूको सङ्ख्या समेत बढेको छ ।
आइतबार नेपालगन्जबाट विमानस्थलबाट कर्णालीमा विभिन्न जिल्लाका लागि सीता, समिट र नेपाल एयरलाइन्सका जहाजले उडान भरेका थिए । बुधबारदेखि खराब मौसमका कारण हवाई सेवा अवरुद्ध हुँदा कर्णालीका हिमाली जिल्लाहरूमा जाने यात्रुहरू र ती हिमाली जिल्लाबाट नेपालगन्ज झर्नेहरू मर्कामा परेका थिए ।
आइतबारदेखि मौसम सफा भएर हवाई सेवा नियमित हुन थालेपछि खासगरी बिरामी, विद्यार्थी, पर्यटकहरूलाई सहज हुँदै गएको बताइएको छ ।
यसैगरी सडक अवरुद्ध हुँदा हवाई मार्गतर्फ यात्रुहरूको चाप बढेको छ । नेपालगन्जबाट काठमाडौँ जाने यात्रुहरूको सङ्ख्या सामान्य भएपनि काठमाडौँबाट नेपालगन्ज आउने विमानमा यात्रुहरूको चाप बढी रहेको नेपाल टुर एण्ड ट्राभल एजेन्ट नाट्टा बाँकेका सचिव भागीराम ओलीले जानकारी दिए ।
काठमाडौँबाट दसैँ मनाउन ढिलो फर्किने योजना बनाएकाहरू पनि टिकट नपाइने चिन्ताले अहिले नै फर्किन थालेपछि चाप बढेको उनले बताए । भारी वर्षाका कारण विभिन्न ठाउँहरूमा पहिरो जाँदा काठमाडौँ प्रवेश गर्ने सडकहरू तीन दिनयता अवरुद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्