कोहलपुर ।
कोहलपुर क्षेत्रको खानेपानीको समस्या समाधानको लागि दिर्घकालिन उपायको खोजी गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । शनिबार कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थाको ९औँ वार्षिक साधारण सभामा बोल्दै सरोकारवालाहरूले यहाँको खानेपानी समस्या हल गर्नको लागि दिर्घकालिन समाधान खोज्नुपर्ने बताएका हुन् ।
कोहलपुर देखिएको खानेपानीको समस्या समाधानको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । कोहलपुर नगरपालिका कार्यबहाक नगर प्रमुख संगिता सुवेदीले संस्थाले कोहलपुरमा खानेपानी समस्या समाधानको लागि केही कामहरू गरेपनि अझैं दिर्घकालिन रूपमा सबैले सोच्नुपर्ने अवस्था आएको बताइन् ।
कोहलपुरको खानेपानी समस्या समाधान गहन छलफलको विषय बन्नुपर्नेमा उनले जोड दिइन् । ‘कोहलपुर नगरपालिका भित्रशुद्ध पानीको अभाव रहेको सबैलाई थाहा छ,’ नगर उप्रमुख समेत रहेकी सुवेदीले भनिन्, ‘विशेषगरी बजार क्षेत्रमा खानेपानी संस्थाका भर पर्नुपर्ने बाध्यता
छ ।’
यहाँको खानेपानी समस्या हल गर्नको लागि दिर्घकालीन योजना बनाएर सबै राजनीतिक दलहरू प्रदेश र संघीय सरकारसम्म बजेटको लागि जानुपर्ने उनले बताइन् । ‘विकास भन्नासाथ केन्द्रदेखि स्थानीय तहसम्म सडक, शिक्षा, स्वास्थ्य मात्रै बुझ्ने भएकाले अबको दिनमा हाम्रो जीवनमा नभइनहुने खानेपानीको बारेमा गम्भीर रूपमा सबै लाग्नुपर्छ’ उनले भनिन्, ‘त्यसका लागि कोहलपुर नगरपालिकाको सधैं साथ र सहयोग रहने प्रतिबद्धता गर्दछु ।’
कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालले आफूहरू निर्वाचित भएर आएपछि उपभोक्ताबाट पहिला रकम लिएर धारा जडान नभएका ठाउँमा ६ सय ८० धाराहरू जडान गरिएको बताए । ती बाहेक विगतमा धारा जडान भएका पूराना पाइपहरूमा चुना जमेर पानीको स्रोतको कमी रहेकाले अहिले नयाँ पाइपहरू सफा गर्ने र जडानको काम तीव्ररूपमा भइरहेको उनले जानकारी दिए ।
२०७४ सालदेखि विना दर्ता रहेको संस्थालाई कोहलपुर नगरपालिकामा दर्ता गरी वैधानिकता प्राप्त समेत गरिएको उनले बताए । हाल खानेपानी डिभिजन आयोजनाबाट ७० र ३० को अवधारणमा तीन करोड ५८ लाखमा टेन्डर भएर १ बोरिङ र २८ किलोमिटर पाइपलाइन विस्तार गरिएको अध्यक्ष भुसालले बताए ।
उनका अनुसार डिप बोरिङमार्फत मात्रै कोहलपुरको खानेपानीको समस्या समाधान गर्न सकिने अवस्था छैन । त्यसका लागि राप्ती नदीको पानी ल्याएर दिर्घकालिन समस्या समाधान गर्न आफूहरू लागिपरेको उनले जानकारी दिए ।
संस्थाका अध्यक्ष भुसालले पाइपलाइन विस्तारका क्रममा बाटो, घर तथा अन्य स्थानहरूमा केही क्षती पुगेको भन्दै माफि समेत मागे । कार्यक्रममा बोल्ने विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा लगायतले कोहलपुरको खानेपानी समस्या अब दिर्घकालिन रूपमै समाधान गर्नको लागि उपाय खोज्नुपर्नेमा जोड दिएका थिए ।
यसका लागि राज्य तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने उनीहरूले बताए । समयमै अहिले यसतर्फ नसोचे र सचेत नरहे भोलीका दिनमा खानेपानीको समस्या झेल्नुपर्ने उनीहरूको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्