जमुनाहा नाकामा संसदीय समितिको अनुगमन



समितिका सभापति अब्दुल खानले मंगलबारको अनुगमनमा आफू सहभागी नभए पनि बुधबारबाट सहभागी हुने बताउँदै चाडबाडलाई ध्यानमा राखेर सीमानाका तथा बजारको अनुगमन गर्न समिति खटिएको बताए । उनले बाँके, बर्दिया र सुर्खेतलगायतका जिल्लामा पुगेर बजार तथा केही उद्योगहरूको निरीक्षण पनि गरिने बताए ।

नेपालगन्ज ।

प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले जमुनाहा सीमा नाका तथा बजारको अनुगमन थालेको छ । अनुगमनका लागि समितिको टोली नेपालगन्जमा रहेको छ । समितिले मंगलबार नेपाल भारत नाका र एकीकृत भन्सार जाँच चौकी आईसीपीको स्थलगत निरीक्षण गरेको थियो ।

प्रतिनिधि सभाका सदस्यहरू अमृतादेवी अग्रहरी, कान्तिका सेजुवाल, रेखा यादव र शीतल मिजार सहभागी टोलीले नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधिसहित निरीक्षण गरेको हो । निरीक्षणमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले आफूहरूले जमुनाहमा रहेको भन्सारको यात्रु शाखा व्यवस्थित नहुँदा ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको र नेपालगन्जको व्यापार व्यवसायसमेत प्रभावित भइरहेकोबारे टोलीलाई जानकारी गराइएको बताए ।

यसैगरी, उक्त टोलीले आईसीपीमा रहेका भन्सारलगायतका निकायहरूको कामको प्रभावकारिता र सुधार गर्नुपर्ने उपायहरूबारे छलफल पनि गरेको थियो । संसदीय टोलीलाई बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेललगायतले सिमानाको अवस्थाबारे जानकारी गराएका थिए ।

मंगलबार नै समितिले नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीसँग सीमानाका, भन्सार र उद्योगी व्यावसायीको समग्र अवस्थाको बारेमा छलफल समेत गरेको थियो ।

समितिका सभापति अब्दुल खानले मंगलबारको अनुगमनमा आफू सहभागी नभए पनि बुधबारबाट सहभागी हुने बताउँदै चाडबाडलाई ध्यानमा राखेर सीमानाका तथा बजारको अनुगमन गर्न समिति खटिएको बताए । उनले बाँके, बर्दिया र सुर्खेतलगायतका जिल्लामा पुगेर बजार तथा केही उद्योगहरूको निरीक्षण पनि गरिने बताए ।

भन्सार चुहावटलाई कम गर्न र उपभोक्ता अधिकार सुनिश्चित गर्न तय गरिएका मापदण्डको पालना भए नभएको स्थलगत अनुगमन गरी सरकारलाई सुझाव दिइने खानले बताए । साथै निजी क्षेत्रका लागि सहज वातावरण बनाउन आवश्यक सुझावहरू निजी क्षेत्रका प्रतिनिधिहरूबाट संकलन गरेर नीतिगत सुधारका लागि पहल गरिने बताएका छन् ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधबार