मनाइयो संविधान दिवस



नेपालगन्ज ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ हर्षाेल्लासका साथ मनाऔँ
घर, कार्यालय तथा सवारी साधनमा राष्ट्रिय झन्डा फहराऔँ, दीपावली गरौँ ।’

यो सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले बिहीबार दिनभर कलर ट्युनमा बजाएको सन्देश हो । एक हिसाबले यो सरकारले नागरिकलाई संविधान दिवसलाई भव्य रूपमा मनाउन गरेको आह्वान हो । यो आह्वान अधिकांश नागरिकका कानमा पुग्यो पनि । तर, त्यसको पालना गरेको अथवा संविधान दिवसलाई घर, कार्यालय तथा सवारी साधनमा राष्ट्रिय झन्डा फहराएर मनाएको देख्न पाइएन ।

जिल्ला प्रशासन कार्यालय बाँकेको गेटमा राष्ट्रिय झन्डाहरू फहराइएका थिए । नजिकैको मालपोत कार्यालय र अदालतमा त्यसरी झन्डा फहराइएको थिएन । सडकमा पनि सवारी साधनमा राष्ट्रिय झन्डा फहराएर हिँडिरहेका मानिसहरू देखिएनन् । बरु केही संघसंस्था र संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बाँकेले औपचारिक कार्यक्रमहरू गरी दिवस मनाए ।

सात जनालाई सम्मान

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बाँके जिल्लाका साहित्यदेखि समाजसेवामा योगदान दिएका सात जनालाई सम्मान गरेको छ ।

जिल्लाका कर्मचारी तथा जनप्रतिनिधि एवम् विद्यार्थीहरू सम्मिलित कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मी, उर्दु भाषी साहित्यकार अब्दुल लतिफ शौक, ९२ कट्ठा जग्गा सामाजिक कामका लागि दान गर्ने दानवीर जयकेश सिंहलाई प्रमाणपत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

यसैगरी, नेपालगन्ज भेरी अस्पतालमा सर्वसुलभ रूपमा भोजनको व्यवस्थापन गर्ने जितेन्द्रकुमार सिंह, १ सय ७६ पटक रक्तदान गर्ने रक्तदाता गोपीलाल वैश्य, ६५ पटक रक्तदान गर्ने रक्तदाता सरिता ज्ञवाली र योग प्रशिक्षक गिरीराज भट्टराईलाई पनि सम्मान गरिएको छ ।

संविधान वाचन गरियो

सार्वजनिक सरोकारका विषयमा अदालतमा पैरवी गर्दै आएका कानुन व्यवसायीहरूको समूह पिआइएल ग्रुप नेपालगन्ज एवम् सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगन्जमा संविधान वाचन कार्यक्रम गरेको थियो ।

संविधान कार्यान्वयनमा आएको नौ वर्षमा पुग्दा संविधानमा भएका व्यवस्थाहरूबारे जागरण फैलाउने र संविधानमा भएका व्यवस्थाको कार्यान्वयनप्रति ध्यानाकर्षण गराउने उद्देश्यले संविधानको वाचन गरिएको पिआइएल ग्रुपमा सहसंयोजक अधिवक्ता लोकबहादुर शाहले जानकारी दिए ।

संविधान नेपाली र अवधी भाषामा वाचन गरिएको थियो । कार्यक्रममा नेपालगन्ज उपहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की र कानुन व्यवसायीलगायतले पालैपालो संविधान वाचन गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार