बाँके ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्यलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरीमा मंगलबार भएको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
एमाले प्रदेशसभा संसदीय दलको विधान, २०७५ बमोजिम प्रदेशसभा संसदीय दलको कार्य प्रणालीलाई अनुशासित र व्यवस्थित गर्न आचारसंहिता जारी गरेको दलका उपनेता भोजप्रसाद श्रेष्ठले बताए । सस्तो लोकप्रियता आर्जनमा लाग्ने प्रवृत्तिको अन्त्य तथा आर्थिक प्रलोभनबाट सदस्यहरूलाई मुक्त गर्नु आचारसंहिताको उद्देश्य रहेको उनले जानकारी दिए ।
जनप्रतिनिधिको क्षेत्रगत कामसँग बाझिने कुनै पनि उपभोक्ता समिति, सरकारी तथा गैरसरकारी र वित्तीय संस्थाका कार्यकारी पदमा रही भूमिका निर्वाह गर्न नपाइने, जिम्मेवारीमा रहेको भए अलग हुन आचारसंहिताले निर्देशित गरेको छ ।
लैंगिक, यौनजन्य विभेद तथा अशिष्ट अभिव्यक्तिजस्ता दुव्र्यवहार गर्न नपाइने, असल शासनका हरेक पक्षमा जिम्मेवार हुने, पारदर्शी र कुशल जनप्रतिनिधिको रूपमा स्थापित हुनुपर्ने, उच्छृंखल र अराजक गतिविधि एवम् सामाजिक सञ्जालमा पार्टी नीति विपरीत क्रियाकलाप गर्न नहुने उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्