यू–१९ महिला विश्वकप क्वालिफायर : २९ खेलाडी बन्द प्रशिक्षणमा



शिवु खनाल । दाङ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला विश्व एसिया क्वालिफायरको तयारी तथा खेलाडी छनोटका लागि २९ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानले सोमबार पहिलो चरणको बन्द प्रशिक्षण क्याम्पमा २९ खेलाडी बोलाएको हो ।

आईसीसी यू–१९ महिला विश्व एसिया क्वालिफायरको तयारी तथा खेलाडी छनोटका लागि सोमबारदेखि लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिलो चरणको बन्द प्रशिक्षण क्याम्प सुरु भएको छ ।

बन्द प्रशिक्षण भदौ ३१ गतेदेखि दाङको लमहीमा १५ दिनसम्म सञ्चालन हुनेछ । पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा बोलाइने नेपाल क्रिक्रेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोकामगरले जानकारी दिए ।

यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया क्वालिफायर सन् २०२४ नोभेम्बरमा यूएईमा हुने तय भएको छ । त्यसैगरी यू–१९ महिला विश्वकप सन् २०२७ मा नेपालमा आयोजना हुनेछ । यस विश्वकपमा १४ देशको सहभागिता रहनेछ ।

नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय अम्पाएर सञ्जय गुरुङका अनुसार केही खेलाडी यसभन्दा पहिले नै छनोट भइसकेका छन् भने केही जिल्ला वा प्रदेशबाट उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीलाई पनि प्रशिक्षणमा सहभागी गराइनेछ । त्यसका लागि नेपाल क्रिकेट संघले आफैँ छनोट प्रक्रिया गर्ने गुरुङले बताए ।

पहिलो चरणको बन्द प्रशिक्षण खेलमा विराटनगरबाट प्रमुख प्रशिक्षकको रूपमा महेश रिजाल आइपुगेका छन् । नेपाल क्रिकेट संघको भदौ १३ गते बसेको केन्द्रीय समितिको बैठकले दाङको लमहीमा रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा प्रशिक्षण खेल राख्ने निर्णय गरेको हो ।

क्यानले बन्द प्रशिक्षणका लागि बेलाएका खेलाडीहरूमा सोनी पाख्रिन, एली यादव, मनीषा उपाध्याय, करिस्मा गुरुङ, बिपिसा शाही, पूजा साउद, सना प्रविन, प्रतिमा साह, स्नेहा महरा, सावित्रा धामी, अनु कठायत, मनीषा बोहरा, करिस्मा थापा, रविना साउद, किरण कुमारी कुँवर, तिर्सना विक रहेका छन् ।

त्यसैगरी, रिया शर्मा, एलिसाकुमारी यादव, भवानी कमाती, आरती महतो, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, निरु जिटी, आश्मा मगर, सरिना थापा, ज्योत्स्ना मरासिनी, रचना चौधरी र सुष्मिता भुसाल पनि बन्द प्रशिक्षणमा परेका छन् ।

प्रकाशित मिति : २०८१ असोज १ गते मंगलबार