बाँके ।
राप्ती सोनारी गाउँपालिका–५ विनौनामा दुई युवामाथि खुकुरी प्रहार गरेको घटनामा जिल्ला अदालत बाँकेले एक जना वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आइतबार न्यायाधीश दीपक घिमिरेको एकल इजलासले थुनामा रहेका राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज वलीसहित थप चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
शुक्रबारदेखि थुनछेक बहस सुरु भएको थियो । सरकारी वकिल पाँच जनासहित जाहेरीवालाका तर्फबाट दश जना वकिलले बहस सकेका
थिए । त्यस्तै प्रतिवादीको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए ।
राप्ती सोनारी–२ का ३२ वर्षीय बामे भन्ने चूडामणि वली, ३२ वर्षीय रत्न भण्डारी, ३७ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर डाँगी र नेपालगन्ज उपमहानगरपालिका–६ का ३१ वर्षीय बाला भनिने सन्तोष गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका सूचना अधिकारी सुरेश मल्लले जानकारी दिए ।
नवीन भण्डारी भनिने नवीन गुरुङ, ऋृषि भनिने पूर्णचन्द्र देवकोटा, आगमनप्रताप सिंह, विशाल बस्नेत र नारायण डाँगी भनिने नारायण डिसी फरार छन् ।
विनौना चोकमा गत भदौ १ गते शनिबार बेलुकी करिब साढे ७ बजेतिर राप्ती सोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ परशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले आक्रमण गरेको थियो । घाइते दुबै जनाको भारतको लखनउमा उपचार भइरहेको
छ ।
वडाध्यक्ष वलीसहित अन्य चार जनालाई घटना भएकै राति प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो । फरार रहेका लोकेन्द्र भनिने लोकबहादुर डाँगीलाई प्रहरीले केही दिन पहिले मात्रै पक्राउ गरेको हो । तर खुकुरी तथा खुँडा प्रहारमा संलग्न भएको आरोप लागेका पाँच जनालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
उनीहरू फरार रहेका छन् । घाइतेमध्ये सन्दिप विष्टकी २८ वर्षीया श्रीमती चेतना पुरी विष्टले भदौ २ गते वडाध्यक्ष वलीसहित नौ जनाविरूद्ध ज्यानमार्ने उद्योगअन्तर्गत लिखित उजुरी दिएकी थिइन् ।
यस्तै, जिल्ला अदालतमा आइतबार थुनछेक बहस चलिरहँदा अदालत बाहिर दुवै पक्षले दिनभर धर्ना दिएका थिए । अदालतको प्रवेशद्वारअगाडि पीडित पक्ष र निर्दोष पक्षले एक अर्कालाई फसाइएको भन्दै धर्ना दिएका हुन् ।
ठूलो सङ्ख्याका खटिएको प्रहरी टोलीले बीचमा बसेर दुवै पक्षलाई एक ठाउँमा आउन दिएको थिएन । दुवै पक्ष ब्यानरसहित अदालतको प्रवेशद्वारको दुईतिर भुइँमा बसेका थिए । पीडित पक्षले ज्ञानेन्द्र नै घटनामा संलग्न रहेको बताइरहँदा अर्काे पक्षले उनी घटनामा संलग्न नरहेको र फसाइएको बताइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्