बाँके ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । वडा नम्बर ६ र ७ को सीमामा पर्ने रम्मा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार आइतबार राति खोलामा आएको बाढीले मोटरसाइकलमा सवार मुसिकोट नगरपालिका–४ का ५० वर्षीय सर्जन पुन र वडा नम्बर ६ की ३२ वर्षीया निर्मला थापा केसीलाई बगाएको थियो । खोलाले बगाएका दुबै जनाको शव सोमबार बिहानमात्र फेला परेको डिएसपी पोखरेलले बताए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार रा६प २९६१ नम्बरको मोटरसाइकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरूले खोलामा आएको बाढीले बगाएको थियो ।
दुबै जनाको शव खोलामै मोटरसाइकल र ढुंगाले च्यापिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । मध्यपहाडी लोकमार्गमा पर्ने यो खहरे खोलामा आइतबार भारी वर्षाका कारण ठूलो बाढी आएको थियो ।
रुकुम पश्चिम प्रहरीका अनुसार मोटरसाइकल केसीले चलाएकी थिइन् । रातको समय भएकाले खोलामा ठूलो बाढीको आंकलन गर्न नसकेर तर्न खोज्दा बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्