तीज व्रत : हिजो, आज र भोलि



तीजको दिन गाउँटोलका दिदीबहिनीहरू जम्मा भई नाच्ने गाउने गर्दथे । गीतहरूमा भगवान्का भजनकिर्तनले अलि बढी प्राथमिकता पाउने गर्दथे । त्यसका साथै दिदीबहिनीका दुःखपीडा र माइतीदेखि टाढा नौडाँडा काटेर पराइघर जानुको पीडा गीतहरूमा मुखरित हुने गर्दथे । जस्तै, ‘यो सालको तीजमा हे दिदी बहिनी हो, मेरा दुःख भन्छु म सुन सबैले ।’ ‘सात वर्ष नहुँदैमा सहत्तरी वर्षको, वर खोजी दिन्छन् मलाई बिना हर्षको’, ‘मेरो माया मान्दा हुन् त बाबा लिन आउँदा हुन्’, कागजको चिर्कटामा जान्न बरिलै’ आदि आदि ।

जीतबहादुर शाह ।

हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गलमा गएर शिवजीको तपस्या गर्न थालिन् ।

जीतबहादुर शाह ।

लामो समयसम्म तपस्या गर्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन पार्वतीले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव र पार्वतीको विवाह हुन पुग्यो । पार्वती निराहार व्रत बसेको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो ।

शिवजीलाई वरको रूपमा पाइसकेपछि पनि हिमालय पुत्री पार्वतीले भगवान् शिवको सुस्वास्थ र आरोग्यताका निम्ति आफ्नो तपस्या पूरा भएको दिनमा व्रत बस्ने काम जारी राखेकी थिइन् । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई अविवाहित नारीहरूले आफ्नो मन परेको वर पाउनका लागि र विवाहित नारीहरूले वरको सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै उत्सवको रूपमा मनाउन थाले र यसरी तीज मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

भाद्रको शुक्ल तृतीय बल्ल आएको छ तर तीज भने महिनादिन अघि नै सुरु भएको छ नेपाली समाजमा । तृतीयाको अघिल्लो दिन दर खाने दिन भनेर क्यालेन्डरमा लेखिएको छ र हो पनि त्यही । तर महिनादिन अघिदेखि नै दर खाने कार्यक्रम सुरु भएको छ । दर पनि हिजोआज घरमा खाइँदैन । पार्टी प्यालेस र होटलहरूमा खाइन्छ । दर खानेमात्र होइन पिइन्छ पनि । हिजोआज दरमा दिदीबहिनी मात्र हुँदैन ।

दाजुभाइ र पुरुषमित्र अर्थात केटा साथीहरू पनि समावेश हुने गर्दछन् । कति केटाहरू त ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ भनेझैँ नाच्ने पनि गर्छन् । केटाहरू तीजमा नाचेनन् भने नाच्ने र हेर्ने दुबै पक्षलाई मजै नआउने पनि भइसकेको छ ।

तीजका गीत बनाएर युट्युबमा भ्युज बढाएर नाम र दाम दुबै कमाउने कलाकारहरू पनि बगे्रल्ती छन् । श्रीमान्को समुन्नति, सुस्वास्थ्य र दीर्घायूको निम्ति पौराणिक कालदेखि आरम्भ भएको यो ब्रतको मर्म अहिले अलि फेरिएको हो कि झँै लागेको छ । कतिपय घरपरिवारमा त महिनादिनदेखि सुरु हुने दर खाने कार्यक्रमले श्रीमान्ले उल्टै खानपिनको राम्रो बन्दोबस्त नहुने भएका कारणले झनै स्वास्थ्य बिग्रिएर दीर्घायूको सपना अल्पायूतिर झर्ने हो कि झैँ आभास हुन थालेको छ ।

समय र समाजको परिवर्तनसँगै तीजमा गाउने गीत र तीज मनाउने शैली फेरिएको छ । पहिले हाम्री आमाहरूको पालामा भाद्र शुक्ल तृतीयाको अघिल्लो रात अबेरसम्म बसेर दर खाने र भोलिपल्ट तृतीयाको दिन निराहार व्रत बस्ने, बेलुकी भगवान्को पूजा गरेर फलफूल खाने प्रचलन
थियो । नुहाउन नदी वा कलकल बग्ने खोलाको किनारमा जाने गरिन्थ्यो । सकभर त्यस्तो स्थल त्रिवेणी भएमा अझै राम्रो मानिन्थ्यो । दर खाने रातदेखि सुरु भएको तीजको महोत्सव र नाचगान हरितालिका तीजको दिनसम्म रहन्थ्यो । तीजको दिन गाउँटोलका दिदीबहिनीहरू जम्मा भई नाच्ने गाउने गर्दथे ।

गीतहरूमा भगवान्का भजनकिर्तनले अलि बढी प्राथमिकता पाउने गर्दथे । त्यसका साथै दिदीबहिनीका दुःखपीडा र माइतीदेखि टाढा नौडाँडा काटेर पराइघर जानुको पीडा गीतहरूमा मुखरित हुने गर्दथे । जस्तै, ‘यो सालको तीजमा हे दिदी बहिनी हो, मेरा दुःख भन्छु म सुन सबैले ।’ ‘सात वर्ष नहुँदैमा सहत्तरी वर्षको, वर खोजी दिन्छन् मलाई बिना हर्षको’, ‘मेरो माया मान्दा हुन् त बाबा लिन आउँदा हुन्’, कागजको चिर्कटामा जान्न बरिलै’ आदि आदि ।

देशमा बहुदल आउनुपूर्व पञ्चायती व्यवस्थाले शासन गर्दाताका राजनीतिक स्वतन्त्रता अहिलेजस्तो थिएन । राजा र व्यवस्थाको विरोध गर्न मिल्दैनथ्यो । त्यतिबेला व्यवस्थाको विरुद्धमा लाग्नका लागि राजनीतिक चेत भएका सचेत व्यक्तिहरूले राजनीतिक व्यवस्था र सामाजिक कुरीतिको विरुद्धमा आवाज उठाउने पर्वको रूपमा समेत तीजलाई लिने गर्थे ।

यस्ता गीतहरूमा ‘कोही पुग्छन् कोठीभित्र कोही पुग्छन् जेलमा, बन्दी बनी बित्छ जीवन आँसु भेलमा’, ‘घरघरमा खुसी छायो भन्छन् दुष्ट नेताले, झुपडीको हाल के छ भन जनताले’, ‘एकजुट भई दिदीबहिनी दाजुभाइ उठेर, तानाशाही राज्यसत्ता फालौं जुटेर’ जस्ता गीतहरू गाउने
गरिन्थ्यो । अहिलेको राज्यसत्तामा पुगेका कतिपय महिला नेत्रीहरू तीज महोत्सवबाटै धरपकडमा परेर हिरासत र जेलसम्म पुग्ने स्थिति पनि हुन्थ्यो । अहिले भने त्यस्तो छैन । खान नपाए पनि बोल्न मजैसँग पाइएको छ । त्यही भएर होला तीज गीतका भाषा र भावहरू पनि फेरिएका छन् । तीज गीतमा गरिने अभिनयका रसहरू पनि फेरिएका छन् ।

हाम्रा तीजका गीतहरू पहिले–पहिले भक्तिभाव र भक्ति धाराबाट अघि बढेका थिए । त्यसपछिका गीतहरू करुणा र सामाजिक भावहरू समेट्दै अघि बढेको देखिन्छ । अहिले आएर तीजका गीतहरूमा त्यो भन्दा पनि फट्को मारेर भट्किलो पाराले अघि बढेका छन् । सामाजिक सद्भाव, सामाजिक वास्तविकता र जनजीवनको यथार्थलाई प्रतिबिम्बन गर्नुको सट्टा युट्युब र सामाजिक सञ्जालहरूमा भ्यूज बढाउने उद्देश्यले निर्देशित देखिन्छन् अहिलेका तीजका गीत र सङ्गीतहरू ।

व्यापारलाई प्राथमिकता दिएर गाइने र बजाइने तीजका यसप्रकारका गीत र सङ्गीतहरू उत्तरआधुनिकताको सङ्क्रमणबाट थला परेका छन् भन्दा अतिशयोक्ति नहोला । पहिलेका तीजका गीतहरूमा सासूबुहारी, आमाछोरी, बाबुछोरी, दाजु बहिनी आदिका बीचको बेमेल, विवशता, अभाव, गरिबी, पीडा आदि छचल्किन्थे भने अहिले त्यो सवाल अलि ओझेलमा परेको छ । अहिले यौन, मादकता, उत्तेजनात्मक अभिनय, अश्लीलता आदि अलि बढी छचल्किएको आभास हुन्छ ।

थाहा छैन, हामीले विचार अभिव्यक्तिको स्वतन्त्रतालाई उचित तरिकाले उपयोग गरिरहेका छौँ वा अनुपयुक्त तरिकाले ? हाम्रो विचार अभिव्यक्तिले समाजलाई के कस्तो असर परिरहेको छ ? नकारात्मक कि सकारात्मक ? बिच्च–बिच्चमा केटा राखेर नाचिने तीजका डगी डान्सहरूले समाजलाई के सन्देश दिइरहेका छन् ? तीजका तिनै गीतसङ्गीतहरूको प्रयोगशालाहरूको रूपमा विद्यालय र कलेजका कार्यक्रम, मञ्च र आँगनहरूमा प्रदर्शन गरिँदा हाम्रो शिक्षा र युवाशक्ति कतातिर मोडिन्छ होला ?

कतिपय अश्लील साहित्य प्रदर्शन गर्ने च्यानल-ब्युरोहरूले समेत बालबालिकाका निम्ति निषेधित भनेर लेखेको हुन्छ । तर हामी भने हाम्रा यस्ता गीतसङ्गीतहरू बालबालिकालाई दर्शकदीर्घा र अडिटोरियम हलमा राखेर प्रदर्शन गर्ने गरेका छौँ । त्यस्ता कतिपय गीतसङ्गीतमा त हामीजस्ताको कोरियोग्राफीमा साना नानीबाबुहरूले नै अभिनय गरिरहेका हुन्छन् । के यो ठीक गर्दैछौँ ? के यसले हाम्रा युवा र भावी पिँढीलाई सही मार्ग निर्देशन गर्दै छ ? यस्ता सवालहरूमा गम्भीर भएर अविलम्ब सोच्नुपर्ने हो कि भन्ने लाग्छ मलाई ।

शिक्षा र चेतनाका हिसाबले हाम्रो मुलुक अन्य मुलुकभन्दा पछाडि छ । यस्ता मुलुकहरूका नागरिकलाई राम्रोले भन्दा नराम्रोले बढी तान्ने गर्दछ । काम लाग्ने भन्दा काम नलाग्नेतिर मन बढी अल्झिने गर्दछ । यस्तो अवस्थामा व्यक्तिगत स्वार्थ र पैसामुखी मानसिकताबाट कलाकारजस्ता बुद्धिजीवीहरू लागे भने मुलुकका निम्ति त्योभन्दा ठूलो विडम्बना केही हुन सक्दैन भन्ने लाग्छ मलाई ।

एक त पुस्तकालय र विद्यालयहरू खुल्नुपर्ने गाउँबस्तीहरूमा मदिरालय र भट्टी पसलहरू खुल्ने क्रम जारी छ । त्यसमा पनि इतिहासमा चेतनाको दियो बाल्ने काम गरेका तीजका गीतहरूले समेत मदिरा र अश्लील गतिविधिहरूलाई प्रश्रय दिने काम भयो भने आशाको दियो नै अब के बाँकी रहला र ?

विष्णु माझीको एउटा नयाँ कारुणिक गीत आउँदा कति दर्शक र श्रोताहरूले तिर्खाएको बेला एक गिलास भए पनि पानी पाएको महसुस गरिरहेका छन् । प्रतिक्रियाहरू पनि त्यही किसिमबाट प्राप्त भइरहेका छन् । यसबाट सन्देश के बाहिर आएको छ भने तीजका गीतहरूमा भ्यूज बढाउनका लागि अश्लीलता पस्किनु पर्दैन, मुटु छुने गरी करुणा पस्किनु भए काफी पुग्छ ।

तीजका गीतहरूको पुरानो विरासतलाई जोगाइराख्ने हो भने सरकार एवम् गैरसरकारी क्षेत्रबाट तीजका चेतनामूलक गीत र सङ्गीतका लागि कलाकारहरूलाई प्रोत्साहन मिल्नेगरी सहयोग गर्नुपर्ने आवश्यकता छ । समाज अहिले पनि लिङ्गभेद र जातिभेदको सिलौटोमा पिल्सिएको अवस्था छ । भावी पिँढीहरू अहिलै नै बालविवाहको सिकार भएर थला परेको अवस्था छ ।

छाउपडी, बोक्सी, भूतप्रेत जस्ता अन्धविश्वासहरूबाट नागरिकहरू अहिले पनि बरबाद भएको अवस्था छ । कतिपय बस्तीहरूमा कुलदेवता रिसाउँछन् भनेर बस्तुभाउ पाल्दैनन्, कतिपय उर्वर जमिनहरू खेतीपाती नगरी बाँझै छोड्छन् । यस्तो अवस्थामा चेतनाको राँको बाल्ने गरी हाम्रा तीजका गीतहरू दिदीबहिनीहरूको हृदय–हृदयमा पुग्ने हो भने मलाई लाग्छ, परिवर्तन सम्भव छ ।

राष्ट्रिय जनगणनाको २०७८ को तथ्याङ्क अनुसार पनि नेपालमा पहिलो विवाह गर्ने नेपालीहरूको औसत उमेर १९ वर्ष रहेको छ जसमा महिलाहरूको औसत उमेर १८ वर्ष हो भने पुरुषहरूको उक्त उमेर २१ वर्ष हो । लुम्बिनी प्रदेशमा १५ वर्षदेखि १७ वर्षको बीचमा पहिलो विवाह गर्ने जनसंख्या २४.४ प्रतिशत रहेको छ जसमा पुरुषहरूको प्रतिशत १४.३ रहेको छ भने महिलाको प्रतिशत ३२.१ रहेको छ ।

हामीले यसरी भइरहेको बालविवाहलाई न्यूनीकरण गर्न सक्यौँ भने मात्र पनि हरेक हिसाबले मानिसहरूको जीवनस्तर माथि उठ्ने निश्चित देखिन्छ । यस्ता समस्या र चुनौतीहरूलाई मुकाबिला गर्नका लागि नागरिक समाज, सरकारी क्षेत्र र गैरसकारी क्षेत्रले तीज गीतहरूको पुरानो विरासतलाई कायम राख्ने गरी अभियान चलाउन सकियो भने यसबाट समाज र मानिसको जीवनस्तरमा धेरै सुधार गर्न सम्भव छ ।

अन्यथा परिवर्तन र क्रान्तिको आगो ओकल्ने कुनै बेलाका तीजका गीतहरू डगी डान्सका निम्ति उपयुक्त हुँदै जाने निश्चित जस्तै देखिन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २१ गते शुक्रबार