बाँके ।
तेजप्रकाश दीक्षितको संयोजकत्वमा इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)को नेपालगन्ज शाखा समन्वय समिति गठन गरिएको छ । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)ले परिषद्को ३३३औँ बैठकबाट दीक्षितको संयोजकत्वमा नेपालगन्ज शाखा गठन गरेको हो ।
शाखाको सदस्यहरूमा चार्टर्ड एकाउन्टेन्टको तर्फबाट सागर अधिकारी, प्रवन्जन रेग्मी, मोहसिन खान र दर्तावाल लेखापरीक्षको तर्फबाट भुवनप्रसाद गैरे, अनिता कुमारी श्रेष्ठ, दीपक प्रसाद रेग्मी र सचिवमा आइक्यान नेपालगन्ज शाखाका प्रमुख श्री निर्मला चौधरी रहेका छन् ।
शाखा समन्वय समितिले सरोकारवालासँग समन्वय गर्न, सदस्यहरूको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न तालिम सञ्चालन गर्न र सेवाग्राहीहरूलाई प्रभावकारी ढङ्गले सेवा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
दीक्षितको अध्यक्षतामा शाखा समन्वय समितिको बैठक बसेर सदस्यहरूको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न कार्यक्रमहरू गर्ने निर्णय समेत गरेको छ । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) विशेष ऐन ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३’ अन्तर्गत स्थापित नियमनकारी निकाय हो ।
यसले नेपालमा लेखासम्बन्धी पेसा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दछ । यस संस्थाले चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको पहिलो विद्यार्थी सन् १९९९ मा भर्ना लिएको थियो भने सन् २००२ मा पहिलो चार्टर्ड एकाउन्टेन्ट तयार गरेको थियो ।
हाल आइक्यानमा करिब दुई हजार दुई सय जना चार्टर्ड एकाउन्टेन्ट (सीए) र करिब सात हजार एक सय रजिष्टर्ड अडिटर (आरए) सदस्यको सङ्ख्या रहेको छ ।
प्रतिक्रिया दिनुहोस्