बाँके ।
कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको छ । वनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
वन २०५३ सालमा अस्थायी मुखियासरहको पदमा सुरु नियुक्ति भई २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति भएका थिए ।
यसका लागि उनले भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एसएलसीको झुट्टा प्रमाण–पत्र पेस गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि भएको छ ।
यो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेको भनाइ छ ।
वनलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोप–पत्र दायर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्