पुल बनेपछि आवागमन सहज



नेपालगन्ज ।

नेपालगन्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमन सहज भएको छ । यसअघि पुल साँघुरो भएका कारण एकतर्फी मात्र सवारीसाधनले पुल वारपार गर्नुपर्ने सक्नेहुँदा पालो कुर्नुपर्ने अवस्था थियो ।

डुडुवामा दुई लेन फराकिलो नयाँ पुल बनेपछि सवारीसाधन आवागमनमा सहज भएको नरैनापुर–३ निवासी ताजमोहम्मद खानले बताए । नयाँ पुल सञ्चालनमा आएपछि समयको बचतसँगै दुर्घटनाको जोखिम हटेको उनको भनाइ छ ।

यो पुलको निर्माण तोकिएको समयभन्दा करिब ६ महिनाअघि नै सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।

आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी नारायणम निर्माण सेवा प्रालि नेपालगन्जले गत असारमै सम्पन्न गरेको उनले जानकारी दिए । उनका अनुसारहुलाकी सडकअन्तर्गत यसअघि निर्माण गरिएको पुल साँघुरो भएपछि नयाँ पुल निर्माण गरिएको हो ।

नयाँ पुल दुवैतर्फ १ दशमलव ७५ मिटर पदमार्गसहित ११ मिटर चौडाइको छ । दुई स्पान रहेको पुल ६६ मिटर लामो छ । १० करोड७१ लाख रुपैयाँमा पुल निर्माण हुने सम्झौतामा उल्लेख भए पनि १० करोड ४३ लाख रुपैयाँमा काम भएको आयोजना प्रमुख भण्डारीले बताए ।

यो पुल निर्माण भएपछि बाँकेको डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित नेपालगन्ज सिधनिया हुँदै अगैयास्थित पूर्व–पश्चिम राजमार्ग पुग्ने नागरिकलाई आवागमनमा सहजता भएको राप्ती सोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भदौ २० गते बिहीबार