राजनीतिक स्थिरताका लागि कांग्रेससँग गठबन्धन : महासचिव पोखरेल



बर्दिया ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा लामो समयदेखी देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससँग गठबन्धन बनेको बताएका छन् । सोमबार बर्दियाको ठाकुरद्वारामा एमाले बाँकेले आयोजना गरेको प्रशिक्षणको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

‘मुलुकमा लामो समयदेखी देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि कांग्रेससँग एमालेले गठबन्धन गरेको हो’ महासचिव पोखरेलले भने, ‘कांग्रेससँग सम्झौताअनुसार एमाले आगामी दिनमा समेत अगाडि बढ्छ ।’ एमाले महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन संगठनिक अराजकता अन्त्य हुन आवश्यक रहेकोमा जोड समेत दिए ।

नेकपा (एमाले) बाँकेको आयोजना र जिल्ला स्कुल विभागको व्यवस्थापनमा दुईदिने प्रशिक्षण ठाकुरद्वारामा भइरहेको छ । सोमबार महासचिव पोखरेलले १०औँ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका थिए । एमाले उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले माक्र्सवादी अध्ययन, जनताको बहुदलीय जनवादका विषयमा प्रशिक्षण दिएका हुन् ।

एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी संगठनका समस्या र समाधानका उपाय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पङ्तिको दायित्व र घनश्याम कोइरालाले प्रशिक्षण विधि, व्यवस्थापन शैली र कला विषयमा सहजीकरण गर्नुहुने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

उनका अनुसार नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

एमाले बाँकेका उपाध्यक्ष रत्न खत्रीका अनुसार कार्यक्रममा जिल्ला कमिटी सदस्य र पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र प्रदेश कमिटीका सदस्य गरि १५० जनाले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : २०८१ भदौ १८ गते मंगलबार