लुम्बिनीमा कोहलपुर वितरण केन्द्रमा सबैभन्दा कम विद्युत् चुहावट



बाँके ।

गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र अन्तर्गत भएको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आव २०८०/०८१ लुम्बिनीमा सबैभन्दा कम कोहलपुर वितरण केन्द्रमा विद्युत् चुहावट भएको देखिएको हो ।

लुम्बिनी प्रदेशमा २० वटा वितरण केन्द्रहरू रहेका छन् । तीमध्ये सबैभन्दा कम विद्युत् चुहावट कोहलपुर वितरण केन्द्रमा पाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्यांक अनुसार कोहलपुर वितरण केन्द्रमा पछिल्लो एक वर्षको अवधिमा विद्युत् चुहावट ३.२७ प्रतिशत रहेको थियो ।

यो अवधिमा सबैभन्दा बढी चुहावट भने कपिलबस्तुको तौलिहवा वितरण केन्द्रमा रहेको छ । तौलिहवा वितरण केन्द्रमा १९.५५ प्रतिशत विद्युत् चुहावट भएको थियो । प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले तराईको दक्षिणी भेगमा औद्योगिक ग्राहक कम रहेका कारण प्राविधिक चुहावट उच्च रहेको जानकारी दिए ।

ती क्षेत्रमा ३३ केभीको वितरण लाइन एउटा बुटबलदेखि गएको र अर्को चनौटाबाट लगिएकाले लामो भएको र लामो लाइनमा चुहावट धेरै हुने पाण्डेले बताए । ‘यी क्षेत्रमा विद्युतका संरचना पनि धेरै पुराना छन्, ग्राहक बढेको बढ्यै छन्,’ पाण्डेले भने, ‘अलिअलि चुहावट (चोरी) पनि छ । डिभिजनअन्तर्गतका वितरण केन्द्रको वितरण चुहावटतर्फ सबैभन्दा कम कोहलपुरको छ ।’

ऊर्जा खपत, विद्युत् बिक्री आय र ग्राहक संख्याका आधारमा बागमती र मधेस प्रदेशपछि उच्च रहेको लुम्बिनीमा समग्र प्रदेशको विद्युत् चुहावट भने ७.६७ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा ५ लाख ५१ हजार ८ सय ३६ ग्राहक सङ्ख्या रहेको छ ।

लुम्बिनी प्रदेशमा प्राधिकरणले आव २०८०/८१ मा वार्षिक १३ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २०८१ भदौ १८ गते मंगलबार