जिसस प्रमुख र कांग्रेस प्रवक्ताबीच कुटाकुट



बाँके ।

जिल्ला समन्वय समिति (जिसस) अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस अछामका प्रवक्ता पदमबहादुर शाहबीच कुटाकुट भएको छ । समन्वय समितिको कार्यालयभित्रै रहेको समन्वय प्रमुखको निवासमा मदिरा पिएर दुबै जनाले आइतबार राति कुटाकुट गरेका हुन् ।

मध्यरातिसम्मै चलेको ‘मदिरा पाटी’मा सुरक्षित आवास गृह (सेफहाउस) र कांग्रेस जिल्ला नेतृत्वको विषयमा भनाभन हुँदा उनीहरूबीच कुटाकुट भएको बताइएको छ ।

जिसस प्रमुख कुँवर कांग्रेसबाटै निर्वाचित भएका हुन् । उनीहरूबीच कुटाकुट भएको खबर पाएपछि राति नै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल मंगलसेनमा स्वास्थ्य परीक्षण गराएको थियो । स्वास्थ्य परीक्षण गर्दा उनीहरूले मदिरा सेवन गरेको देखिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्वाजका अनुसार दुबै जनालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको घाँटी, हात र छातीमा चोट लागेको डा. भारद्वाजले जानकारी दिए ।

अछाममा जिससले जिम्मा लिएर सेफहाउस सञ्चालन गर्ने विषयमा कांग्रेसभित्र दुई थरी धारणा रहेको छ । सेफहाउस जिससको मातहतमा रहन नहुने पक्षमा प्रवक्ता शाहको समूह छ भने कुँवरको समूह जिससले नै सेफहाउस सञ्चालन गर्नेुपर्ने पक्षमा छ ।

आफूमाथि नियोजित रूपमा कुटपिट भएको भन्दै कुँवरले प्रहरीमा उजुरी दिएका छन् । शाहले पुरानै रिसइबीका कारण यस्तो गरेको हुनसक्ने उनले बताए ।

यता सेफहाउसको विषयसँगै पार्टी नेतृत्वको चर्को विरोध गरेपछि झगडा सुरु भएको शाहले जानकारी दिए । आफूलाई एक्कासि अश्लील गालीगजौज गरेर आक्रमण गरेपछि त्यसको प्रतिकार मात्र गरेको उनले बताए । आफूलाई एकोहोरो कुटपिट गरेपछि प्रतिकार मात्र गरेको उनी बताउँछन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । नेपाली कांग्रेसले भने पार्टीभित्रको आन्तरिक विवाद रहेकाले आफूहरूले नै मिलाउने बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ भदौ ११ गते मंगलबार