पहिरोमा परी केदारनाथमा दैलेखका एकसहित चार नेपालीको मृत्यु



बाँके ।

भारतको उत्तराखण्ड प्रदेशको केदारनाथनजिकै बिहीबार राति गएको पहिरोमा परी चार नेपाली नागरिकको ज्यान गएको पुष्टि भएको छ । उत्तराखण्डको रुद्रप्रयागबाट करिब ८० किलोमिटर टाढा केदारनाथ जाने बाटोमा फाटानजिकै गएको पहिरोमा उनीहरू परेका थिए ।

पहिरोमा परी मृत्यु भएका सबै नेपालीहरूको सनाखत भइसकेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दुतावासका अनुसार मृत्यु हुनेमा १ जना दैलेखका र ३ जना चितवनका नागरिक रहेका छन् ।

मृत्यु हुनेमा चितवनको माडी नगरपालिका–२ शीतलपुरका तुलबहादुर दमै, वडा नम्बर भङ्गताका कृष्णबहादुर परियार र वडा नम्बर ५ छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपाली रहेको दूतावासका काउन्सिलर उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

सोही पहिरोमा परी दैलेखका दीपक बुढाको समेत मृत्यु भएको छ । उनको सबै ठेगाना खुलेको छैन । सडकछेउमा छाप्रो बनाएर बसेका चारै जनालाई पहिरोले पुरेको थियो । मजदुरीका लागि त्यहाँ पुगेका सबै जना छाप्रो बनाएर बस्दै आएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनीहरू चारै जना डेढ महिनाअघि मात्रै डकर्मीको काम गर्न केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पुगेका थिए । मृतक चारै जनाको शव रुद्रप्रयागस्थित सरकारी अस्पतालमा राखिएको स्थानीय प्रहरीले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शव गृह मन्त्रालयमार्फत भारतीय दूतावाससँग समन्वय गरेर नेपाल ल्याइने बताए । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भदौ ८ गते शनिबार