हाम्रो पूर्णिमाले थाल्यो श्रम शिविर



कोहलपुर ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले गत साता पुष्करनाथ रिजालको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेसँगै आक्रामक ढंगले आफ्ना गतिविधि अगाडि बढाएको छ । नयाँ कार्यसमिति निर्माण भएसँगै समिति नयाँ जोस र जाँगरका साथ विभिन्न गतिविधिमा सक्रिय हुन थालेको
हो ।

प्रतिष्ठानले मंगलबारदेखि तीनदिने श्रम शिविर सुरु गरेको छ । सो श्रम शिविरअन्तर्गत प्रतिष्ठानको बहुउद्देश्यीय भवन निर्माण स्थलमा तारबार गर्नुका साथै वृक्षरोपण गरिने भएको छ । सो स्थानमा तत्काल भवन निर्माण गरेर कार्यालय स्थापना गरिने योजनासहित तारबार र वृक्षरोपण गरिएको नवनिर्वाचित अध्यक्ष रिजालले जानकारी दिए ।

कला, भाषा र साहित्यलाई केन्द्रबिन्दुमा राखेर योजनाबद्ध तरिकाले विभिन्न कार्यक्रम गर्ने तयारी गरिरहेको प्रतिष्ठानले कोहलपुर नगरपालिकाले भोगचलन गर्ने गरी विगतमा उपलब्ध गराएको करिब दुई कठ्ठा जमिनमा थिएटरसहितको हल तथा कार्यालय निर्माणका लागि डिपिआर तयार गरी विभिन्न निकायमा गरिँदै आएको पहललाई तीव्रता दिँदै निर्माण कार्यलाई सम्पन्न गरेरै छाड्ने अठोट लिएको छ ।

साथै यसपटकको श्रम शिविरमा प्रतिष्ठानले कोहलपुर नगरपालिकाले उपलब्ध गराएको जमिनलाई सदुपयोग गर्दै थिएटरसहितको हल र कार्यालय निर्माण कार्यलाई असर नपुग्ने गरी तारबार गर्ने र वरिपरि विभिन्न प्रजातिका बोटबिरूवा रोप्ने योजना बनाएको हो ।

श्रम शिविरको पहिलो दिन नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य महानन्द ढकालसहित, सल्लाहकारहरू सागर गैरे र दामोदर पौडेल, प्रतिष्ठानका पदाधिकारीहरू तथा साहित्यकारहरू बद्री ढकाल तथा बिक्रम शिशिरको उपस्थिति रह्यो ।

श्रम शिविरको पहिलो दिन तारबारका लागि पोल गाड्ने, वृक्षरोपणका लागि खाडल खन्ने र खाडलहरूमा मल हाल्ने कार्य सम्पन्न भएको छ भने दोस्रो दिन तारबार लगाउने र परिसर क्षेत्र सरसफाइ गर्ने रहेको छ ।

त्यसैगरी श्रम शिविरको तेस्रो दिन वृक्षरोपण गर्ने कार्यक्रम रहेको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको यस अभियानमा जोडिने सम्पूर्ण साहित्यकारहरूलाई हार्दिक धन्यवादसहित बाँकी दुई दिनसमेत प्रतिष्ठानको यो अभियानमा सहभागी भएर सहयोग गर्न प्रतिष्ठानका सचिव निमेष निखिलले सबैमा हार्दिक अनुरोध गरे ।

नयाँ कार्यसमितिको पहिलो बैठकले प्रतिष्ठानका उपाध्यक्ष खोपीराम ओली क्षेत्रीको संयोजकत्वमा आख्यान तथा समालोचना विभाग गठन गरेको छ भने प्रतिष्ठानका सहसचिव प्रकाश मरासिनीको संयोजकत्वमा रचना वाचन विभाग गठन गरेको छ ।

त्यसैगरी कला विभाग गठनको तयारीमा रहेको प्रतिष्ठानले उनन्पचासौँ अंक प्रकाशनपछि केही समय स्थगित रहेको ‘हाम्रो पूर्णिमा’ पत्रिकालाई समेत निरन्तरता दिँदै पचासौँ अंक प्रकाशनलाई तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८१ भदौ ५ गते बुधबार