साइबर सुरक्षाबारे विद्यार्थीलाई सचेतना



कोहलपुर ।
कोहलपुरमा शनिबार साइबर सुरक्षाबारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालले आयोजनामा साइबर सुरक्षाबारे सचेतनामुलक कार्यक्रम भएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले विशेषगरी साइबर अपराधमा पीडित र पीडक (अपराधी) का रूपमा बालबालिकाको संलग्नताको विषयलाई अहिलेदेखि नै पर्याप्त सम्बोधन नगरे भविष्यमा अपराधको ग्राफ निकैमाथि उक्लिने निश्चित भएको बताए ।

त्यसैले अहिलेदेखि नै सबै बालबालिका तथा युवाहरू सचेत हुन आवश्यक रहेको उनको भनाई रहेको थियो । ‘घरका काममा व्यस्त हुँदा बालबालिकाले काममा बाधा अवरोध नगरून् भनेर पछिल्लो समय मोबाईल थमाइदिने प्रचलन बढ्दो छ,’ नगर प्रमुख आचार्यले भने, ‘ अहिले शिशु उमेरदेखि नै बालबालिका मोबाइलसँग परिचित हुने गरे ।’

उनले भने, ‘अनलाइन गेमिङ मात्र होइन, पछिल्लो समय पठनपाठन पनि अनलाइनबाटै हुने गरेको हुन्छ । तर, पढाइकै बारेमा केही विस्तृत खोज गर्नुपरे, कुनै जानकारी चाहिए सजिलै इन्टरनेटबाट खोज्न सकिने भएपनि सदुपयोग हुन सकेन ।’तर इन्टरनेटको प्रयोग आवश्यक भएपनि यसको दुरुपयोग रोक्न अभिभावकहरुको भूमिका समेत महत्वपूर्ण हुने नगर प्रमुख आचार्यको भनाइ छ ।

यस्तै कोहलपुर नगरपालिका रोजगार शाखा प्रमुख आशिष बर्माले पनि साइबर सुरक्षाका बारेमा सबै बालबालिकालाई सचेतना फैलाउन आवश्यक रहेको बताएका थिए । कोहलपुर नगरक्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरेर लुम्बिनी प्रादेशिक विश्वविद्यालय नेपालगन्जका रजिष्टार रेगबहादुर भण्डारीले प्रशिक्षण दिएका थिए ।

इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै र मोबाइल, ल्यापटपजस्ता डिभाइसमाथिको पहुँच बढ्दै जाँदा यसलाई सामान्य मान्न सकिए पनि साइबर संसारबारे बालबालिकालाई शिक्षा दिन अत्यन्त जरूरी रहेको भण्डारीको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ भदौ २ गते आइतबार