कोहलपुर ।
कोहलपुर बागेश्वरी ई.मी स्कुलका विद्यार्थीहरूले दैनिक उपभोग्य वस्तुमा हुने मिसावट तथा विषादी प्रयोगबाट स्वास्थ्यमा पर्ने असरको बारेमा जानकारी गराएका छन् ।
बुधबार स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूले मिसावट र विषादीरहित भोजन स्वस्थ जीवन नामक सचेतना कार्यक्रम अन्तर्गत मदनचोकमा रहेका खाद्यान्न पसल, तरकारी पसल, फलफूल, मिठाई पसलमा विषादी प्रयोगबाट स्वास्थ्यमा पर्ने असरको बारेमा जानकारी गराएका थिए ।
मदनचोक र कोहलपुर हाटबजारमा सञ्चालित तरकारी तथा फलफूल पसलहरूमा ‘आधिकारिक विषादी प्रयोग गरिएका र मिसावट गरिएका खानेकुरा नबेचौँ, नखाऔँ र स्वास्थ्यमा खेलवाड नगरौँ’ भन्ने सचेतनासहितको ब्याज वितरण गरेको विद्यालयका प्रधानध्यापक कलाधर चापागाईँले जानकारी दिए ।
उनका अनुसार ब्याच वितरण गर्दै अधिक विषादी तथा मिसावट बस्तु बिक्री वितरण नगर्न बिद्यार्थीहरूले सचेतना र अनुरोध गरेका थिए । कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख वीरेन्द्र कुमार शाहले विषादीयुक्त तरकारी नबेचौँ र नखाऔँ जस्ता सचेतना कार्यक्रमले विद्यालय र विद्यार्थीहरूको शिकाइ सँगसँगै आमनागरिकलाई मद्दत पुग्ने बताए ।
यस्ता कार्यक्रमहरूले गुणस्तर खाद्यपदार्थ र तरकारीहरू आमनागरिकले उपभोग पाउने आफूले विश्वास लिएको उनको भनाई रहेको थियो ।
कार्यक्रममा कार्यबहाक नगर प्रमुखसहित, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, वडाध्यक्ष माधव रिजाल, इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख डिएसपी धर्मराज भण्डारीको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्