मुख्यमन्त्री आचार्य सबै मन्त्रीसहित काठमाडौँमा



देउखुरीस्थित मुख्यमन्त्री कार्यालय र सबै मन्त्रालयहरू खाली गरेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्रीहरू काठमाडौँ पुगेका छन् ।

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सबै मन्त्रीहरू संघीय राजधानी काठमाडौँ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामूहिक भेट गर्ने भन्दै उनीहरू मन्त्रालय नै खाली गरेर काठमाडौँ पुगेका हुन् । मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरू मन्त्रालय कहिले फर्किछन् भन्ने अझै टुङ्गो लागेको छैन । उनीहरूले प्रदेशमा बजेट माग गर्न समेत काठमाडौँ पुगेको दाबी गरेपनि लुम्बिनी प्रदेश गत आवमा काम गरेको रकम समेत भुक्तानी गर्न सकेको थिएन ।

गत आवमा संघीय सरकारबाट समानीकरण अनुदानको रकम दुई अर्ब १० करोड ९५ लाख कम आएपछि प्रदेश सरकारले विकास निर्माणतर्फको भुक्तानी गर्नुपर्ने केही रकमसमेत दिन नसकेको हो । सो रकमसहित प्रदेशको विकास निर्माणका सम्बन्धमा कुरा राख्न मुख्यमन्त्रीसहित मन्त्रीहरूको टोलि काठमाडौँ पुगेको छ ।

लुम्बिनी प्रदेशमा हाल मुख्यमन्त्रीसहित नौ मन्त्री रहेका छन् । मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । १२ सदस्यीय बनाउने तयारीमा मुख्यमन्त्री रहेपनि कांग्रेस र एमालेको सहमति अनुसार कांग्रेसबाट एक र साना दलबाट दुई मन्त्री नियुक्त हुन बाँकी छ । मन्त्रिमण्डललाई पूर्णता दिन नसकेको अवस्थामा सबै मन्त्रालय खाली गरेर मन्त्रीहरू काठमाडौँ पुगेपछि आलोचना भएको छ ।

बुधबारदेखि नै काठमाडौँ जान थालेका मन्त्रीहरू शुक्रबारसम्म सबै पुगिसकेका थिए । शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्रीले भेट गर्ने कार्यक्रम अनुसार सबै मन्त्री पुगेपनि भेटघाट कार्यक्रम दुईदिन पर सरेको काठमाडौँ पुगेका एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले लुम्बिनीको टोलीलाई समय नदिएपछि भेटघाटको कार्यक्रम पर सरेको ती मन्त्रीले बताए ।

मुख्यमन्त्रीसहित मन्त्रीहरूले व्यक्तिगत भेटघाटका साथै आफ्नो पार्टीका नेताहरूसँग भेटघाट जारी राखेका छन् । सबै मन्त्रीहरू काठमाडौँमा रहेको र आइतबार ११ बजे प्रधानमन्त्रीलाई भेट गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले जानकारी दिए ।

मुख्यमन्त्रीसहित मन्त्रीहरू काठमाडौँ पुगेपछि नियमित कामकाज समेत प्रभावित भएको छ । कर्मचारीको समेत अभाव रहेको लुम्बिनीमा एकैसाथ सबै मन्त्रीहरू काठमाडौँ पुगेपछि मुख्यमन्त्री र मन्त्री स्तरीय निर्णय गरेर गर्नुपर्ने कामहरू रोकिएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

एउटै जिल्लाबाट आठ मन्त्री

मिसन संवाददाता
बाँके, २६ साउन

मधेस प्रदेश सरकार मुख्यमन्त्रीसहित २० सदस्यीय बनाएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला मुख्यमन्त्रीसहित ६ जना मन्त्री सप्तरी जिल्लाकै रहेको खुलेको छ । त्यसबाहेक संघीय सरकारमा पनि दुई जना मन्त्री सप्तरीबाटै प्रतिनिधित्व गर्छन् । संघीय सरकार र मधेश प्रदेश सरकारमा गरी सप्तरीबाट हाल आठ जना मन्त्रीले हाल सरकारमा प्रतिनिधित्व गर्ने गरेका छन् ।

कांग्रेस–एमाले गठबन्धनको संघीय सरकारमा सप्तरीबाट दुई जना मन्त्री छन् । कांग्रेसले संघीय सरकारमा सप्तरीबाट तेजुलाल चौधरीलाई युवा तथा खेलकुदमन्त्री बनाएको छ भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सप्तरीबाट संघीय सरकारमा नवलकिशोर साहलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएको छ ।

मधेसमा जनमत पार्टीले सप्तरीबाट प्रतिनिधित्व गर्ने सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनाएको छ । जनमतले सप्तरीबाटै एक जना मन्त्री र दुई जना राज्यमन्त्री पनि बनाएको छ । जनमतबाट चुनाव जितेका सकिल अलीलाई उद्योग तथा पर्यटनमन्त्री र शम्भुकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री बनाइएको छ ।

यस्तै, रञ्जुकुमारी खंगलाई वन तथा वातावरण राज्यमन्त्री बनाएको छ । त्यस्तै एमालेले पनि सप्तरीबाट राजकुमार लेखीलाई गृह तथा सञ्चारमन्त्री बनाएको छ । कांग्रेसले पनि सप्तरीबाट मधेस प्रदेशका समानुपातिक प्रदेश सभा सदस्य नीलमकुमारी रजकलाई ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री बनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतबार