आज नाग पञ्चमी पर्व मनाइँदै



बाँके ।

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज शुक्रबार परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरु बताउँछन् ।

आज बिहानैदेखि काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ ।

कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज नाग पञ्चमीका अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । आज श्रावण शुक्ल पञ्चमीको अवसरमा प्रदेश सरकारले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय बुधबार नै गरेको थियो ।

प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषदको बैठकले नागपञ्चमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उपसचिव उत्तम गौतमले बताए ।

सोही अनुसार आज प्रदेशभरका सबै कार्यालयमा सार्वजनिक बिदा हुनेछ ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रबार