कोहलपुर ।
साहित्यकार तथा लेखक सागर गैरेद्वारा लिखित उपन्यास ‘मोहोर’को शनिबार कोहलपुरमा विमोचन गरिएको छ ।
एक समारोहकाबीच लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा कृष्णप्रसाद घिमिरे लगायतले संयुक्त रूपमा उपन्यास ‘मोहोर’को विमोचन गरेका थिए ।
प्रा.डा घिमिरेले साहित्य समाजको प्रतिबिम्व रहेकोले समाजको परिवर्तनशिल गतिलाई देखाउनुपर्ने बताए । ‘यो समाजको गतिशिलता त्यो बेलाको र अहिलेको समाजलाई ‘मोहोर’ले देखाएको छ’ उनले भने, ‘पुस्तक एक पटक लेखेर परिमार्जन गर्ने बानी बसाल्न जरुरी रहेको छ ।’
कोहलपुरका साहित्यकारले साधना र राम्रो सिर्जना गर्दै आए मदन पुरस्कारसम्म पाउने सम्भावना रहेको उनले दाबी गरे । उपन्यास ‘मोहोर’को विमोचन कार्यक्रमको आयोजना हाम्रो पूर्णीमा साहित्य प्रतिष्ठान कोहलपुरले गरेको थियो ।
साहित्यकार तथा लेखक सागर गैरेले ‘मोहोर’ स्वम् आफ्नो लागि र बाबा आमाको लागि लेखेको बताएका थिए । ‘मोहोर बाबा आमाको मात्रै कथा नभई एउटा भुगोल, बसाइँसराई र समग्रमा नेपाली कालखण्डको कथा हो’ उनले भने ।
विमोचन कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तिहरूसहित यस क्षेत्रका साहित्यकारहरूको उपस्थिती रहेको थियो । मोहोरमा पाल्पादेखि बर्दियाकासम्मका बसाँईसराईँ, इतिहास र परिवेश समेटिएको छ । ‘मोहोर’मा विशेषगरी उपन्यासकारले आफ्नो बुवालाई मुख्य पात्र बनाएका छन् ।
कोहलपुर निवासी गैरेका यसअघि समेत लकडाउन र ‘बलेगाउँदेखि बाकुसम्म’ कृति प्रकाशन भइसकेका छन् । ‘मोहोर’ उनको तेस्रो कृति रहेको छ ।
विमोचन कार्यक्रममा राजनीतिक विश्लेषक प्राध्यापक तथा लेखक प्रा.डा जनार्दन शर्मा आचार्य र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उपप्राध्यापक समालोचक तथा प्राज्ञ हरिप्रसाद तिमिल्सिनाले ‘मोहोर’ का बारेमा धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्