बाँसगढीमा दुर्घटनाले खोल्यो वन्यजन्तु तस्करीको पोल, चित्तलसहित २ जना पक्राउ



मधुर पौडेल । बाँसगढी ।

बाँसगढीबाट कोहलपुरतर्फ मरेको चित्तल लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मोतिपुरले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका– ९ थुमुनीका अन्दाजी ३७ वर्षीय जिवन चन्द र मोटरसाइकलमा सवार अन्दाजी १८ वर्षीय शेरबहादुर शाही रहेका छन् ।

प्रहरीका अनुसार बाँसगढी– ३ उत्तरभखारीमा चन्दले चलाएको भे५प ३८११ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको
थियो । साइकल यात्रीलाई ठक्कर दिएलगत्तै पक्राउ परेका दुबैजना मोटरसाइकल र बोरा छोडेर भागेका थिए ।

बोरा खोलेर हेर्दा मरेको एउटा चित्तल प्रहरीले फेला पारेपछि प्रहरी उनीहरूको खोजीमा जुटेको थियो । खोजी गर्दै जाँदा बाँसगढीस्थित कौशिल्या अस्पतालमा उपचार गराउन पुगेका बेला दुबै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको
छ । मरेको चित्तललाई बर्दिया राष्ट्रिय निकुञ्जमा प्रहरीले बुझाएको छ ।

घाइते चन्दको प्रहरी निगरानीमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ भने शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार