कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको गाउँपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वलाई बढाई पालिकालाई आर्थिकरूपमा सम्बृद्ध बनाउनका लागि जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्ने योजना बनाएको छ ।
बाँके ।
राप्तीसोनारी गाउँपालिकाले जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने भएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको गाउँपालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वलाई बढाई पालिकालाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्ने भएको हो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिले पालिकाको अर्थतन्त्रमै नकारात्मक असर पु¥याएको निष्कर्ष निकालेर नीतिगत सुधारको आवश्यकता औँल्याइएको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिए । उनले कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरणलाई जोड दिइएको पनि उल्लेख गरेका छन् ।
पालिका अध्यक्ष पौडेलले पनि कृषि तथा पशु विकास कार्यक्रममा दिइँदै आएको अनुदान वितरण प्रणालीलाई निरुत्साहित गर्दै गरिब परिवारले उत्पादन गरेका बस्तुहरू बिक्री वितरण सहजीकरण गरिने पनि नीति तथा कार्यक्रमले समेटेको बताए ।
कृषि बिमालाई प्रभावकारी बनाउन बिमा कम्पनी र किसानसँग समन्वयात्मक सञ्जाल कार्यक्रम गर्ने, सामूहिक खेती सञ्चालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, महिला लक्षित कृषि प्रविधि मैत्री कार्यक्रम सञ्चालन गर्ने, वडा नम्बर २, ७, ८ र ९ मा दुग्ध उत्पादन समूह गठन गर्ने र बाख्रा स्रोत केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रमलाई आगामी नीति तथा कार्यक्रमले जोड दिएको छ ।
उनले भने, ‘कृषि क्षेत्रलाई उद्योगका रूपमा स्थापित गरिनेछ । र, उत्पादन बढाउन कृषकलाई विभिन्न अनुदानका प्याकेजहरू ल्याइनेछ ।’ मल बीउ बिजन र सिँचाइका लागि मोटर वितरण गर्दै कृषि क्षेत्रको समृद्धिका लागि पहल गरिने पनि उल्लेख गरिएको छ ।
‘कृषकलाई मल, बीउ, कृषि सामग्री र कृषि सिँचाइ मोटर वितरण गरिनेछ,’ उनले भने, ‘कृषकका उत्पादनको संकलन तथा भण्डारणका लागि हाटबजार प्रवद्र्धन केन्द्र स्थापना गरिनेछ ।’
गाउँपालिका अध्यक्ष पौडेलले वडा नम्बर ९ मा गाउँपालिकास्तरीय तरकारी तथा फलफूल संकलन तथा बिक्री केन्द्र स्थापना गरिने जानकारी दिए । पालिकाले कृषि तथा पशुपंछीको क्षेत्रमा आगामी आर्थिक वर्षका लागि दुई करोड ६२ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको उपाध्यक्ष मनिषा सिंह थारूले जानकारी दिइन् ।
उनले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा भेटेरीनरी अस्पताल निर्माणका लागि प्रदेश सरकारसँग सहकार्य गरिने बताइन् । उनले भनिन्, ‘पशु स्वास्थ्य सेवालाई समुदायस्तरमा पु¥याउन कम्तीमा ३ वटा शिविर सञ्चालन गरिनेछ ।’ उनले पशुपालक किसानलाई उच्च प्राथमिकता दिइएको बताइन् ।
राप्ती सोनारी गाउँपालिका पशुपालनमा राम्रो सम्भावना बोकेको पालिका हो । पर्याप्त चरीचरणका कारण यहाँ व्यावसायिक पशुपालन गर्ने किसान धेरै छन् । ‘पशुपालन कार्यलाई व्यवसायका रूपमा स्थापित गरी नागरिकको आयस्तरमा वृद्धि गरिनेछ,’ उनले भनिन्, ‘दुध तथा मासुमा राप्ती सोनारीलाई आत्मनिर्भर बनाई निकासी पैठारीलाई प्रवद्र्धन गरिनेछ ।’
प्रतिक्रिया दिनुहोस्