लमही पूर्णखोप सुनिश्चितता घोषणा



शिवु खनाल । दाङ ।

लमही नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगर क्षेत्रका ९ वटा वडाका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि बुधबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका संयोजक नित्यान्द शर्माले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका थिए । नेपाल सरकारको नियमित वार्षिक कार्यक्रमअन्तर्गत पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रमको मापदण्डभित्र रहेर लमहीलाई पनि घोषणा गरिएको हो ।

समन्वय समितिका प्रमुख शर्माले स्थानीय सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘खोप आफैँमा पनि महत्वपूर्ण छ । यो कार्यक्रम निरन्तर चलिरहनुपर्छ,’ उनले भने, ‘विभिन्न चरणहरू पार गरेर पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरियो । अबको चुनौती दिगोपनाको हो । यसलाई दिगो बनाउनुपर्छ ।’

स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले खोप कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन र रोग लाग्नबाट बचाउन महत्वपूर्ण योगदान गरेको बताए । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने उनको भनाइ रहेको थियो ।

नगर प्रमुख जोगराज चौधरीले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको जानकारी दिए । स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराउँदा घोषणा कार्यक्रममा सहयोग पुगेको उनले बताए ।

लमहीमा खोपको पहुँचभन्दा कोही पनि बालबालिका बाहिर नरहेको उनले दाबी गरे । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीतिअन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनुपर्ने अवस्था नभएको नगर प्रमुख चौधरीले बताए ।

 

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार