17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

यो पो सम्मान !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ १३, २०८०  

सनत सापकोटा । कोहलपुर।

बैजनाथ गाउँपालिकाबासीमा बैजनाथ थारूप्रतिको कस्तो सम्मान रहेछ भन्ने कुरा शुक्रबारको एउटा सानो घटनाले देखाएको छ । बैजनाथ थारूको नाम आउनेबित्तिकै एक जना पाका बैजनाथबासी सार्वजनिक कार्यक्रममै घुँक्कघुँक्क रोएका छन् । बैजनाथ गाउँपालिकामा माघ १० गतेदेखि जारी महोत्सवका आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथका अध्यक्ष दुर्गाबहादुर घिमिरे रेडियोमा अन्तर्वार्ता दिँदादिँदै धुरुधुरु रोएका हुन् ।

रेडियो मिसनले महोत्सवका सन्दर्भमा कुराकानी गर्न शुक्रबार घिमिरेलाई बोलाएको थियो । सो कार्यक्रममा सुरुमै बैजनाथ थारूको प्रसंग निक्लेपछि उनी भक्कानिएर रोएका थिए । त्यसपछि उनलाई सहज तुल्याउन रेडियो मिसनका स्टेसन मेनेजर तथा कार्यक्रम प्रस्तोता बिपी अधिकारीलाई पनि हम्मेहम्मे परेको थियो ।

अनइयरमा सुरुमै भावुक भएर रुन थालेका घिमिरेले लामो समय सहज तरिकाले कुरा गर्न सकेनन् । त्यसपछि उनी हात र रुमालले आँसु पुछ्दै सकिनसकी बोल्ने प्रयास गरेका थिए । सायद उनको मनोभावना बुझेर नै होला प्रस्तोता अधिकारीले पनि फेरि बैजनाथ थारूको प्रसंगलाई कार्यक्रममा उठाउन चाहेनन् ।

बैजनाथ थारू न उनको परिवारका मानिस थिए, न उनको समुदायका । उनी बितेको पनि आज ७३ वर्ष पुगिसकेको छ । तर पनि उनको नाम लिनेबित्तिकै ७४ वर्षीय घिमिरेका आँखा यसरी बग्न थाले मानौँ उनी उनकै परिवारका कुनै महत्वपूर्ण सदस्य थिए । बैजनाथ थारूका नाममा बगेका उनका आँसुले स्पष्ट भनिरहेका थिए– यो कुनै लोलोपोतो थिएन । कसैको सम्झना वा सम्मानमा अश्रु अर्पण गर्नु चानचुने कुरा होइन ।

यो घिमिरेको बैजनाथ थारूप्रतिको अगाध सम्मान थियो । बैजनाथ थारूप्रति एकाएक यस्तो सम्मान घिमिरेमा कसरी पलायो ?घिमिरे भन्छन्– ‘बैजनाथको नाम आउनेबित्तिकै म भावुक भएँ । उहाँ वीर पुरुष, धर्ती पुत्र र प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो । उहाँ असल मन र विचार भएको व्यक्ति हुनुहुन्थ्यो । तर उहाँको योगदान र चाहना अनुसार मुलुकमा परिवर्तन हुन सकेन ।

हामीले पनि उहाँकै भूमिका यत्रो महोत्सव गरिरहँदा उहाँलाई सुरुवातमै सम्झन सकेनौँ । गल्ती भयो । उहाँलाई सम्झनेबित्तिकै म भक्कानिएँ ।’
आगामी दिनमा बैजनाथ थारूको योगदानको स्मरण गर्न नचुक्ने उनले प्रतिबद्धता जनाए । ‘उहाँको गाउँ पेरारीमा त सालिक निर्माण भएको छ,’ घिमिरेले भने, ‘मेलामा भनेजस्तो भयो भने घरेलु महासंघ बैजनाथको कार्यालय परिसरमा पनि उहाँको एउटा सालिक राख्ने सोच हिजैदेखि मैले बनाएको छु ।’

आखिर को हुन् त बैजनाथ ? पछिल्लो पुस्ताका धेरैलाई बैजनाथ थारूका बारेमा जानकारी नहुन सक्छ । उनका बारेमा जान्ने रुचि पनि धेरैमा देखिँदैन । बैजनाथ थारूकै नाममा गाउँपालिकाको नामकरण भएको छ । उनको गाउँ पेरारीमा सालिक पनि निर्माण गरिएको छ । तर पनि उनको योगदानका बारेमा धेरैलाई जानकारी छैन । उनका बारेमा जान्न चाहनेहरू पनि क्रमशः हराउँदै गएका छन् ।

पुराना पुस्ताका केही व्यक्तिले बैजनाथ र उनको योगदानको स्मरण गरे पनि पछिल्लो छिमलका धेरैका लागि उनी नौला बन्दै गएका छन् ।
को हुन् बैजनाथ थारू ?बैजनाथ थारू एक जना क्रान्तिकारी योद्धा थिए । उनी निरंकुश राणा शासनविरुद्ध लडेका सशक्त योद्धा हुन् । वास्तविक किसानका पक्षमा स्थानीय सामन्त जमिन्दारहरूविरुद्ध लड्दालड्दै उनलाई हत्याको सिकार बनाइएको थियो ।

लेखक शेखर दहितद्वारा लिखित ‘थारू जोधा’ नामक पुस्तकका अनुसार बैजनाथ थारू पेरारीका एक जना किसान थिए । केन्द्रमा राणा शासन थियो र गाउँघरमा तिनको प्रतिनिधित्व सामन्त जमिन्दारले गर्थे । उनीहरूले नै किसानलाई दबाउने गरिरहेका थिए । तिनै स्थानीय सामन्त र जमिन्दारहरूविरुद्ध बैजनाथको लडाइँ थियो । यो प्रकारान्तरले राणा शासनविरुद्धकै लडाइँ थियो ।

बैजनाथ थारूले आन्दोलनकै क्रममा यस्ता सामन्त जमिन्दारहरूलाई कुनै पनि फसलको हिस्सा नदिने अभियान चलाएका थिए । यो अभियानप्रति सामन्त जमिन्दारहरू क्रुद्ध हुनु स्वाभाविक थियो । त्यसैले उनीहरूले बैजनाथको हत्या गर्ने प्रपञ्च रचे । जमिन्दारहरूले भारतबाट भाडामा सिपाही ल्याएर पेरारी गाउँलाई चारैतिरबाट घेरा हाले । आफूलाई पक्राउ गर्न आएका सैनिकहरूलाई देखेपछि बैजनाथ घरभित्रै धानको भकारीमा लुके ।

खानतलासीका क्रममा लुकेर बसेका बैजनाथलाई सैनिकले पक्डेर बन्दुकको कुन्दैकुन्दाले हान्दै, लाठी र बुटले भकुर्दै मरणासन्न अवस्थामा छोडे । उनलाई म¥यो भनेर छाडिएको थियो । तर उनको ढुकढुकी चल्दै रहेछ । तत्काल उनलाई नेपालगन्ज अस्पताल पु¥याइयो । उपचारका क्रममा तीन दिनपछि विसं २००७ साल चैत १४ गते उनको अस्पतालमै मृत्यु भएको थियो । भनिन्छ, उनको शवयात्रामा स्वयम् विश्वेश्वरप्रसाद कोइरालासमेत सहभागी भएका थिए ।

आजभन्दा ७३ वर्षअघि बितेका एक जना सत्पात्रप्रतिको घिमिरेको अश्रु अर्पणसहितको सम्झना सच्चा श्रद्धाञ्जली नै हो । आज त्यही भूमिमा मेला महोत्सव भइरहँदा बैजनाथ थारूप्रति सम्झनासमेत नगरिने गम्भीर त्रुटि हुनपुग्दा घिमिरेको मन किन नरोओस् !

प्रकाशित मितिः शनिबार, माघ १३, २०८०     9:24:25 AM  |