करिब तीन सय प्रतिस्पर्धीबाट टप १५ मा पुगेकी नविनाले टप २० को प्रस्तुतिमा एकल महिलाको अभिनय गरेकी थिइन्, जसले पेटमा भएको बच्चालाई गर्भपतन नगराउने विषयमा श्रीमान्सँग विवाद गर्छिन् । उक्त अभिनयपछि कलाकार ऋचा शर्माले भनिन्, ‘तपाईँहरूजस्ता ट्यालेन्टलाई देखेपछि मन प्रफुल्लित भएर आउँछ के ।’ अनि उनले नविनालाई बोलाएर अंकमाल पनि गरिन् । अनुप बरालले भने, ‘विरलै यस्तो कामहरू चाहीँ हेर्न पाइन्छ । लामो रिहर्स गरेर फेरि पर्फम गर्नलाई बनाएको जस्तो गरेर पर्फम गर्नुभयो ।’

वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘आफूभित्रको अभिनय कलालाई देखाउनको लागि लामो कुरा गरिराख्न पनि पर्दैन । थुप्रै कुरा बोलिराख्न पनि पर्दैन । सानो–सानो कुरामा त्यो चाहीँ यसरी मुखरित भइरहेको हुन्छ कि, त्यसैले हो तपाईँका अडियन्सहरूलाई च्याप्प–च्याप्प समात्ने । त्यो कला छ तपाईँमा । त्यो प्रोबेब्ली टु अ सर्टेन एक्सटेन्ट गड गिफ्टेड पनि हुन सक्छ ।’ यो नेपाली सिने क्षेत्रका एक भेटेरान अभिनेता नीर शाहले टेलिभिजन रियालिटी शो एक्टिङ स्टारका एक प्रतिस्पर्धी कलाकारलाई दिएको प्रतिक्रिया हो । शाहबाट यस्तो प्रतिक्रिया पाउने कलाकार हुन् नेपालगन्जकी नविना रानाभाट ।
नविनाले एपी वन टेलिभिजनबाट प्रशारण हुने गरेको एक्टिङ स्टार टेलिभिजन रियालिटी शोमा आफ्नो अभिनयको जादु देखाइरहेकी छन् । उनको अभिनयले शोको निर्णायकको भूमिकामा रहेका शाह मात्रै होइन नेपाली अभिनय कला क्षेत्रका दिग्गज कलाकारहरू अनुप बराल र ऋचा शर्मालाई पनि उत्तिकै प्रभावित गरेको छ । त्यसै प्रभावले नविना शोको प्रतिस्पर्धाको फम्र्याटमा सिधैँ टप २० बाट टप १५ मा छानिइन् ।
करिब तीन सय प्रतिस्पर्धीबाट टप १५ मा पुगेकी नविनाले टप २० को प्रस्तुतिमा एकल महिलाको अभिनय गरेकी थिइन्, जसले पेटमा भएको बच्चालाई गर्भपतन नगराउने विषयमा श्रीमान्सँग विवाद गर्छिन् । उक्त अभिनयपछि कलाकार ऋचा शर्माले भनिन्, ‘तपाईँहरूजस्ता ट्यालेन्टलाई देखेपछि मन प्रफुल्लित भएर आउँछ के ।’ अनि उनले नविनालाई बोलाएर अंकमाल पनि गरिन् ।
अनुप बरालले भने, ‘विरलै यस्तो कामहरू चाहीँ हेर्न पाइन्छ । लामो रिहर्स गरेर फेरि पर्फम गर्नलाई बनाएको जस्तो गरेर पर्फम गर्नुभयो ।’ अहिले टेलिभिजन शोमार्फत आफ्नो अभिनय कलामा प्रभावशाली प्रदर्शन गरिरहेकी नविनाको अभिनय यात्रा यसअघि उनको कलेजसम्म मात्रै सीमित थियो । काठमाडौँको थेम्स इन्टरनेशनल कलेजमा बिबिए अध्ययन गर्दा कलेजको थियटर क्लबमा आबद्ध भएर उनले अभिनय कलालाई निखार्ने काम गरेकी थिइन् ।
क्लबको प्रेसिडेन्ट भएर थियटर क्लबको विकासमा काम गरेकोमा कलेजबाट अवार्डसमेत पाएकी नविनाले टेलिभिजन शोमा सहभागी भएको भने आमाबुवालाई प्रशारण हुनलाग्दा पनि बताएकी थिइनन् । नेपालगन्जमा कपडाको व्यपारमा संलग्न उनका बुवाआमा अहिले छोरीको प्रतिभा देखेर हर्षविभोर छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव समेत रहेका नविनाका बुवा भीम रानाभाटले छोरीको अभिनय कला देखेर आफूहरूलाई भाग्यमानी महसुस भइरहेको बताए । नविनाकी आमा निशा रानाभाटले हर्षविभोर हुँदै भनिन्, ‘छोरीको अभिनय कला हामीले केही वर्षअघि कलेजमा देख्न पाएका थियौँ । अहिले त्यत्रो ठूलो शो, त्यत्रा ठूला कलाकारहरू जज रहेको शोमा उनले जसरी प्रसंशा पाइन् । त्यसले हामीलाई भावुक बनायो । हामी साँच्चै भाग्यमानी रहेछौँ भन्ने लागिरहेको छ ।’
नविनाले पहिलो फिजिकल अडिसनमा ओभरथिंकिङ (अति सोचाईँ)लाई पात्र बनाएर अभिनय गरिन् । उनले ओभरथिंकिङबाट बाहिर आउने सुत्रबारे अभिनयबाटै भनिन्, ‘आफूलाई एक थोपो माया, एक थोपो कन्फिडेन्स, एक थोपो ट्रस्ट एण्ड माइनस सेल्फ डाउट–यो लिएर चाहीँ आइएम ट्राइङ टु स्लिप एभ्री नाइट ।’ ग्राण्ड अडिसनमा आमाछोरीको संवाद परिकल्पनामा बिहे गर्नका लागि अनावश्यक दबाब झेलिरहेकी छोरीको पात्रमा अभिनय गरिन् । उक्त अभिनय हेरेर निर्णायक अनुप बरालले भने, ‘संसारमा राम्रो एक्टरको राम्रो दुईटा गुण हुन्छ । एउटा चाहीँ स्पोन्टिनिटी, तत्काल रियाक्ट गर्नसक्ने । अर्काे एकदमै धेरै अभ्यास गर्ने, प्राक्टिस गर्ने, आफूलाई माझ्ने । त्यसमध्ये तिमिसँग स्पोन्टिनिटी एकदमै राम्रो छ । तिमी एकदमै राम्रो पर्फमेन्स गर्नको लागि तयार भइसकेको छौँ जस्तो लाग्छ मलाई ।’
पछिल्लो प्रस्तुति ग्रुप एक्टमा प्रहरी अधिकृतको भूमिका निभाउँदा पनि नविनाले सबै निर्णायकहरूले तारिफ नै पाएकी छन् । अहिले नविनालाई खाँचो छ शोको प्रतिस्पर्धाको नियमअनुसार अनलाइन भोटको ।
कलेजको थियटर क्लबबाट उदाएकी नविना
खासमा नविना अन्तर्मुखी र तत्कालै उत्साहित हुने नभै सोचिवचारी काम गर्ने र काम भसकेपछि सर्पराइज दिने स्वभावकी छन् । उनले हत्तपत्ति सबै कुरा खोलेर भन्दा पनि परिणाम आइसकेपछि मात्रै कुरा खोल्ने गरेकी उनकी आमा निशाले बताइन् । नविनाले चार पाँच महिना पहिले नै केही अंक सुटिङ भइसकेको रियालिटी शोमा सहभागी भएको कुरा पनि आमाबुवालाई शो प्रशारण हुने निश्चित भइसकेपछि जानकारी गराएकी थिइन् ।
यसबारे नविनाले भनिन्, ‘म सेलेक्ट भइसकेकी थिएँ । तर, प्रशारण नहुँदासम्म आमाबुवालाई भन्न पनि उपयुक्त लागेन् । जब निश्चित भयो अनि जानकारी गराएँ ।’ जब आमाबुवाले टेलिभिजनमा उनको अभिनय हेरे उनीहरू सर्पराइज भए । चार भाइबहिनीमध्ये कान्छी नविनालाई लिएर आमाबुवाको अपेक्षा भने राम्रो उच्च शिक्षाको भन्दा धेरै थिएन ।
उनकी आमा भन्छिन्, ‘मेरो अपेक्षा चाहीँ के थियो भने अमेरिकाबाट डिग्री गरेर नेपालमै आएर केही गरोस् भन्ने हो । मैले छोरीलाई यतिमात्रै अपेक्षा छ भनेकी थिएँ । बाँकी उसको इच्छा नै उसले पछ्याओस् भन्ने मेरो कामना हो ।’ नविनालाई सुरुमा आमाले डाक्टर बनाउने सपना पनि देखेकी थिइन् । पढाईमा पनि अब्बल नविनाले प्लस टुमा विज्ञान विषय लिएर उत्तीर्ण गरिन् ।
त्यसपछि मेडिकल शिक्षा पढाउने कि भन्ने आमाबुवाको अपेक्षा थियो नविनाले बिबिए रोजिन् । नविनाका अनुसार उनलाई सानैदेखि स्कृनमा हेर्न रहर थियो र गीत लेख्न र गाउन पनि रहर थियो । बिबिए अध्ययन गर्दाताकै उनले कलेजमा आफूभित्रको अभिनयको रहरलाई प्रतिभामा बदल्ने र प्रतिभालाई निखार्ने र आकार दिने वातावरण पाइन् । त्यो थियो कलेजको थियटर क्लब । नविना उक्त थियटर क्लबबाट निर शाहले कलाकारको परिभाषा लगाऐझँै कलालाई आकार दिने कलाकार भइन् ।
उनी पहिलो वर्षमै सिनियरहरूबाट थियटर क्लबका लागि छानिएकी थिइन् । उक्त अभिनय जेलमा रहेको एक पात्रको करिब चारदेखि पाँच मिनेटको अभिनय गरेकी थिएन् । यसयता चारपाँच वर्ष भयो उनको यात्रा उनको स्कृनमा देखिने सपना पनि पूरा भएको छ । उनी टेलिभिजनको पर्दामा देखिएकी छन्, त्यो पनि प्रभावशाली अभिनयसहित ।
नविनाको सपना छ, ठूलो पर्दामा आफ्नो अभिनय प्रदर्शन गर्ने । उनलाई अभिनयको उचाई प्राप्त गर्नु छ र त्यो ठूलो पर्दा मै होस् भन्ने चाहना रहेको मिसन टुडेसँगको कुराकानीमा बताइन् । उनले भनिन्, ‘मेरो सपना ठूलो पर्दा नै हो । मलाई आमाबुवाहरूले ठूलो पर्दामा हेरेर पनि गर्व गरुन् भन्ने चाहना छ ।’
दुईपटक मृत्यु मुखबाट बाँचेकी थिइन्
नविनाका बुवा भीम रानाभाट मिसन टुडेसँगको कुराकानीका क्रममा दुईवटा घटनाहरू सम्झिएर भावुक भए । ती घटनाहरू नविना मृत्युको मुखबाट बाँचेका घटना थिए । पहिलो घटना उनी करिब पाँच वर्षको हुँदाका बखतको थियो । एकदिन उनी घरको छतमा खेल्दाखेल्दै छतबाट खसिन् । उनी यस्तो स्थानमा खसिन्, जसको दुईपट्टी धारिला ढुंगाहरू थिए । उनी शौभाग्यले ती दुई ढुंगाहरूको बीचमा खसेर सकुशल रहिन् ।
अर्काे घटना थियो, करिब नौ वर्षको हुँदाका बखत पोखरामा भएको । एकजना आफन्तको बिहेमा पोखरा गएका बखत अभिभावकहरू व्यस्त रहेको मौकामा उनी साथीहरूसँग नजिकैको खोलामा पौडी खेल्न पुगिछन् । तर, पौडी खेल्दाखेल्दै उनी बगेर निकै परसम्म पुगिछन् । साथीहरूले चाहीँ उनी बगेर गइन् भने आश मारेछन् । तर, संयोगले एकजना उनकै उमेरका बालकले नविनालाई केही पर पुगेका बेला जोगाएर पानीबाट निकालेछन् । ती अपरिचित बालकले ज्यान बचाएको थाहा पाएपछि आमाबुवाले ती बालकलाई खोजेर सकेको सहयोग प्रदान गर्दै धन्यवाद दिए ।
यी घटना र नीर शाहले नविनाको अभिनय कलाका सन्दर्भमा ‘गड गिफ्टेड’ अर्थात् इश्वरको उपहार भनेको कुरालाई सम्झँदै भावविभोर भएर रानाभाटले भने, ‘मलाई पनि लाग्छ उ भगवानको उपहार हो ।’









प्रतिक्रिया दिनुहोस्