19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

सानाबाट सिक्नुपर्ने समृद्ध सवालहरू

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०८०  

जुन क्षमता वस्तुगतभन्दा टाढा भएर विषयगत भइदियो भने राम्रो हुँदैन । बालबालिका आफ्नो बुद्धिविवेकले भ्याएसम्म खराबलाई खराब भन्छन् । असललाई असल भन्छन् । हामी सिनियरहरू उनीहरूभन्दा बुद्धिविवेकको हिसाबले अब्बल भए पनि समीक्षा र विश्लेषण गर्दा त्यसलाई आफू अनुकूल हुने गरी बङ्ग्याउँछौं र सकेसम्म आफू पानी माथिको ओभानो हुने गरी प्रस्तुत हुन्छौं । जसले गर्दा आफ्नो पालाका देश विकासको गति चुस्त नभए पनि तर्कवितर्क गरेर चुस्त भयो भन्छौं ।

जीतबहादुर शाह ।

हामी स–परिवार पाइडल डुङ्गाबाट फेवाताल सयर गरिरहेका थियौं । हाम्रा आँखाहरूले माछापुच्छ«े हिमाललाई फेवातालभित्रै हेरिरहेका थिए । हाम्रो परिवारको सबैभन्दा कान्छो सदस्य नाती अध्ययनको बाहेक सबैको शरीरमा लाइफ जाकेट थियो । नाति अध्ययन हामीभन्दा फरक सोचका देखिन्थे । उनले लाइफ जाकेट लगाउन पनि मानेनन् । लगाउन खोज्दा रोएर जिते हामीलाई ।

रहर हुँदाहुदै पनि हामीलाई डुङ्गाको छेउमा गएर फेवाको पानी छुन डर लाग्यो । नाति अध्ययनले भने डुङ्गा सयरको एक घण्टाको पूरै अवधि फेवाको पानीलाई कहिले आफ्नै कलिला हातले त कहिले डुङ्गाको डोरीको छेउले चलाइरहे र पानीसँग खेलिरहे । कहिले त्यही पानीले मुख धोए भने कहिले पानीको छल्काबाट निस्किने पानीका बूँदहरूमा सूर्यको प्रकाश ठोक्किएर देखिएको चमक हेरेर रमाइरहे ।

मैले उनको व्यवहार देखेर म्यारिना विलियमसनको भनाइलाई सम्झिन पुगें– ‘बच्चाहरू यसकारण खुसी हुन्छन् कि उनीहरूको दिमागको फाइलमा संसारका हरेक चिजहरू नराम्रा पनि हुनसक्छन् भन्ने तथ्य हुँदैन ।’ नाती अध्ययन यसकारण फेवाको पानीसँग नडराएको अवस्था देखिन्छ । हामी यसकारण फेवाको पानीसँग डराइरहेका छौं कि हामीसँग त्यो पानीले डुबाउन सक्छ भन्ने भयको खराब फाइल हाम्रो मस्तिष्कमा छ ।

यसपालीको दसैंमा तुलनात्मक हिसाबले अलि बढी समय नाति अध्ययनसँग बिताएँ, उनका क्रियाकलापहरू अलि नजिकबाट अवलोकन गर्ने काम गरें । नाति अध्ययनसँग नजिक भएर सहकार्य गर्दा मलाई डन बस्कोको भनाइ याद भयो– ‘बालबालिकाका दृष्टिमा यो ब्रम्हाण्डमा सातवटा मात्र आश्चय मात्र नभई सत्तरी लाख आश्चर्यहरू रहेका छन् ।’ त्यही भएर होला उनी नयाँ–नयाँ कुराहरूसँग साक्षात्कार हुन पाउँदा रमाउने गर्दछन् । हजुरआमालाई नाति अध्ययन हामीले जन्माएका सन्तानहरू भन्दा अलि फरक छ भन्ने तर्क रहेको छ ।

उनको भनाइप्रति समर्थन जनाउँदै मलाई एउटा बालबालिका सम्बन्धीको अर्को भनाइले ध्यानाकर्षण गर्दछ– ‘हरेक बच्चा एउटा फरक प्रकारको पूmल हो । उनीहरू सबै मिलेर यो संसारलाई एउटा सुन्दर बगैँचा बनाउँछन् ।’ यही तथ्यलाई आत्मसात गर्दै फुलरले भनेका छन् – ‘हरेक बच्चा विशेष प्रतिभा लिएर जन्मिएको हुन्छ ।’

मेरो प्रस्तुत आलेखमा भने केही सन्दर्भ सामग्रीको अध्ययन र केही नाति अध्ययनको व्यवहारको अध्ययनबाट मैले साना बालबालिकाबाट सिकेका, सिक्नुपर्ने वा सिक्न सकिने सवालहरूको बारेमा चर्चा गर्न जमर्को गरेको छु यसकारण कि तपाईको मनभित्र पनि बालबालिकाप्रति सम्मान, सद्भाव र विश्वास छ भने यो आलेख तपाईंको निम्ति समेत कामयावी हुन सक्छ ।

पहिलो कुरा त बालबालिकाहरू कुरालाई भन्दा कामलाई विश्वास गर्छन् । यस सम्बन्धमा जेम्स बल्डवीनको भनाइ छ – ‘बालबालिकाहरू आपूmभन्दा सिनियरहरूको कुरा सुन्न त्यति सफल हुँदैनन् जति उनीहरू आफूभन्दा सिनियरहरूको नक्कल गर्न सफल हुन्छन् ।’ यो भनाइको अर्थ हो, बालबालिकाहरूको आफ्ना सिनियरहरूका कुरातिर ध्यान हुँदैन । उनीहरूले सुने पनि त्यति राम्रोसँग बुझ्दैनन् । उनीहरूको ध्यान भनेको मानिसले के गर्छ भन्नेतिर बढी फोकस हुन्छ ।

त्यसैले यतिबेला हामी बालबालिकाका सिनियरहरू– बाबा–आमा, बाजे–बज्यै, दिदी–दाजु, गुरु–गुरुआमा, काका–काकी आदिले बालबालिकाको अगाडि त्यस्तो व्यवहार गर्न सक्नुपर्दछ, जुन व्यवहार बालबालिकाले नक्कल ग¥यो वा सिक्यो भने उसको जीवनको समुन्नतिमा सहयोग पुगोस्् । बालबालिकाहरू कुरा भन्दा काममा विश्वास गर्छन् ।

यो कुरा उनीहरूबाट हामीले सिकेको भए हामी, हाम्रो समाज र हाम्रो मुलुकको विकास पनि उहिल्यै उचाइमा पुगिसक्थ्यो भन्ने लाग्छ । बरू हामीले बालबालिकालाई हामी जस्तो बनाउने हरकत ग¥यौं । जसले गर्दा क्रमशः ऊ पनि हामी जस्तै कुरा बढी गर्ने र काम कम गर्ने स्वभावको हँुदै गयो, जुन नहुनु पथ्र्यो ।

दोस्रो कुरा, बालबालिकाहरू विषयगत भन्दा पनि वस्तुगत हुन्छन् । उनीहरू आफूलाई के ग¥यो र के भन्यो भने बढी फाइदा हुन्छ भन्ने कुरालाई महत्व दिँदैनन् । हानी होस् वा लाभ्, पुरस्कृत भइयोेस् वा दण्डित्, यो कुरा उनीहरूलाई त्यति सरोकारको विषय हुँदैन । उनीहरूको सरोकारको विषय भनेको देखेको कुरा भन्ने हो । उनीहरूमा मानसिक हिसाबले तर्क वितर्क गर्ने, मस्तिष्क मन्थन गर्ने, घटना क्रमको विश्लेषण गर्ने, आफ्नो अनुकूल वा विजय हुने गरी घटनाको समीक्षा गर्ने आदि क्षमताको विकास भइसकेको हुँदैन ।

जुन क्षमता वस्तुगतभन्दा टाढा भएर विषयगत भइदियो भने राम्रो हुँदैन । बालबालिका आफ्नो बुद्धिविवेकले भ्याएसम्म खराबलाई खराब भन्छन् । असललाई असल भन्छन् । हामी सिनियरहरू उनीहरूभन्दा बुद्धिविवेकको हिसाबले अब्बल भए पनि समीक्षा र विश्लेषण गर्दा त्यसलाई आफू अनुकूल हुने गरी बङ्ग्याउँछौं र सकेसम्म आफू पानी माथिको ओभानो हुने गरी प्रस्तुत हुन्छौं । जसले गर्दा आफ्नो पालाका देश विकासको गति चुस्त नभए पनि तर्कवितर्क गरेर चुस्त भयो भन्छौं ।

कसैका निम्ति चुस्त भयो भन्दा घाटा हुने हो भने चुस्त भएन पनि भन्छौं । हाम्रा यस्तै हरकतका कारण मुलुकलाई सटिक तरिकाले विश्लेषण गर्दैनौं । हाम्रो विश्लेषण मुलुकको हितका खातिर भन्दा पनि आफ्नो हितका खातिर उम्दा भएर उफ्रिरहेको हुन्छ । तेस्रो कुरा, बालबालिका सामाजिक हुन्छन् । अर्थात स्पष्टरूपमा भन्नुपर्दा उनीहरू एक्लै भन्दा समूहमा बस्न र काम गर्न रुचाउँछन् ।

मेरो घरको दृष्टान्त दिनु पर्दा मेरो घरमा धेरै मानिस हुँदा सबैभन्दा बढी खुसी हुने भनेको हाम्रो नाति अध्ययन हो जो अझै पनि दुई वर्ष पुग्न दुई महिनाजति बाँकी छ । खुसी त हामी सिनियर पनि हुन्छौं । तर नाति जति खुसी हुन नसक्दा रहेछौं । घरमा मानिस धेरै भए कसैलाई भान्सामा अलि बढी दुःख गर्नुपर्ने, कसैलाई सरसफाइमा बढी समय दिनुपर्ने, कसैको अध्ययन र लेखनमा बाधाअवरोध हुने जस्ता झन्झटहरूको सामना खप्नु पर्दोरहेछ ।

हाम्रो नाति भने घरमा परिवारका सबै सदस्यहरू भएको अवस्थामा आफू बीचमा गएर नाच्न थाल्छ । बाहिरका मानिस आए भने पनि हामी भन्दा ऊ पहिले बाहिरका मानिससँग नजिकिन पुग्छ । यस्तो स्वभाव अधिकांश बालबालिकामा हुने गर्दछ । त्यसैले विडम्बना नै भन्नुपर्छ, हामी सामाजिक हुन समेत बालबालिकाबाट सिक्नुपर्ने भएको छ ।

हामी आफूलाई सामाजिक त भन्छौं, तर आफ्नो हितअनुकूल भएन भने त्यही समाज, त्यही समूह र त्यही आफन्तलाई धारे हात लगाएर सत्तोसराप गर्न पछि पर्दैनौं । यस्तो स्वभाव बालबालिकाले आरम्भमा गर्दैनन् । तर हामीजस्ताको नक्कल गर्ने क्रममा भने उनीहरू पनि क्रमशः हामीजस्तै असामाजिक हुन थाल्छन् ।

चौथो कुरा, बालबालिका शारीरिक हिसाबले सक्रिय हुन्छन् । हामीभन्दा बढी दौडधूप गर्छन् । हामीभन्दा बढी चञ्चल हुन्छन् । उनीहरूको यस्तो स्वभाव हामीलाई मन पर्दैन । यसैले पनि उनीहरूलाई हामी सक्रिय नभनेर फटाहा, बदमास, चकचके, उपद्रयाहा आदि आदि संज्ञा दिएर अपमानित गर्छौं । हामी त्यस्तो गर्न सक्दैनौं । त्यसैले उनीहरूले त्यसो गरेको हामीलाई मन पर्दैन । जब कि यो खराब बानी होइन । यसलाई सही किसिमले सदुपयोग गर्न सकियो भने यो एउटा ऊर्जा हो । योगी विकासानन्दको शब्दमा ऊर्जा भनेकोे उठेको पदार्थ हो र पदार्थ भनेको सुतेको ऊर्जा हो ।

उनीहरूको यो ऊर्जालाई सदुपयोग गर्न सक्यौं भने हाम्रो शिक्षा गरिखाने र व्यावहारिक हुन्छ । सिकाइ गराइबाट हुने आदतको विकास हुन्छ न कि घोकाइबाट । मानिसहरू बाल्यकालबाटै अल्छीबाट परिश्रमी हुन सिक्छन् । यति मात्र नभई मानिसहरू स्वस्थ, निरोगी र श्रमप्रति सम्मान गर्ने किसिमका हुन्छन् । बालबालिकामा भएको शारीरिक सक्रियतालाई उचित किसिमले सदुपयोग गर्नु आजको आवश्यकता हो । तथापि हामी त्यसलाई व्यवस्थापनको नाममा अशक्त र बृद्धजस्तै शिथिल बनाउन खोजिरहेका छौं, जुन बालबालिकाको स्वाभाविक विकासको विरुद्धमा देखिन्छ ।

पाँचौं कुरा, बालबालिका मानवताप्रेमी हुन्छन् । बालबालिकाले यो धर्म र त्यो धर्म, यो जाति र त्यो जाति, यो सम्प्रदाय र त्यो सम्प्रदाय आदि कुरा जान्दैनन् । उनीहरूले मान्छे भन्ने बित्तिकै आफ्नो ठान्छन् । मेरो नाति अध्ययन हामीसँग पसलमा गयो भने उसले पसललाई राम्रोसँग नियाल्छ । मन परेको चिज रहेछ भने पसलको साहुसाहुनीको नै हात समातेर उसलाई मन परेको चिज भएको तिर तानेर लैजान्छ । उसको लागि को आफ्नो को बिरानो कुनै मतलब छैन, उसको आफ्ना मान्छेहरूसँग त्यो चिज किन्नका लागि पैसा छ कि छैन त्यसको बारेमा सोच्न सक्ने झन सम्भव नैै भएन ।

उसले यस्तो गर्छ मानौं ऊ नास्तिकहरूको साम्यवादी व्यवस्थामा जन्मिएको छ वा भनौं आस्तिकहरूको सत्ययुगमा जन्मिएको छ । जहाँ जात, धर्म, वर्ग, विचार, सिद्धान्त, सम्प्रदाय आदिको कुनै प्रभाव छैन । साना बालबालिकाको सोच जस्तै हामी ठूलाको पनि हुँदो हो त यो दुनियाँमा युद्ध पनि हुँदैनथ्यो होला भन्ने लाग्छ मलाई । हमास र इजरायलको बीचमा पनि युद्ध हुन्नथ्यो जस्तो लाग्छ मलाई ।

तथापि हामी ठूला भनाउँदाहरू सानाबाट सिक्दैनौं । उल्टै सानामाथि हाम्रा खराब कुरा थोपरेर उनीहरूलाई पनि हामी जस्तै खराब बनाउँछौं ।
छैठौं कुरा, बालबालिका हामीभन्दा बढी वैज्ञानिक सोचका हुन्छन् । हामी परीक्षणमा रुचि राख्दैनौं । कसैले भनेको कुरालाई आधार बनाएर अघि बढ्ने यत्न गर्छौ । बालबालिका आफैँले परीक्षण गरेर चिजलाई हेर्न चाहन्छ । उसलाई कसैले सिस्नो वा आगोले पोल्छ भनेर मात्रै सिस्नो वा आगोदेखि टाढा भाग्न मनै लाग्दैन ।

पोलाइको अनुभव ऊ आफैँले अनभूत गर्न चाहन्छ । सिस्नो वा आगोले पोलेपछि भने उसले त्यसपछि सिस्नो वा आगोलाई कहिल्यै पनि छुँदैन । बरु त्यस्तै देखिने अन्य वस्तुसँग पनि ऊ होसियार हुन्छ । उसले देखेको र भोगेको कुरामा विश्वास गर्दछ जुन कुरा विज्ञानसम्मत हुन्छ ।

बालबालिकासँग हामीले सिक्नुपर्ने सकारात्मक कुराहरू यो पङ्क्तिकारले माथि उल्लेख गरेभन्दा पनि धेरै छन् । सवाल यो मात्रै छ कि हामीले उनीहरूलाई मात्रै सदैव शिष्य बनाइराख्ने कि हामी पनि उनीहरूको शिष्य हुने ? समय अनुसार हामी पनि उनीहरूको शिष्य हुन सक्नु पर्दछ । हामीले उनीहरूलाई पनि गुरुलाई जस्तै सम्मान गर्न सक्नुपर्छ ।

नेल्सन मण्डेलाका अनुसार इतिहासले हाम्रो मूल्याङ्कन बालबालिकाको दैनिक जीवनमा पहिले भन्दा के कति फरक वा सुधार गर्न सक्यौँ भन्ने आधारमा गर्ने गर्दछ । त्यसैले पनि बालबालिकाको समुन्नतिका लागि लगानी गर्ने परिवार र मुलुकहरू नै अहिले समुन्नतिको उचाइमा पुगेका छन् ।

त्यसैले पनि जेस लेयरले भनेझैँ बालबालिकाका प्रतिभा, भावना र क्षमताहरूलाई पगालेर परिवर्तन र परिमार्जन गर्ने होइन कि प्रस्फुटनका लागि अवसर प्रदान गर्ने हो । यसैमा हामी र हाम्रा बालबालिकाको भलो हुनेछ । जय बालबालिका !

प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०८०     11:26:11 AM  |