नेपालगन्ज ।
संघ सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार बाँकेमा फैलिएको दादुरा महामारीबारे स्थलगत जानकारी लिएका छन् । शनिबार साँझ नेपालगन्ज आएका मन्त्री गिरीले त्यसक्रममा दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताएका छन् ।
सबैभन्दा बढी दादुरा प्रभावित बाँकेको नेपालगन्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पुगेर मन्त्री गिरीले प्रभावितहरुको अवस्थाबारे जानकारी लिएका थिए ।
उनले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिहरुको भूमिका महŒवपूर्ण रहेकाले अन्य काम थाति राखेर भए पनि दादुरा नियन्त्रणमा सक्रिय हुन सुझाव दिए । त्यसक्रममा वडा नम्बर ५ का अध्यक्ष सराफत खानले वडामा दादुराको अवस्था, नियन्त्रणका लागि भएका प्रयास र समस्याबारे जानकारी गराएका थिए ।
हालसम्म बाँकेका पाँचवटा स्थानीय तह दादुराबाट प्रभावित छन् । आइतबारसम्म दुई सय ६० जना बालबालिका दादुराबाट प्रभावित भएका छन् । सबैभन्दा धेरै नेपालगन्जमा दुई सय तीनजना बालबालिका दादुराबाट प्रभावित भएका छन् । दादुराबाट एकजनाको मृत्यु हुँदा ६३ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्यमन्त्रीसँगै बाँकेका प्रतिनिधिसभा सदस्यहरु सूर्यप्रसाद ढकाल, दीपा शर्मा, डा. धवलशमशेर राणा, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, महानिर्देशक डा. दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरी, उपनिर्देशक डा. रोशनलाल चौधरीसमेत सहभागी थिए ।
स्थलगत निरीक्षणपछि भेरी अस्पतालमा आयोजित एक कार्यक्रममा मन्त्री गिरीसमक्ष नेपालगन्ज उपमहानगरपालिका र स्वास्थ्य कार्यालय बाँकेले दादुरा नियन्त्रणका लागि गरेका कामहरुबारे ब्रिफिङ गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले प्रस्तुतिकरण दिएका थिए ।
पूर्ण खोप नलाउँदा महामारी फैलियो
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले मन्त्री पदम गिरीसमक्ष प्रस्तुति दिनेक्रममा पूर्ण खोप नलगाउँदा दादुराको महामारी फैलिएको बताइन् । बाँके जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भए पनि सबै बालबालिकाले सबै खोप लगाएको सुनिश्चित नगर्दा अहिलेको अवस्था आएको स्वीकार्नुपर्ने बताइन् ।
उनले कतिपय समुदायमा खोपप्रति चासो नहुनु र कतिपय अवस्थामा खोपप्रतिको नकारात्मक धारणाका कारण सबैले खोप नलगाएको पाइएको उनले बताइन् । खोप अभियानमा क्रममा कतिपयले पूर्ण खोप लगाए नलगाएको बारेका यकिन भन्न नसकेको र बढीजसोले खोप छुटाएको पाइएको जानकारी दिइन् ।
यस्तै भनाइ नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दको पनि थियो । उनले खोप लगाए नलगाएकोबारे अभिभावकलाई सोध्दा यकिन जवाफ दिन नसकेको बताए । उनले यसो भन्दै गर्दा मन्त्री गिरीले उनलाई प्रतिप्रश्न गरे, ‘अभिभावकले त भन्न सकेनन् । तपाईंहरुसँग कुनै तथ्यांक छैन, कसले लगायो कसले लगाएन भन्ने यकिन गर्ने ?’
चन्दले त्यसरी यकिन गर्न सक्ने अवस्था नरहेको जवाफ दिए । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले अहिले जिल्लाका दादुरा प्रभावित स्थानीय तहमा मात्रै खोप अभियान सञ्चालनमा रहेको र अब सबै स्थानीय तहमा विस्तार गर्ने तयारी गरिएको बताइन् । उनले अभियान सञ्चालन गर्न बजेटको अभाव रहेको मन्त्रीसमक्ष जानकारी गराएकी थिइन् । खोपकर्ताहरुलाई परिचालन गर्न अहिले शून्य बजेट रहेको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्