कृष्णको सफलताः मजदुरदेखि मालिक



शुभाकर विश्वकर्मा । कोहलपुर ।

जीवन संघर्ष हो । जीवन यात्रा हो । जीवन सुख र दुःखको मिश्रण पनि भनिन्छ । यी सबै कुरा कृष्ण गिरी (४७) जीवनमा ठ्याक्कै मेल खान्छ । उनले जिउनका लागि संघर्ष गरे । अवसरका लागि यात्रा गरे । उनले दुःख पनि भोगेका छन् । सन्तुष्टिको स्वाद पनि चाखेका छन् । संघर्ष उनले कहाँकहाँ गरेनन् । म्याग्दीमा जन्मिए । बर्दियामा हुर्के । भारतमा वर्षौं संघर्ष गरे । हाल कोहलपुरमा व्यवसाय गरिरहेका छन् । गिरी कोहलपुर–११ स्थित धौलागिरी खाजा घरका सञ्चालक हुन् । जहाँ उनले चार वर्ष गुजारे ।

२०४५ सालमा गिरीको परिवार म्याग्दीबाट बर्दिया बसाइँ सरेको थियो । तराईमा सुख हुन्छ ? भनेर बसाइँ सरेको कृष्णको परिवारले थुपै्र पहाड छिचोलेको छ । ‘म घरको एक्लो छोरो । पहाडमा के दुःख दिनु भनेर बाआमा तराई झरेका हुन् । उता आम्दानीको स्रोत थिएन । यहाँ ठूला फाँट हुन्छन् । धान उत्पादन हुन्छ । सुख शान्ति होला भनेर ल्याएका,’ उनी भन्छन् । त्यतिबेला उनी कक्षा आठमा अध्ययन गर्थे । बर्दिया आएपछि कक्षा ९ र १० कक्षासम्म अंशु बर्मा उच्च माध्यमिक विद्यालयमा पढे ।

पढाइमा औसत उनी जब टेष्ट परीक्षामा फेल भए, उनको जीवन युटर्न भयो । संघर्षका दिन सुरु भए । सोचे जस्तो कहाँ हुँदा रहेछ र जिन्दगी ? तराईमा सुखको अनुभूति गर्न पाएनन् । विदेश जाने योजना बनाए । विदेश जान भिसा अप्लाइ गरे । त्यतिबेला उनी भर्खरै २० वर्षमा टेकेका थिए । धन कमाउन विदेश जाने ट्राइ गरे । भिसा अप्लाइ गरे । आफन्तमार्फत भिसा प्रक्रिया थालेका उनलाई धोका भयो । तीन वर्ष बित्यो । भिसा आएन । विदेश जान नपाएको झोकमा विवाह गरे । उनको विवाह २० हजार रुपैयाँमा सम्पन्न भएको थियो ।

त्यसपछि उनको सपना बदलियो । घरमा जहान छोडेर रुपैडियाको रेलमा चढेर नयाँ दिल्ली हानिए । दिल्लीमा सेटसँग काम गरे । त्यहाँ सडकमा भारी बोक्ने काम पनि गरेको उनी सम्झन्छन् । केही समयपछि होटेलमा काम पाए ।

उनको सानैदेखि सौख भने ड्राइभिङ सिक्ने थियो । त्यो योजना सफल नभएपछि उनी हरियाणा पुगे । त्यहाँ तीन महिना भाँडा माझ्ने काम गरे । पछि घरमा काम पाइयो । फेरि होटेलमा काम पाइयो । त्यहाँ पनि उनले भाँडा माझ्ने, कुक, हेल्परदेखि भान्सेको काम गरे । रेष्टुरेन्टमा हुँदै लज र क्लबमा समेत काम गरेको अनुभव सुनाउँछन् उनी ।

‘भारतमा धेरै दुःख पाइयो सर । कतिपटक बस्ने ठाउँ नभएर सडकको पार्कमा सुतेको छुँ । भोकै बसेको छुँ । दुःखका अनेक कथा छन्, हजुर,’ उनी विगत सम्झिँदै भावुक हुन्छन् । पराइको भूमिमा उनले आधा जोवन बिताए । भारतमा बसेर उनले २२ वर्ष मजदुरी गरे । उनका अनुसार पहिलोपटक भारतमा जाँदा उनको मासिक तलब भारु सय रुपैयाँ मात्रै थियो । फर्किँदा उनी मासिक ५० हजार नेपाली कमाउँथे । बीचमा काम राम्रो हुँदै गएपछि श्रीमतीलाई समेत उतै लिएको उनले बताए । २०५८ सालमा पहिलो सन्तानको रुपमा छोरी जन्मिइन् । उनका तीन सन्तान छन् ।

लामो समय भारतमा काम गरेपछि उनीहरु भूकम्प गएको वर्ष नेपाल फर्किए । लामो समयको भारत बसाइँको क्रममा उनले होटेलसम्बन्धी सम्पूर्ण काम सिकेका थिए । अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ यतै व्यवसाय थालेको गिरीको भनाइ छ । २०७४ सालमा उनले कोहलपुरको दशविगाहामा कोठा भाडामा लिएर चिया नास्ता पसल खोले ।

त्यहाँ केही समय व्यवसाय गरेका उनी विगत चार वर्षयता भने न्यूरोडमा ‘धौलागिरी खाजा घर’ सञ्चालन गर्छन् । २२ वर्ष मजदुरको भूमिकामा संघर्ष गरेको कृष्ण अहिले मजदुर, मालिकको भूमिकामा छन् । उनलाई साथ दिइरहेकी छन्, उनकी जीवन संगीनी ओमकलाले । ओमकला कृष्णका हरेक मोडकी सांक्षी हुन् । उनीहरुले जीवनरुपी रथ निकै संघर्षका साथ कटाएका छन्, हिजोका दिनमा ।

उनीहरु एउटै स्वरमा भन्छन्, ‘संघर्ष त अहिले पनि गरिरहेका छौँ । तर, यसमा दुःख भएपछि सन्तुष्ट छौँ । दुःखको फल आधाआधा हुँदैन । जति कमाए पनि आफ्नै हो ।’

उनीहरु भर्खर सुखको स्वर फेर्न लागेका थिए । त्यहीबेला कोभिड–१९ कहरले व्यवसाय ठप्प भइदियो । उनले कोभिड–१९ भन्दा अगाडि राम्रो व्यापार हुने गरेको सुनाए । कोभिड–१९ पछि अहिले भने व्यवसायमा एक प्रकारको मन्दी नै रहेको उनी बताउँछन् । यद्दपि कमाइ सन्तोषजनक नै छ । व्यवसाय गरेरै घर परिवार, दैनिक खर्च, छोराछोरीको पढाइ सबै व्यवसायबाटै भइरहेको छ ।

व्यवसाय र बैंकिङ कारोबारमा कोहलपुरमा ३० लाखमा जग्गासमेत किनिसकेका छन् । अब त बुढो हुन लागियो, अझै दशवर्ष जति व्यवसाय गर्ने सोच रहेको उनले सुनाए ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ११ गते मंगलबार