पाटनमा यार्सा टिप्नेको घुइँचो



बाँके ।

स्थानीय तहको निर्वाचनको सरगर्मी सकिएसँगै डोल्पामा बहुमूल्य जडीबुटी यार्सा गुम्बा टिप्न सुरु भएको छ । यस वर्ष जेठ १२ गतेदेखि यार्सा गुम्बा संकलनका लागि पाटन खुला गरिएको हो ।

१२ गतदेखि यार्सा संकलनका लागि प्रवेश दिइएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लव गुरागाईले जनाए । प्रत्येक वर्ष यही समयमा यार्सा संकलन गर्ने गरिन्छ ।

यार्सा असार पहिलो सातासम्मै संकलन हुने डोल्पास्थित छार्का ताङसोङ गाउँपालिकाकी उपाध्यक्ष छिरिङ दिहिक गुरुङले जनाइन् । ‘चुनाव सकिएसँगै गाउँले सबै यार्सा गुम्बा टिप्न माथि (पाटन) गएका छन्,’ उनले भनिन्, ‘अहिले गाउँ सुनसान भएको छ ।’ चुनावमय भएको गाउँ अहिले शान्त भएको उनी बताउँछिन् ।

यार्सा गुम्बा यहाँका बासिन्दाहरुको प्रमुख आयस्रोत भएको जगदुल्ला गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत केशवराज जैसीले जनाए । केही बालबच्चासमेत लिएर यार्सा टिप्न पाटतिर जान्छन् ।

केही भने वृद्धवृद्धासँगै बालबच्चा छाडेर यार्सा टिप्छन् । अहिले गाउँमा बालबालिका, वृद्धवृद्धा मात्र भएको उनले बताए । ‘यतिबेला त केही घरपरिवार त, बालबच्चालाई काखीमा च्यापेर पनि पाटन जान्छन्,’ उनी भन्छन्, ‘घरमा बालबच्चा हेर्ने व्यक्ति भए केहीले भने बालबच्चालाई घरमै छोड्छन् ।’

यहाँका एक व्यक्तिले यो समयमा करिब दुई लाखभन्दा बढी आम्दानी गर्छन् । आधा जीव र आधा वनस्पतिको रुपमा परिचित जडीबुटी यार्सागुम्बा खोज्न यतिबेला पाटनहरुमा सर्वसाधारणको घुइँचो लागेको छ ।

अभिभावकसँगै बालबालिका डोल्पासँगै जुम्ला र मुगु जिल्लाका यार्सा पाइने क्षेत्रतिर गएका छन् । ‘यार्सा संकलन गर्ने समयमा दुई महिना गाउँनै सुनसान हुन्छ,’ डोल्पाका स्थानीय राजीधन बुढाले भने, ‘जीविकोपार्जनका लागि यार्सा प्रमुख आयस्रोत भएपछि सबैजना लेकतिरै जान्छन् ।’

जिल्लाका भोक्पा, भांका, कुनास, सागबारीलगायतका सत्तरीभन्दा धेरै पाटन यार्सागुम्बा संकलनका लागि औपचारिकरूपमा खुलेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गुरागाईले जनाए ।

यार्सा संकलनका लागि संकलन दस्तुर तथा प्रवेश शुल्क लिने गरिन्छ । यस वर्ष निकुञ्ज तथा यार्सा पाइने आसपासका नागरिकका लागि पाँच सय, डोल्पाका नागरिकका लागि दुई हजार र जिल्ला बाहिरका नागरिकका लागि तीन हजार रुपैयाँ दस्तुर तोकिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गुरागाईले जनाए ।

यार्सा संकलनबाट आएको पैसाले वर्षभरि खान पुग्ने डोल्पास्थित काइके गाउँपालिकाकी काली देवकोटाले बताइन् । ‘घरमा बस्ने कोही हुँदैनन् । सबै यार्सा संकलनका लागि पाटन जान्छन्,’ उनले भनिन्, ‘घरमा एक्लै बस्नुभन्दा एक महिनामा दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । जुन पैसाले घरपरिवार चलाउन सहज हुन्छ ।’

अहिले घर कुकुरको जिम्मा लगाएर पाटन गएको उनी बताउँछिन् । पछिल्लो समय यार्सा गुम्बा पाइने पाटन क्षेत्रमा यार्सा कम पाइने गरेको बताइन्छ । यहाँ रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, प्युठानालगायतका जिल्लाबाट यार्सा टिप्न पुग्छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार