तारा एयरको विमान दुर्घटना: मुस्ताङमा ठोक्कियो पाइलट बन्ने उत्सवको ‘उडान’



बाँके ।

आइतबार बिहान पोखरादेखि जोमसोमका लागि ९ः५५ मा उडान तालिका थियो ।

तारा एयरका सहविमान चालक उत्सव पोख्रेलले आमा उषालाई उडानको १५ मिनेट अगाडि ९ः४० मा भिडियो कल गरेर छोटो कुराकानीमा भनेका थिए, ‘आमा उड्न लागेँ ।’ उषाका अनुसार उत्सव विमान चालकको ड्रेसमै थिए । आमाले सोधिन्, ‘पाइलट को हुनुहुन्छ ?’ उत्सवले भनेका थिए, ‘मेरो आजका पाइलट प्रभाकर घिमिरे हुनुहुन्छ ।’ हतारमा जस्तो देखिएका उत्सवसँग आमा उषाले पनि लामो कुरा गर्न चाहिनन् ।

जोमसोम उडानका लागि तयार भएका उत्सवले त्यो दिनको ५औँ उडानपछि साँझ आमासँग कुराकानी गर्ने भनेका थिए । ‘पहिलो फ्लाइट सुरु हुनै लाग्यो, आज पाँचवटा फ्लाइट छ,’ उत्सवको भनाइ उदृत गर्दै उषाले भनिन्, ‘पूरै फ्लाइट सकेर साँझ कुरा गर्छु भनेको थियो ।’ उषाका अनुसार उत्सवले दिनहुँ ४/५ वटा उडान भर्थे ।

अनि फ्लाइट सक्काएपछि साँझ दिनहुँ दाङमा रहेकी आमा उषासँग उत्सवले भिडियो कलमार्फत कुराकानी गर्थे । ‘जहिल्यै फ्लाइट सकेर साँझ कुरा गथ्र्याे,’ उषाले भनिन्, ‘आइतबार पनि साँझ फोनमा कुराकानी गर्ने सल्लाह आमा छोराका बीचमा भएको थियो ।’ छोरासँग भएको संक्षिप्त कुराकानी भएको केहीबेरमै उषाका लागि अप्रत्याशित खबर सुन्नु प¥यो ।

उनका एक आफन्तीले छोरा उत्सवले उडाएको जहाज बेपत्ता भएको खबर सुनाइ दिए । ‘उत्सवले उडान भरेको जहाज बेपत्ता भयो भनेर एकजना आफन्तीले फोन गरेर सुनाउनु भयो,’ उनले भनिन्, ‘मेरो होसै उड्यो ।’ जाजरकोटमा रहेका उनका श्रीमान् मनिराम पोख्रेलले पनि फोन गरेर छोरा उत्सवले उडान भरेको जहाज हराएको भनेर फोन गरे ।

‘धेरैको फोन आउन थाल्यो, कसैले रुँदै फोन गर्थे,’ उनले भनिन्, ‘कसैले भने जहाज कतै ल्याण्ड गरेर बसेको हुन सक्ने भनेर सम्झाउँथे ।’ उषालाई पनि छोराको अप्रिय खबर सुन्नु पर्ला जस्तो लागेको थिएन । केही आफन्तीहरुले भने जस्तै अप्ठेरोमा परेपछि कतै विमान आपतकालीन अवतरण गरेर बसेको हुन सक्ने उषाको पनि आशा थियो । ‘जहाजमा समस्या भएर कतै सुरक्षित ठाउँमा जहाज ल्याण्ड गरेर बसेका पो छन् कि भन्ने आश पनि लागिरह्यो,’ उनले भनिन्, ‘मेरो छोराको मृत्यु भयो होला भन्ने लागेको थिएन ।’

तर साँझ अबेरसम्म पनि जहाज फेला नपरेको भन्ने निरन्तरका खबरले भने उनको मनमा झन चिसो पस्दै गयो । तथापि आपतकालीन अवतरण गरेर छोरा उत्सव कतै सुरक्षित भएरै बसेको हुन सक्ने झिनो आशा बाँकी नै थियो ।

अन्ततः सोमबार बिहान बेपत्ता विमान मुस्ताङको भीरमा ठोक्किएको र सहचालक छोरासहित विमानमा रहेका सबैको सोही जहाज दुर्घटनामा परि निधन भएको खवर उषाले सुन्नु प¥यो । ‘जुन खबर सुन्नु नपरोस् भन्ने सोचेँ, त्यही खबर सुन्नु प¥यो,’ उषाले भनिन्, ‘छोरो शालिन थियो, भद्र थियो, राम्रो मान्छेलाई भगवान्ले खोजी खोजी लैजान्छन् भन्थे, भगवान्ले लगि छोडे ।’

उनले फिलिपिन्सबाट पाइलट कोर्षको अध्ययन पूरा गरेका थिए । तर नियुक्तिपछिका विभिन्न तालिमका कारण उत्सवले उडान भर्न थालेको भने डेढ वर्ष भएको थियो । सहविमान चालकका रुपमा उडान भर्दै आएका उत्सवको चाहना थियो, ‘विमानको फूल पाइलट बन्ने अनि हाल दाङमा शिक्षण पेशामा रहेकी आमालाई काठमाडौंमा सँगै राख्ने ।’

उत्सवले झन्डै दुई वर्ष पनि आफू फूल पाइलट बन्ने भनेर आमालाई सुनाउँथे । ‘तपाईं अब स्कुलमा पढाएर हुन्न, म फूल पाइलट बन्छु अनि काठमाडौंमै सँगै बस्नु पर्छ भन्थ्यो,’ उषाले भनिन्, ‘दुई वर्ष मात्रै कुर्नुस् भनेर सम्झाउँथ्यो ।’ उनका अनुसार फूल पाइलट बन्नका लागि उनले तीन हजार दुई सय घण्टा उडान भर्न बाँकी थियो ।

विमानका सहचालक बनेर उत्सवले एक हजार चार सय घण्टा उडान भरिसकेका थिए । अनि पाइलट बन्ने उत्सवको सपना कोपाइलटमै टुंगियो । न त छोरालाई विमानको चालकको रुपमा देख्ने अनि शिक्षण पेशा छोडेर दाङबाट काठमाडौं बसाइँ सर्ने उषाको सपनानै पूरा भयो ।

रुकुम चौरजहारी स्थायी घर भएका उत्सवको परिवार मध्य बुबा मणिराम जाजरकोटस्थित नलगाड नगरपालिकामा जागिरे छन् । यसैगरि, आमा उषा दाङस्थित जनता माविमा अध्यापन गर्छिन् । उत्सवका दाई उमेश पनि अहिले पाइलट कोर्षको अध्ययनमा छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १७ गते मंगलबार