व्यवसायीको हत्या गरेको भन्दै सुर्खेतमा प्रहरीविरुद्ध किटानी जाहेरी



सुर्खेत ।

कर्णालीको प्रमुख प्रवेशद्वार सुब्बाकुनाका प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान कसुरसम्बन्धी किटानी जाहेरी परेको छ ।

कालीकोटका व्यापारी कृष्ण हमाल (मिनी) कुटीकुटी हत्या गरेको भन्दै सइ धामीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी परेको हो । मृतक हमालका आफन्त कालीकोटस्थित तिलागुफा नगरपालिका–३, का ५४ वर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका छन् ।

प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै किटानी जाहेरी दिएको उनले बताए । शुक्रबार साँझ सुब्बाकुनामा हमाल सवार ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीले हमाललाई कुटपिट गरेका थिए । प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको आफन्तको भनाइ छ ।

जाहेरीमा भनिएको छ, ‘भे१क ९२२ को मिनी ट्रकका सहचालक तिलक शाही पूर्व चिनजानका मानिससमेत भएकाले निजका साथमा लागि नेपालगन्जतर्फ गएको सो ट्रकमा खुद्रा समान लोड गरी सुर्खेततर्फ फर्किने क्रममा सुब्बाकुना आएको समयमा हमाल सवार गाडी रोकी चौकीमा इन्ट्री गर्न गएको समयमा अनेक गालीगलौच गरी गाडीका कागजात माग गर्नुका साथै गाडी चौकीभित्र हाल्न लगाइ ड्राइभरले गाडीभित्र हाली निज सहचालक तिलक शाहीलाई कुटपिट गरेपछि मृतक हमालले ड्राइभरलाई किन पिट्नु भयो भनेर सोध्ने क्रममा निज शेरसिंह धामीले जबर्जस्ती सडक डिभिजनको गेट भित्र लगेका थिए ।

त्यहाँ हमाललाई निल डाम, मराणसन्न हुनेर गरी कुटपिट हानमार गर्दे ड्राइभर तिलक शाही र मृतक हमालसमेतको भिडियो बनाए । त्यसलगत्तै अर्को आउँदै गरेको ट्रकमा प्रहरी इञ्चार्ज शेरसिंहले मृतक हमाल र ड्राइभर शाहीलाई बांगेशीमलसम्म पु¥याइदिनु भनी गेट बाहिर पठाइएको हो ।’

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २३ गते सोमबार