लमही–घोराही सडक: कृष्णसेन इच्छुक मार्ग जीर्ण बन्दै



शिवु खनाल । देउखुरी ।

लामो समयसम्म दाङको लमही–घोराही सडकखण्ड मर्मत नहुँदा यात्रुलाई सास्ती हुँदै आएको छ । जीर्ण बन्दै गएको सहिद कृष्णसेन इच्छुक मार्गअन्तर्गत लमही–घोराही सडक मर्मत एवम् विस्तार नहुँदा आवतजावतमा समस्या भएको हो ।

अहिले विभिन्न साना तथा ठूला सवारीसाधनले सास्ती खेप्दै आइरहेका छन् । लमही– घोराही सडकखण्डका अधिकांश ठाउँमा सडक साँघुरो हुँदा सवारीसाधन वारपार गर्न पनि कठिन छ ।

यसका कारणले दुर्घटनासमेत हुने गरेको छ । लमही नगरपालिका वडा नम्बर ५ निवासी शेरसिंह खड्काका अनुसार उक्त सडकखण्डअन्तर्गत सहिद कृष्णसेन इच्छुक मार्ग स्तरोन्नति नहुँदा सास्ती भोग्नुपरेको छ । सवारीसाधनहरु भीरमा ठोक्किने, ब्याग गर्दा दुर्घटनामा पर्ने तथा यात्रुलाई पनि ढिलो हुने गरेको खड्काले बताए ।

गत वर्ष लमही–घोराही सडक मर्मत भएदेखि अहिलेसम्म स्तरोन्नति गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान नदिएको उनको गुनासो छ । साँघुरो सडकमा बाध्य भएर सवारीसाधनहरु गुडाउनु परेको सवारी चालकहरुको गुनासो छ ।

यात्रु पनि जोखिमको यात्रा गर्न बाध्य छन् । वर्षौंदेखि लमही–घोराही सडकमा सवारीसाधन चलाउँदै आएका लमहीका महेश भुषालले सहिद कृष्णसेन इच्छुक मार्गको विभिन्न स्थानमा धेरै साना गाडीनै पास नहुने भएकोले जोखिमपूर्ण रहेको बताए । उनले ठूला गाडी वारपार गर्न करिब आधा किलो मिटर ब्याग गर्नुपर्ने अवस्थाका कारण यात्रामा जोखिम हुने उल्लेख गरे ।

स्थानीय, प्रदेश र संघीय सरकारले यति धेरै जोखिमपूर्ण सडक विस्तार गराउन कुनै कदम नचालेको उनको गुनासो छ । लमहीदेखि घोराहीसम्म २३ किलोमिटरका कैयाँै स्थान जोखिमपूर्ण छन् ।

उक्त सडकखण्डमा ठूला सवारी तथा मालबाहक गाडी मात्र होइन, साना गाडीसमेत पास हुनसक्ने अवस्था छैन । सबैभन्दा बढी मसोटको घुम्टीदेखि माथिल्लो भागसम्म निकै साँघुरो छ । कुइरेपानदेखि चौपटट्सम्मको भाग पनि निकै साँघुरो हुँदा दुर्घटनाको जोखिम छ । सडक साँघुरो हुँदा सवारीसाधनहरु कुनैकुनै बेला भीरमा ठोक्किनेल गरेको चालकहरू बताउँछन् ।

पुरिएनन् खाल्डाखुल्डी

सरकारी उच्च निकायले पटकपटक निर्देशन गर्दासमेत लमही घोराही सडकखण्डको खाल्डाखुल्डी पुनः ढिलाइ भएको छ । घोराही–लमही सडक सुधारमा सुस्तता कायमै छ । यता, सडक डिभिजन कार्यालय दाङले परिणाममुखी काम गर्न नसकेको स्वीकार गर्दै आउँदो दुई महिनाभित्र खाल्डाखुल्डी पुर्ने तथा लमही–घोराहीसम्मको सडक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।

अहिले पनि ठूल्ठूला खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम कायमै छ । कतै भत्किएर ट्राफिक व्यवस्थापनमा समस्या देखिँदै आएको छ । मुख्य मोडहरुमा खाल्डाखुल्डीका कारण ट्राफिक व्यवस्थापनमा समस्या परिरहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

डिभिजन सडक कार्यालय दाङका इञ्जिनियर तथा सूचना अधिकारी अमिर सुवेदीले लमही–घोराही सडकलाई टू लेन गर्न विशेष बजेटसहितको आयोजना आवश्यक रहेको बताए । ‘लमही घोराही सडकखण्ड मर्मतको काम फोरलेनको भएता पनि फोरलेनले काम नगरेपछि हामीले सडक मर्मतको कामलाई अगाडि बढाएका छौँ । पहिलो चरणमा २० लाख बजेट विनियोजन गरी घोराहीको कुइरेपानीदेखि काम अगाडि बढाएका छौँ,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन १३ गते शुक्रबार