लुटपाटबाट जोगियो नेपालगन्जको राष्ट्रिय वाणिज्य बैंक



कोहलपुर ।

नेपालगन्जस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाटको प्रयास भएको छ । धम्बोझी चोक नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा शुक्रबार बिहान पाँच बजेतिर कैलालीस्थित टीकापुर नगरपालिका–९ घर बताउने २६ वर्षीय सञ्जु विकले लुटपाटको प्रयास गरेका हुन् ।

सञ्जुले बैंक रहेको घरको झ्याल फोड्ने क्रममा बैंकका सुरक्षा गार्डले देखेपछि लुटपाट हुनबाट जोगिएको थियो । बैंकको झ्याल फोड्न खोज्ने सञ्जुलाई वडा प्रहरी कार्यालय नेपालगन्जले नियन्त्रणमा लिइसकेको छ ।

सञ्जुले झ्याल तोडफोड गर्दै गर्दा बैंकका गार्डले देखेपछि नियन्त्रणमा लिने प्रयास गरेका थिए । केहीबेर गार्ड र सञ्जुबीच हात हालाहालसमेत भएको थियो । हात हालाहाल हुँदा सञ्जुले गार्डलाई झुक्याएर भागेका थिए । त्यसलगत्तै गार्डले बाँके प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले त्यही खसेको सञ्जुको मोबाइलको सहायताले उनलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–९ घर बताउने २६ वर्षीय सञ्जु विक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए ।

‘बैंकमा प्रवेश गरी विभिन्न महŒवपूर्ण कागजात तथा दराज तोडफोड गरेको आरोपमा युवक पक्राउ परेका हुन्,’ उनले भने, ‘बैंकमै छुटेको मोबाइलको आधारमा युवकलाई पक्राउ गरेका हौं ।’ खोजी खटिएको प्रहरी टोलीले विकलाई एक थान खुकुरीसहित पक्राउ गरेको थियो ।

‘पक्राउ गरेका युवक चोरीमा नै संग्लन हुनेजस्तो देखिन्छ,’ डिएसपी न्यौपानेले भने, ‘बैंकमा चोरी नै गरिनसकेकोले उनीमाथि अपराधिक उपद्रोको मुद्दा चलाइनेछ ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीका अनुसार पक्राउ परेका विकको साथबाट चोरीको लागि प्रयोग गरिने अन्य सामानहरु समेत भेटिएका छन् ।

‘नट बोल्टहरु खोल्न मिल्ने विभिन्न साँचोहरु समेत फेला परेका छन्,’ ती प्रहरी अधिकारीले भने, ‘जहाँ जे पाइयो त्यही नै चोर्न जस्तो देखिन्छ । बैंकमा पहिले नै थाहा भएकोले चोरी हुन पाएन ।’ पक्राउ परेका विकमाथि जिल्ला प्रहरी कार्यालय बाँकेले हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन ७ गते शनिबार