कृति र कृतिकार जन्माउने पूर्णिमा !



शुभाकर विश्वकर्मा, कोहलपुर
वि.स.१८७१–७२ मा नेपाल भारत युद्ध भयो । त्यसप्रश्चात सुगौली सन्धि गरियो । सन्धिपछि पश्चिम तराईका जिल्लाहरु भारतको अधिनस्थ हुँदै आए । पछि वि.स.१९१४ मा भारतको अवध प्रान्तमा लखनउकी वेगम हजरत महलको नेतृत्वमा अंग्रेजी साम्राज्यका विरुद्ध विहोद्र सुरु गरियो । अंग्रेजी साम्राज्य दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा स्वयंम खटिएका थिए ।उनी बडो बहादुरका साथ लडे । लखनउ विद्रोह सफल भयो । राणाको पराक्रमबाट तत्कालीन भारतका जनरल क्यानिङ्ग निकै प्रभावित भए । त्यति बेलाको कम्पनी सरकारले सुगौली सन्धिका आधारमा (वि.स.१८७२) मा नेपालबाट लिएका राप्तीदेखि महाकाली नदीसम्मका तराई प्रदेशका भागहरु वि.स.१९१७ मा फिर्ता दिएको थियो ।


फिर्ता हुने जिल्लामा बाँके सहित बर्दिया, कञ्चनपुर र कैलाली समेत थिए । पछि प्राप्त भएका कारण यी जिल्लालाई अहिले पनि ‘नयाँ मुलुक’ समेत भन्ने गरिन्छ । पछि उनै राणाले बसाएको सहर हो, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख सहरको रुपमा रहेको नेपालगन्ज ‘सदभावको सहर’ समेत हो । नेपालगन्ज व्यापारिक, औद्योागिक, धार्मिक मात्रै नभइ साहित्यिक सहरका रुपमा समेत परिचित छ । यहाँ नेपाली, हिन्दी र उर्दु साहित्यको माहोल राम्रो रहेको छ । नेपालगन्जमा साहित्यको इतिहास पृष्ठभूमि लगभग सय वर्ष पुरानो छ । नेपालगन्जमा सबैभन्दा पहिला उर्दु साहित्य जुर्मुराएको थियो ।
तीसको दशकमा नेपालगन्जमा उर्दु साहित्यका थुप्रै गतिविधि हुन्छ । वि.स.२०५७÷२०५८ सालपछि भेरी साहित्य समाजको स्थापनापछि नेपाल साहित्य पनि बामे सर्न थाल्यो । नेपाली साहित्यमा नेपालगन्जको अहिले पनि विशिष्ट स्थान छ । नेपालगन्जमा अहिले पनि थुप्रै साहित्यिक संघ संस्था क्रियाशिल छन् ।
यस क्षेत्रमा नेपाली साहित्य आकाशमा अमूल्य योगदान दिएको छ । नेपालगन्जले थुप्रै मुर्धन्य साहित्यकार समेत जन्माएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भइसकेका सनत रेग्मी नेपालगन्जकै हुन् । अहिले पनि प्राज्ञका रुपमा हरि तिमिल्सिना रहेका छन् । नेपाली साहित्यको आख्यानका वरिष्ठ साहित्यकार नयनराज पाण्डेको पनि कर्मथलो हो, नेपालगन्ज छ ।
नेपालगन्जदेखि १६ किलोमिटर उत्तरमा रहेको कोहलपुर समेत साहित्यको उर्बर भूमि हो । अहिले राजधानी बाहिर हुने साहित्यिक गतिविधिमा कोहलपुरको समेत अग्रस्थानमा नाम आउने गर्दछ । कोहलपुरलाई साहित्यिक सहरका रुपमा परिचित गर्न यहाँका लेखक, साहित्कार तथा साहित्यिक संस्थाको भूमिका महत्वपूर्ण रहेको छ । कोहलपुर भन्न बित्तिकै सबैभन्दा अघि आउने नाम हो, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान । यसले कोहलपुरको मात्रै होइन,लुम्बिनी प्रदेशलाई प्रतिनिधित्व गर्दै आएको साहित्यिक आन्दोलनमा ।
कोहलपुरले नेपाली साहित्य आकाशमा एक मौन साहित्यिक आन्दोलनको नेतृत्व गरिरहेको छ । प्रतिष्ठानको माध्यमबाट संस्थागत रुपमा भइरहेको साहित्यिक जुर्मुरावटले साहित्य क्षेत्रमा विशिष्ट स्थान ओगट्दैछ । उसो त कोहलपुरमा साहित्यको जरा पलाएको त्यतिधेरै समय भइसकेको छैन । कोहलपुरमा वि.स. २०५८ पछि साहित्यको माहोल सुरु भएको हो । त्यतिबेला पूर्णिमा साहित्य समूह थियो । यसले साहित्यिक पत्रिका निकाल्थ्यो ।
वि.स. २०६८ मा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान स्थापना भयो । प्रतिष्ठान विभिन्न चार साहित्यिक समूह पूर्णिमा साहित्य समूह, तुल्सिराम स्मृति प्रतिष्ठान, गजल साँझ र नवयूवा साहित्य समाज मिलेर बनेको हो । पूर्णिमा भन्न बित्तिकै अग्रस्थानमा आउने नाम हो, महानन्द ढकाल । पेसाले शिक्षक रहेका ढकाल हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् । उनले तीन कार्यकाल पूर्णिमाको नेतृत्व गरे । उनका अनुसार पूर्णिमाले निकालेको पहिलो कृति ‘उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु’ संयुक्त गजल संग्रह हो । यसका लेखक महानन्द ढकाल, खगेन्द्र गिरी (कोपिला) र प्रकाश गिरी (निश्चल) हुन् ।
पूर्णिमाले अहिलेसम्म तीन दर्जन बढी कृति प्रकाशित गरिसकेको छ । ती मध्ये केही चर्चित कृति कपिल अन्जानको ‘तस्वीर’ गजल संग्रह, सुमित्रा न्यौपानेको ‘आँखा र आँखाहरु’ कथा संग्रह, सागर ढकालको ‘लकडाउन’, महानन्द ढकालको ‘सीमाना’ मुत्तक संग्रह र बद्रि ढकालको हाइकु संग्रह ‘ठ्यौको’ हुन् । यस्तै साहित्यिक पत्रिका पूर्णिमाको ४९ औं अंक प्रकाशित भइसकेको छ । यस्तै केही विषेशांक समेत प्रकाशित छन् । ३ सय को हाराहारीमा आजिवन सदस्य रहेको पूर्णिमाले नेपाली साहित्य, कला र भाषाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ ।
ढकाल सहित अपील अन्जान, सुमित्रा न्यौपाने, हुकुम धड्कन, हेमप्रकाश मञ्जिल, प्रदिप भट्राई, सागर गैरे देखि पछिल्लो पुस्ताका कला तर्फ आयुस्मा ढकाल र आख्यान तर्फ निरन्जना, छविलाल खड्का सम्मका स्रष्टालाई पूर्णिमानै जन्माएको हो । यसका चार वटा विभाग रहेका छन् । आख्यान, कला, रचना वाचन र समालोचना विभाग मार्फत विभिन्न साहित्यिक गतिविधि हुन्छन् । वर्षमा चार वटा महत्वपूर्ण र अन्य गरी कुल एक दर्जन भन्दा बढी साहित्यिक गतिविधि हुने गरेको अध्यक्ष अपील अन्जान बताउँछन् । उनका अनुसार कोभिड–१९ को समयमा समेत पूर्णिमाको साहित्यिक गतिविधि रोकिएन । त्यतिबेला पनि केही कृति प्रकाशित भए ।
कोभिड–१९ को कहर सामान्य भएपछि पनि पछिल्ला तीन चार महिलामा चार वटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भइसकेका छन् । त्यसकै निरन्तरता स्वरुप शुक्रबार नेपाली साहित्यका एक मर्धन्य स्रष्टा नयनराज पाण्डेसँग आख्यान र अनुभूतिमा नयनराज पाण्डे सँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । यतिमात्रै होइन पूर्णिमाले अहिले दुई वटा संस्थागत पुरस्कार समेत वितरण गर्दै आएको छ । वि.स. २०६२ देखि निरन्तर वितरण गरिदै आएको सालदेखि तुल्सिराम स्मृति पुरस्कार अहिलेसम्म १३ जनाले प्राप्त गरिसकेका छन् । साढे एक लाखको अक्षयकोष रहेको उक्त पुरस्कारको राशि ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । भने पूर्णिमा साहित्य रत्न पनि वि.स.२०६१ सालदेखि नै वितरण गरिदै आएको छ । यस पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यसैगरी यस वर्ष कोहलपुर मै बसेर निरन्तर साहित्य कर्म गरिरहेका लेखक तथा साहित्यकारले विभिन्न पुरस्कार प्राप्त गरे ।
पूर्णिमाका निवर्तमान अध्यक्ष महानन्द ढकालले नेत्राशोभा स्मृति पुरस्कार पाए । अटनुर डुगनको नाममा स्थापित अन्र्तराष्टिय पुरस्कार कोहलपुर मै साहित्यमा सक्रिय बिश्रम शिविर र सुमित्रा न्यौपाने लगायतले पुरस्कार प्राप्त गरेका हुन् । साहित्यका माध्यमबाट कोहलपुरलाई चिनाउनेहरुलाई कोहलपुर नगरपालिकाको समेत साथ छ । कोहलपुर–२ प्रेमनगरमा नगरपालिकाको जग्गा सहयोगमा आफ्नै पक्की भवन बन्दैछ । अहिले यसको सुविधासम्पन्न संरचना निर्माण भइरहेको छ ।

 

प्रकाशित मिति : २०७८ मंसिर ११ गते शनिबार