कर्णालीमा मन्त्रालय बाँडफाँड नमिल्दा, मन्त्रिपरिषद् विस्तारमा अन्यौल



सुर्खेत ।

मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाई भएको छ । कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाहीले सरकार गठनको एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

उनले सपथ ग्रहण गरेको एक साता भन्दा बढी समय भइसक्दा समेत मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको हो । निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि यही १५ कात्तिकमा मुख्यमन्त्रीको सपथ खाएका शाहीको मन्त्रिपरिषदमा एकजना पनि सदस्य पनि छैनन् ।

प्रमुख प्रतिपक्ष दलको नेता भएको बेला नीति, विधि र सरकारका काम कारबाहीको चर्को आलोचना गर्ने मुख्यमन्त्री शाहीले अहिले आफू मुख्यमन्त्री भएको एकहप्ता बितिसक्दा पनि मन्त्रिमण्डल विस्तारका विषयमा कुनै छलफल नै गर्न सकेका छैनन् ।

सत्ता साझेदार दल नेकपा (समाजवादी एकीकृत) का संसदिय दलका नेता चन्द्र बहादुर शाहीले मन्त्रालय बाँडफाँड तथा बन्ने मन्त्रीको बारेमा कुनै काम अघि नबढेको बताए । निवर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाही अस्वस्थ भएका कारण मन्त्रिपरिषद् विस्तारका बारेमा कुनै पनि छलफल शुरु हुन नसकेको उनले जानकारी दिए ।

‘निवर्तमान मुख्मन्त्री ज्यू बिरामी हुनुहुन्छ, उहाँ बिरामी भएका कारण सरकार विस्तारका बारेमा छलफल शुरु नै हुन सकिरहेको छैन’, उनले भने, ‘उहाँ सन्चो भए पछि छलफल हुन्छ, अझै ३–४ दिन लाग्न सक्छ ।’ शाहीले कुन पार्टीले कति र कुन कुन मन्त्रालय पाउने भन्ने बारेमा कुनै कुरा नटुङिगएको बताए । ‘कुन पार्टीको जिम्मामा कुन मन्त्रालय पर्ने र कसले कति मन्त्रालय पाउने भन्ने बारे कुने निष्कर्ष नै निस्किएको छैन् । अझै छलफल नै हुन सकेको छैन्,’ उनले भने ।

प्रमुख सत्ता साझेदार तथा माओवादी केन्द्रबाट मन्त्रिपरिषद्को नेतृत्व गर्ने भनिएका सांसद बिन्दमान बिष्टले आफूलाई सरकार विस्तारका बारेमा कुनै कुरा थाहा नभएको बताए । ‘सरकार विस्तार बारेमा मलाई कुनै कुरा थाहा छैन्, मलाई कसैले सोधेको पछि छैन, केन्द्रका पार्टीका नेताहरूलाई थाहा होला,’ उनले भने ।

यसैगरी नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले भने अबको ३–४ दिन पछि सरकारले पूर्णता पाउने बताए । ‘भित्री रुपमा छलफल चलिरहेको छ, ३–४ दिन पछि सरकार विस्तार होला,’ उनले भने ।

यसअघि तिहार लगत्तै कर्णालीमा मन्त्रिपरिषद् विस्तार गरिने बताइएको थियो । अहिले आएर दलहरुले अन्य कारण देखाएपनि मन्त्रालयको बारेमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताइन्छ । मन्त्रीको लागि दलहरुमा धेरै सांसदहरु आकांक्षी भएपछि मन्त्री छान्न समेत सकस भइरहेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २४ गते बुधबार