16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

ठूलो ब्यूरेनी सवारी दुर्घटनाः रित्तियो आमाको काख

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८  

दुर्घटनामा ज्यान गुमाएका रानी र रवीन

सुर्खेत ।

श्रीमान साथमा नभएपछि भेरीगंगा नगरपालिका– १२ की दुर्गादेवी राना दुई सन्तानलाई हुर्काएर बसेकी थिइन् । कमजोर आर्थिक स्थिती भएकी उनले एक छोरा र एक छोरीलाई दुःख गरेर पढाइन । छोरा र छोरीसहित दुर्गादेवी आफन्त (नन्द) को घरमा बस्दै आएकी थिइन् ।

दुःख गरेर पढाएका छोराछोरी जागिरे भएपछि उनले केही भएपनि सुखको सास फेर्न थालेकी थिइन् । छोरा रवीन चार वर्षअघि नेपाली सेनामा भर्ती भएका थिए । ३२ वर्षीय छोरी रानी १५ वर्षदेखि गाउँकै छिन्चु बोर्डिङ स्कुलमा पढाउन थालेकी थिइन् ।

दुःखी जीवन बदलिँदै थियो । छोरा र छोरी बुढेसकालको सहारा बनिसकेका थिए । तर, यो वर्षको तिहार उनको जीवनमा दशा बनेर आयो । गत १८ गते दिउँसो वीरेन्द्रनगर–११ मा पर्ने ठूलो ब्यूरेनीमा ट्रकको ठक्करबाट दिदिभाईको मृत्यु भयो ।

पुग्नासाथ रवीन र उनकी दिदी सवार स्कुटरलाई एउटा मालवाहक ट्रकले ठक्कर दियो । तिहारको किनमेलका लागि वीरेन्द्रनगर जाँदै गर्दा रवीनले चलाएको कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटरलाई कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट स्कुटर चालक रवीनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पछाडी बसेकी दिदि रानी गम्भीर घाइते भएको र उपचारकै क्रममा आइतबार राती मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा दुवै दिदीभाइको ज्यान मात्र गएन्, एउटी आमाको काख रित्तिएको छ भने बुढेसकालको सहारा खोसिएको छ ।

दुर्घटना भएदेखि दुर्गादेवीका आँखा ओभाना छैनन् । घटना भएदेखि नै अचेत अवस्थामा छिन् । घरमा चुल्होसमेत बोलेको छैन् । ‘घरमा रुवाबासी छ । घटना भएदेखि आमाले राम्रोसँग खानासमेत खानु भएको छैन् ।

उहाँ बोल्न सक्ने अवस्थामा पनि हुनुहुन्न ।’ स्थानीय कुमार पुन भने । स्थानीयका अनुसार रवीन तिहारको बिदा लिएर लक्ष्मीपूजाको बिहान मात्र घर आइपुगेका थिए । ‘घरको आर्थिक अवस्था कमजोर थियो । बुबा पनि हुनुहुन्थेन् । उनीहरू आफन्तकोमा बसेका थिए । रानीले मेरो स्कुलमा पढाउँथिन् ।

सबै राम्रै हुँदै गएको थियो । एक्कासी यो घटनाले हामी सबैलाई दुःखी बनाएको छ ।’ स्थानीय पुनले भने । रवीनले गएको दशैँमा भागी विवाह गरेका थिए । उनले पुसाइको निधन भएकाले घर लिन पाएका थिएनन् । पुसाइ बितेको एक वर्षपछि मात्रै श्रीमती घर भित्र्याउने तयारी उनको थियो । छिन्चु बजारमै कोठा लिएर राखेका थिए । वर्ष दिन पुगेपछि घर भित्र्याउने तयारी गरेका थिए ।

रवीनको मृत्यु भएपछि उनी पनि अचेत अवस्थामा छिन् । आफन्त सावित्री सिंहका अनुसार रवीन सेनामा भर्ती भएपछि पहिलोपटक चार वर्षपछि दिदिको हातबाट टिका लगाउन आएका थिए । ‘तिहारमा दिदीको हातबाट चार वर्षपछि टीका लगाउन आएको थियो, त्यही बेला दिदीलाई सपिङ पनि गराइदिन्छु भनेर वीरेन्द्रनगर लिएर गएको थियो’ उनले भनिन्, ‘बाटोमा यस्तो घटना भयो ।

बुढेसकालमा एउटी आमाको काख रित्तियो, बुढेसकालको सहारा गुमे ।’ आफन्त तथा स्थानीयबासीले ठक्कर दिने चालकलाई नियन्त्रणमा लिनुपर्ने मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने माग राख्दै छिन्चुमा सोमबार दिनभर प्रदर्शन गरेका थिए ।

प्रकाशित मितिः बुधबार, कार्तिक २४, २०७८     10:05:07 AM  |