23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

जसले सहजै गरे सत्ता हस्तास्तरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८  

ओम शाही । कोहलपुर ।

कर्णालीको राजनीतिक वृतले नयाँ मोड लिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै कर्णालीको राजनीतिले नयाँ मोड लिएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युुनिष्ट पार्टी नेकपा विभाजित भयो । नेकपा विभाजनपछि सत्ता साझेदार नेकपा एमालेले शाहीलाई दिएको समर्थन फिर्ता लिए पश्चात मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा प¥यो । शाहीले आफ्नो सरकार जोगाउनका लागि ठूलै राजनीतिक खेल खेले ।

चार पटकसम्म संसद्मा अविश्वासको प्रस्ताव फेस गरेका शाहीले पछिल्लो समय आफ्नो सरकार जोगाउन कांग्रेससँग सत्ता साझेदारमा आलोपालो गर्ने गरी ११ बुँदे भद्र सहमति गरे । जस अन्तर्गत सहमति भएको दिनदेखि ६ महिनासम्म शाही मुख्यमन्त्रीमा बहाल रहने र त्यस पश्चात नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिनुपर्ने थियो ।

सोही सहमति अनुरुप नेपाली कांग्रेसको र तत्कालीन एमालेका ४ जना प्रदेश सांसदले फ्लोरक्रस गरेर शाही सरकारलाई समर्थन गरेपछि शाहीको सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नेगरी महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको बताइन्छ ।

६ महिनापछि कांग्रेस नेता जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गर्ने गरी गरिएको सहमति अनुरुप पछिल्लो समय भने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहजरुपमा सत्ता छाड्ने लक्षण देखाएका थिएनन् ।

११ बुँदे सहमति गरेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूले गरेको सहमति कार्यान्वयन नभएको भन्दै सामाजिक संजाल मार्फत विरोध गर्दै आइरहेका थिए । तर सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि कांग्रेस नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।

आलोपालो सरकारको नेतृत्व गर्न सत्ता साझेदार दल नेपाली कांग्रेससँग भएको सहमतिअनुसार शाहीले पदबाट राजीनामा दिएका बताएका छन् । कर्णालीको सत्ता सञ्चालनमा ‘शाही भर्सेस शाही’ को ठूलै रस्साकस्सी पश्चात अन्नत मुख्यमन्त्रीमा जीवन बहादुर शाहीले पाइला टेक्ने मौका पाएका हुन् । महेन्द्र शाहीले जम्मा ३ वर्ष ८ महिना १२ दिन शासन गरे ।

सम्भवतः नेपालमै लामो समय नेतृत्व गर्ने मुख्यमन्त्री उनै हुन् । यस अवधिमा शाहीले निकै कठिन तर साहसी यात्रा गरे । षड्यन्त्रकारी सहयात्रीविरुद्ध प्रतिद्वन्दी खेलाडीका रुपमा चिनिए । उनलाई सत्ताबाट अलग बनाउँन रचिएका अनेकौ खेल विफल बनाए । यहाँसम्म की सरकार जोगाउन तत्कालीन नेकपा एमालेका चार जना सांसदलाई फ्लोर क्रस गर्न लगाएर आफ्नो पक्षमा पार्न सफल भए ।

चार–चार पटक संसद्मा अविश्वासको प्रस्ताव आउँदा पनि प्रदेश सरकारमा आफ्नो साग जोगाउन सफल भएका शाहीले आफूलाई फालेर मुख्यमन्त्री बन्ने दाउमा रहेका नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले खेलेका हरेक चाललाई विफल बनाइ दिएका थिए ।

आफ्ना प्रतिद्वन्दी कँडेलकै पार्टीका सांसदलाई लिएर पुनः सत्तामा इन्ट्री मार्न सफल भएका शाहीले एकल बहुमत भएको नेकपा एमालेलाई प्रतिपक्षीको भूमिकामा सीमित पारिदिए ।

उनकै कार्यकालमा कर्णाली प्रदेशबाट बनेको गठबन्धनले राष्ट्रियस्तरमा समेत पाँच दलीय गठबन्धनका लागि बाटो बनाएको धेरैको बुझाइ छ ।

केन्द्रमा अहिले माओवादी, कांग्रेस, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा लगायतका दलबीचको गठबन्धन सरकार बनेको छ ।
२०७३ फागुन ३ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शाहीको कार्यकालमा खासै परिवर्तन नभएपनि केही सम्झन लायक परिवर्तन भने भएका छन् ।

जसमध्ये भौगोलिक कठिनाई, पूर्वाधारका हिसाबले पछाडि परेको यस प्रदेशमा शाही नेतृत्वको सरकारले रणनैतिक सडक, प्रदेश महत्त्वका सडक, प्रदेश राजधानी जोड्ने सडक, पूर्वाधार विशेष सडक, जनता सडक, पालिका केन्द्र जोड्ने सडक, कृषि सडक र पर्यटन सडक कार्यक्रम अन्तर्गत प्रदेशभरी चार हजार १६५ किलोमिटर नयाँ सडक निर्माण गरेको छ ।

यस्तै २८० किलोमिटर सडकमा ग्राभेल र २९ किलोमिटर सडकमा कालोपत्रे, प्रदेशभरि १२ वटा पक्की पुल र २३ वटा झोलुङ्गे पुल शाहीको शासन कालमा निर्माण गरिएका छन् ।

कर्णाली करिडोर, भेरी करिडोर, कोहलपुर‑सुर्खेत सडक र राष्ट्रिय प्रसारण लाइन तथा रणनैतिक महत्त्वका रुपान्तरणकारी आयोजना उनको कार्यकालमा अगाडि बढेका छन् । आन्तरिक आम्दानीमा वृद्धिमा भने कर्णालीमा खासै प्रगति देखिएको छैन । उनको कार्यकालमा प्रदेश सरकारले एक अर्ब १८ करोड ४४ लाख ३८ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको छ ।

यस्तै मुख्यमन्त्री रोजगार कार्यक्रम जस्ता महत्वपूर्ण कार्यक्रमबाट रोजगारीका अवसर सिर्जना गर्ने काम भए पनि पर्यटन क्षेत्रमा भने उल्लेखनिय प्रगति भएको देखिदैन तर पनि कर्णालीलाई पर्यटकको गन्तव्य बनाउने उद्देश्यका साथ पर्यटन गुरुयोजना भने प्रदेश सरकारले तयार गरेको छ ।

प्रकाशित मितिः बुधबार, कार्तिक १७, २०७८     10:22:12 AM  |