नेकपा एमालेमा विद्रोह गरी फ्लोर क्रस गरेका कर्णाली सरकारका तीन जना मन्त्रीको पद सोमबारदेखि सकिँदैछ । एमालेको कारबाहीपछि ६ महिनाका लागि मन्त्री बनेका गैर सांसद तीन जनाको पदावधि आइतबारसम्म अन्तिम हो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि आज समाप्त हुँदैछ । उनीहरु तीनै जना अहिले नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।
मन्त्री थापा नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । आज स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे औपचारिक धारणा बाहिर आइसकेको छैन । यसबारे छलफलका लागि आइतबार नेकपा एसको बैठक बसेको थियो । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका ३ जनामात्र सांसद छन् ।
सम्भवतः उनीहरूलाई नै मन्त्री बनाउने चर्चा पनि छ । आइतबार यसबारे छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकमा तीन जना प्रदेशसभा सदस्यलाई नै सरकारमा पठाउनेबारे चर्चासमेत चलेको बताइन्छ । नेकपा एसले पनि कुनै हालतमा सरकारबाट आफ्नो प्रतिनिधित्व नछाड्ने तयारी गरेको छ ।
यसैबीच आइतबारको बैठकमा संसदमा रहेका तीन सांसदलाई नै सरकारमा पठाउने बारे छलफल भएको थियो । तर, अहिले कर्णालीको सत्ता समीकरणमा तिव्र विवाद चुलिएको छ । साथै कांग्रेसलाई सत्ता हस्तान्त्रण गर्ने विषयमा माओवादीले नमान्दा पनि अप्ठ्यारो परिरहेको छ । कांग्रेसलाई सत्ता हस्तान्त्रण गर्ने मिति पनि सोमबार अन्तिम नै हो ।
सोमबार राजनीतिले कस्तो मोड लिन्छ त्यो हेर्न बाँकी नै छ । गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि थापा, शाही र बुढालाई सरकारमा सामेल गरिएको थियो । उनीहरुलाई एमालेले कारवाही गरिसकेका कारण प्रदेशसभा सदस्य पद गुमाएका हुन् ।










प्रतिक्रिया दिनुहोस्